सुरेश कुमार पाण्डेका पाँच मुक्तक

मुक्तक–एक

निधार खुम्चाएर हेर एक पटक हाल सन्तानको
अकालमा किन मर्ने बनाएका चाल सन्तानको
छैन कोही अभिभावक सन्तानको हुन्न सोधपुछ
देश बिदेशभरिमा हुन्छ ठुलो बबाल सन्तानको

मुक्तक–दुई

खाडिमा भेडा अनि ऊँट चराएर बच्चा पाल्छन्
बाध्यताले कष्टलाई मन पराएर बच्चा पाल्छन्
देशभक्तहरुले पाएन आफ्नो गुजारा गर्न देशमा
बिदेशको भुमिलाई पनि सराएर बच्चा पाल्छन्

मुक्तक–तीन

छोरो ढल्यो बिदेशमा कमाईको लागि गएको
बा सकिन फर्किन त्यो ठमाईको लागि गएको
बाल बच्चाको बिचिल्लि छ देशमा फर्केर हेरौँ
सरकार सदनमा उनैको रमाईको लागि गएको

मुक्तक–चार

जनताले देशको गरीमालाई भुलेपछि के होला
बिदेशी हिमाल, पहाड, तराई चुलेपछि के होला
कसरी जोगिन्छ देशको अखण्डता र एकता हेर
युवा काम खोज्न संसारभरी डुलेपछि के होला

मुक्तक–पाँच

बाबा मरेर गए आर्थिक अभावमा रहेर सधैभरि
आमा दिन गन्दैछिन् दासी जस्तै भएर सधैभरि
बस्नु छैन छोरा छोरीलाई यो आँगनी बिरानो भयो
पुस्तौंदेखि रोएका छन् सबै लाहुर गएर सधैभरि

सुरेशकुमार पाण्डे
घोराही उप–महानगरपालिका–१८, दाङ
हाल–भारतको एन.सि.आर. मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *