भोलिसम्म मौसम खराब, बाढी पहिरोको जोखिम बढेकाले सजग रहन अनुरोध
कोहलपुर, असोज ९,
शुक्रबार पनि देशभरी पानी पर्ने भएको छ । तर हिजो अस्ति जस्तो लगातार झरी भने पर्ने छैन ।
बिहान केही खुलेपनि दिउँसो र साँझपख पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै भोलिसम्म वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि साँझबाट भने सुधार आउने र आइतबारबाट मौसम सफा रहने छ । हाल भारतको मध्य प्रदेशको पूर्वी भूभागमा न्यून चापीय क्षेत्र रहेको र न्यून चापीय क्षेत्र उत्तर–पूर्व सरिरहेकाले मुलुकका अधिकांश स्थानहरूमा वर्षा भएको हो ।
शुक्रबार देशभरका अधिकांश ठाउँमा मौसम बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । भोलि प्रदेश १, प्रदेश २ मा सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १ र प्रदेश २ का एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।