गजलकार खिमु के.सी.का चार गजल
गजल–एक
रातीमा घाम खोजेर कहाँ पाउँछौ ?
सुतेर दाम खोजेर कहाँ पाउँछौ ?
खेतीपाती सबै बाँझै राखेर बसेपछि
घरमा माम खोजेर कहाँ पाउँछौ ?
मनमा सधै रावण पालेर बस्ने
दुःखमा राम खोजेर कहाँ पाउँछौ ?
भोकासँग पनि कमिसन लिन्छौ मालिक
तिमीले सलाम खोजेर कहाँ पाउँछौ ?
गजल–दुई
यहाँ दुनियाँको प्यार जित्न गाह्रो भो
मन मिल्ने विचार जित्न गाह्रो भो
अलिअलि थाहा थियो सजिलो छैन
मलाई मायामा संसार जित्न गाह्रो भो
तिमी सधै खोला पारी बसेपछि मलाई
त्यहि खोलाको किनार जित्न गाह्रो भो
रोपेको त थिए धेरै फूल बगैंचामा
सिंचित गर्ने जाँगर जित्न गाह्रो भो
गजल–तीन
मेरो पनि तिम्रो जस्तै कथा छ
पीडा अनि संघर्षको ब्यथा छ
विदेशी सोध्छ तिम्रो देशमा के छ ?
भन्नलाई बाँकी एउटा सगरमाथा छ
चोखो मायाको पनि के कुरा गर्नु
जहाँ मान्छे मार्ने व्यवस्था छ
हिजोसँगै हुर्केको साथीले चिनेन्
जसको अहिले ठूलो जायजेथा छ
अब गुनासो पनि छैन कसैसँग
सबैको आ–आफ्नै जीवनगाथा छ
गजल–चार
म माया गर्ने मान्छे कसरी रिसाउन सक्छु ?
बरु तिमीसँग एउटा बिन्ती बिसाउन सक्छु
न च्यात मायाका पानाहरु जतन गरेर राख
उध्रियो भने फेरि म कसरी सिलाउन सक्छु
मैले तिमीभन्दा अर्को धरातल देखेको छैन
नसम्झ पराई तिम्रो दुःखमा, दुःख मिसाउन सक्छु
तिम्रै मुटुको धड्कन भएर धड्किन्छु अहिले म
त्यो फूलझैं कोमल मुटुमा कसरी बिझाउन सक्छु

दाङ
हाल–क्यालिफोर्निया, अमेरिका