‘स्थानीय पाठ्यक्रम अहिलेको आवश्यकता हो’–शिक्षा शाखा प्रमुख पौड्याल

बिधुत्मा रैका,
केहलपुर, असोज ११,

विषयवस्तु, उद्देश्य, क्रियाकलाप तथा मुल्याङ्कन स्थानीय पाठ्यक्रमका सामान्य तत्वहरु हुन् । केन्द्रबाट तयार पारिने पाठ्यक्रमले स्थानीय विषय वस्तुलाई समेट्न नसक्ने भएको हुँदा सरकारले स्थानीय पाठ्यक्रमको अवधारण ल्याएको हो । स्थानीय पाठ्यक्रमले संस्कृती, जनजीवन, भुगोल लगायतका पक्षलाई समेटेको हुन्छ ।

स्थानीय आवश्यकताका विषयवस्तु र स्थानीय नागरिकको अपनत्व हुने गरी सरोकारवालाले स्थानीय ज्ञान, सिप र प्रविधिलाई समेटी स्थानीय पाठ्यक्रमको निर्माण गर्नु अहिलेको आवश्यकता हो । बालबालिकालाई आफ्नो ठाउँको बारेमा जानकारी गराउन जरुरी हुन्छ ।

बाँकेको कोहलपुर नगरपालिकामा रहेका विद्यालयहरुमा यस अवधारणाको प्रयोग हुन बाँकी नै देखिन्छ । केन्द्रीय पाठ्यक्रमले स्थानीय विषयवस्तु समेट्न सक्छ भन्ने छैन । स्थानीय पाठ्यक्रमले स्थानीय ज्ञानको प्रस्फुटन गर्नुका साथै नवीनतम ज्ञान र सिपको मार्ग दर्शन पहिल्याउन सहयोग गर्ने कोहलपुर नगरपालिका अन्तरगतको नगर शिक्षा शाखा प्रमुख अनन्त कुमार पौड्यालले बताएका छन् । स्थानीय पाठ्यक्रमले स्थानीयस्तरमा रहेका मूल्य, मान्यता, कला संस्कृतिको संरक्षण र सम्वर्धन गर्दै आगामी पुस्तामा हस्तान्तरण गर्न सहयोग गर्ने शाखा प्रमुख पौड्यालले बताए । स्थानीय पाठ्यक्रमलाई शैक्षिक विकेन्द्रीकरणको महत्वपूर्ण खुड्किलाका रुपमा पनि लिन सकिने उनको भनाई छ ।

पाठ्यक्रम तयार पार्दा Think Globllay, act locllay को अवधारणालाई आत्मसात गर्नु पर्ने खाँचो रहेको उनले बताएका छन् । पौड्यालका अनुसार प्राथमिक तहमा मातृभाषाको पठनपाठन गराउन नसकिने विद्यालयहरुमा स्थानीय तहका लागि उपयोगी पेसा, व्यवसाय, सिप र प्राविधिक विषयहरु जस्तो माटोको काम, धातु, काठ, ऊन, राडीपाखी, चोयाको काम, कागजको काम, करेसाबारी, फलफूल, तरकारी खेती आदि स्थानीय विषय छनौट गरी पठनपाठन गराउन सकिन्छ । सामाजिक अध्ययन, सिर्जनात्मक तथा शारीरिक व्रिmयाकलाप विषयको २० प्रतिशत पाठ्यभारको पाठ्यक्रम र पाठ्यसामग्री विद्यालय आफैंले निर्माण गर्न सक्ने छन् । पौड्याल भन्छन्,–‘स्थानीय ज्ञान, सीप र धारणा नयाँ पुस्तामा हस्तान्तरण गर्नका लागि यस्तो पाठ्यक्रम लागू गरिन्छ ।’

ज्ञान, सिप व्यवहार तथा सामाजिक मूल्य र मान्यता आफ्ना सन्ततिमा हस्तान्तरण गर्नु, बालबालिकाको सर्वाङ्गिण विकासका लागि पाठयक्रमले निर्देशन दिनु, सामाजिक आवश्यकता, व्यक्तिगत आवश्यकता, राष्ट्रियता र अन्तराष्ट्रिय आवश्यकतालाई ध्यान दिनु, जीवनको मार्ग निर्देशन गर्नु स्थानीय पाठ्यक्रमको मुख्य उद्देश्य हो । स्थानीय पाठ्यक्रममा सिकाइ सहजीकरण प्रक्रिया अन्तरगत शिक्षण विधि, शिक्षण सिकाइ क्रियाकलाप, सिकाइलाई बालमैत्री बनाउन छलफल, प्रश्नोत्तर, व्याख्यान, अवलोकन, प्रदर्शन, सोधखोज, प्रयोगात्मक, परियोजना कार्य, स्थलगत अध्ययन, समूह छलफल जस्ता विषयहरु समावेश गर्न सकिने पौड्यालले बताए ।

विद्यार्थी मूल्यांकन, समय निर्धारण पनि स्थानीय पाठ्यक्रमका लागि आवश्यक तत्व हुन् । यस पाठ्यक्रममा स्थानीय परिवेश अनुसार सञ्चालन भएका चाडपर्व, धर्म संस्कृति, जातजाति, रीतिरिवाज, कलाकौशल, स्थानीय उद्योग, प्राकृतिक स्रोत साधन, कृषि, पर्यटन, पुरातात्विक तथा धार्मिक स्थान, जडिबुटी, अध्यात्मिक शिक्षा, आयआर्जनका क्षेत्रहरुको अधिकतम उपयोग गर्न सकिने उनको भनाई छ । हाल स्थानीय तहमा विकास हुने स्थानीय पाठ्यक्रमले बालबालिकाको मनोभावना समेट्न सकेको छैन । स्थानीय तहमा यसका लागि विकास र कार्यान्वयन गरी उपयोग गर्न सक्ने सक्षम जनशक्तिको अभाव देखिएको छ ।

यस पाठ्यक्रमले बालबालिकाहरुलाई स्थानीयस्तरमा भएको स्रोत र सामग्रीहरुको पहिचान गरी न्युनतम लागतमा अधिकतम उपलब्धि हासिल गर्न दक्ष बनाउन मद्दत पुग्छ । बालबालिकाहरुले आफू बसोबास गरेको वातावरण, सामाजिक, आर्थिक, सांस्कृतिक ज्ञान सहज तवरले लिन सक्छन् । जसका कारण स्थानीय तहमा बालबालिका मार्फत स्थानीय स्तरमा रहेका कला संस्कृति, रहनसहन पर्यटकिय स्थानको प्रचार प्रसारमा सहयोग हुने पौड्यालले दावी गरे । उनले भने,–‘स्थानीय पाठ्यक्रम अहिलेको आवश्यकता हो । यहाँका बालबालिकाहरुलाई पुस्तकमा समेटिएका अन्य जिल्लाकोे बारेमा ज्ञान रहेको छ । तर आफ्नै ठाउँमा कहाँ के छ जानकारी नै छैन । स्थानीय पाठ्यक्रमले आफ्ना ठाउँको बारेमा जानकारी गराउँछ ।’

कोहलपुरका प्रत्येक विद्यालयले स्थानीय पाठ्यक्रम निर्माण गर्न सके यहाँ रहेका कला, संस्कृति, सिप र प्रविधिहरुलाई अन्यत्र फैलाउन सकिने सम्भावना रहेको छ । यसका साथै यहाँका विद्यार्थीमा सुक्ष्म विषयवस्तुहरुको खोज तथा अनुसन्धान गर्ने बानीको विकासमा टेवा पुग्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *