‘नङ र मासुको सम्बन्ध’-लघुकथा

लघुकथा-‘नङ र मासुको सम्बन्ध’

‘पायकको पाखो नछोड्नु, अपायकको गैह्री खेत नखानु । यो उखान मेरा बुवाबाट सुनेको याद आयो । मेरो जग्गासँग जोडिएको जग्गा बिक्रीमा थियो । केही दिनको छलफलपछि त्यो पाखो (चाहार) बारी तीस हजारमा किन्ने पक्कापक्की भयो । राजीनामा पास गर्न मालपोत कार्यालय गइयो । लेखापपढी व्यवसायीकोमा जाँदा परिचित एउटा नारी अनुहार देखें ।

‘सर नमस्कार !’ उनले भनिन् ।
‘नमस्कार ! तिमी यहीँ काम गर्छ्यौ ?’ आश्चर्यचकित पारामा म बोलें । किनकी उनलाई मैले मा.वि सिम्रुतुमा दस कक्षामा पढाएको थिएँ । मेरा डकुमेन्ट हेरेर सबै कागजात ठिक पारिदिइन । मलाई निकै सजिलो भयो । उनको पछि लागेर मालपोत कार्यालय जाँदै गर्दा कर्मचारीले पैसा माग्छन् नदिनुहोला सर भनेर मलाई पढाइन् । यो विषयमा म दीक्षित भएँ । कर्मचारीले घुस माग्छन् तर घुस दिने छैन । पहिलो काम मोठ भिडाउने रहेछ । मोठ शाखामा जाँदै गर्दा उनैले यहाँ केही दिनु पर्ने मनसायको अभिव्यक्ती दिइन् । मैले गएर कागजात देखाएँ ।

‘मोठ भिडेन सर’ खरिदार साप ।
‘के भयो ?’ मैले सोधें ।
‘जग्गाधनीको नाम मिलेन । लालपूर्जामा सुमर्दा घर्ती छ तर मोठमा सुमदा घर्ती छ ।’ खरिदार ।
‘मिलाई दिनु के सर । उहाँ सिम्रुतु स्कुलको सर हुनुहुन्छ । हामीलाई पढाउनु भएको ।’ मेरी शिष्यले मेरो पक्षमा सिफारिस गरिन् ।
‘एउटा रेफ लाउन छुटेको त हो नि । फेरि यो भन्दा अगाडि पनि उहाँको नाउँको जग्गा बिक्री भएको छ, कसरी भयो त ?’ मैले जिरह पेश गरें ।
‘ल ठीकै छ । तिम्रो सर हुनुहुँदो रहेछ । सरले चिया खुवाई हाल्नुहोला । मिलाई दिएँ ।’ मोठ ठीक छ भनि सही गरिदिए ।

हामी राजश्वमा गयौ र राजश्व तिरेर सबै डकुमेन्ट रजिष्ट्रेशन शाखामा दियौं । रजिष्ट्रेशन शाखामा सुब्बा सापले खर्चपानीको कुरा उठाए । मेरो साढु दाइ कांग्रेसको जिल्ला उपसभापति थिए । उनले मौका परे चिया खाउँला भनेपछि गाँठो फुक्यो । रजिष्ट्रेशन पास भयो । हिउँदे समय घामले डाँडा काट्दै थियो । अब अन्तिम काम दा.खा. रहयो । मोठ र दा.खा. एउटै कोठामा रहेछ । फेरि उनै खरिदारको शरणमा पुगें । निकै लामो लाइन थियो, झ्यालमा । मेरो कागजको रजिष्टर सबभन्दा माथि थियो । करिब १२÷१५ जनापछि मात्र मेरो पालो थियो । घडीको सुईले साँझको चार अंक पछ्याउँदै थियो । सबैलाई आजै आफ्नो काम सल्टाउनु थियो । सबैलाई हतार थियो । सबैले मेरो–मेरो भन्दै कराई रहेका थिए । खरिदार साप रिसाए । फाइल र रजिष्टर यताउता सार्दा सार्दै टेबुलबाट तल खसे । माथि उठाउँदा मेरो पालो १२÷१५ जना अगाडि परेछ । मेरो काम सकेर मलाई लालपूर्जा दिँदै याचित मुखाकृतिमा हेरे । म पनि विस्मित हुँदै मेरी शिष्य मार्फत एक सय घुस दिएँ । लालपूर्जा समाएर हिँडे । बल्ल थाह पाएँ मालपोत कार्यालयका कर्मचारी र लेखापढी व्यवसायीबिच नङ र मासुको सम्बन्ध हुँदो रहेछ ।

छविलाल खड्का
कोहलपुर नगरपालिका–६, बाँके

Leave a Reply

Your email address will not be published. Required fields are marked *