गण्डकी पुत्रका दुई कविता

कविता-साथी

उनैले सिकाईन
मलाई स्मार्ट हुन ।

बेखबर म यात्रामा थिए
हिडिरहेथें लगातार
उनले बोलाईन
र सर्टको बटम मिलाईन प्रेमले
अन्तर परिचय बताइन्
कपाल हेरिन्
र बिरुप भएको मलाई
छेउमा बसाएर स्नेहले
थपथपाइन हात
ती सबै कर्म गरिन्
र मलाई ब्यूँझाइन निन्द्रबाट !

मान्छे बन्ने सजिलो बाटो बताइन्
शिखर उक्लने चेतना भरिन
जीवनलाई जीवन जस्तो
रङ्गले सिङ्गारिन
र आत्मभित्र परिवर्तनको
संगीत कम्पोज गरिन्
मलाई पटक–पटक बोलाएर
घाम उदाउने बाटोमा
हिडाई रहिन !

अँध्यारो र उज्यालो
जीवन र मृत्यु
पे्रम र वियोग
के हो सिकाई रहिन !
शिक्षाको कसिलो चड्कनले
गालामा गुलाब
फुलाइ रहिन !

आज म
संसारको सबभन्दा शक्तिशालि बाटोमा
संसारको सबभन्दा सुन्दर यात्रामा छु
र सोचिरहेको छु
उनी मेरो
जीवनमा उपस्थित
पहिलो पाठशाला हुन कि
नभनिएको प्रेम गर्ने
अन्तिम नायिका !

कविता-आत्मलाप !

हजार कुराहरु छन्
हामीलाई
भुल्याएर राख्न सक्ने
यी ताराहरु छन्
बषौँपछि भेटिएको
माया गर्ने मान्छेलाई
हेरिरहेझैं गरेर हामीलाई हेरिरहेका !
फूलहरु छन्
केटाकेटीको याद दिलाई रहने !
यो हावा बडो निर्मम छ
जो बोकेर आउँछ
परदेशीको आत्मीय गन्ध !

समुन्द्र छ
चराहरु छन्
यो पहाड
र त्यो भन्दा पर हिमाल छ
हरेकले बोलाई रहेछ मान्छेलाई
तर त्यो भन्दा पर तिमी छौ !

कुनै हतारो बिना
जीवनसँगको
कुनै गुनासो बिना
बेपर्वाह आफ्नै लयमा
कविता लेखिरहेको कवि जस्तो
ऐनामा हेरेर आफ्नै प्रतिबिम्ब
टोलाई रहेको
तिमीलाई देखेपछि
मलाई अचेल कविता
किताबका पानाहरुमा होइन
मान्छेका तस्बिरहरुमा
पढ्ने आदत बसेको छ !

गण्डकी पुत्र
मोरङ
हाल–अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *