अज्ञात रोगले बोट सुक्न थालेपछि किसानहरु मर्कामा
कोहलपुर, असोज १२,
सिन्धुपाल्चोकमा किसानहरुले लगाएको कफीमा अज्ञात रोगले बोट सुक्न थालेपछि यस वर्ष ४० प्रतिशत मात्र उत्पादन भई ठूलो आर्थिक क्षति बेहोर्नु पर्दा किसानहरु मर्कामा परेका छन् ।
गतवर्ष एक करोड ३२ लाख मूल्यबराबरको ३० मेट्रिक टन उत्पादन भएकोमा अज्ञात रोगले यसवर्ष १३ मेट्रिक टन मात्र उत्पादन भई झण्डै एक करोड रुपैयाँ हाराहारीको नोक्सान भएपछि किसानहरु मर्कामा परेका हुन् । उत्पादित १३ मेट्रिकटन कफीलाई ए ग्रेडको पार्चमेण्ट ग्रिनवीन कफी तयार गर्दा आठ मेट्रिक टन मात्र बाँकी रहेको छ ।
यसवर्ष ५० लाख मूल्य बराबरको नौ अमेरिकी डलरको भाउमा पाँच मेट्रिक टनमात्र जापान, कोरिया र अष्ट्रेलियामा निर्यात भएको थियो । गतवर्ष उत्पादित ३० मेट्रिकटन कफी मध्ये १० दशमलव ३ मेट्रिक टन विदेश निर्यात भई बाँकी कफी स्वदेशमै खपत भएको थियो ।