राष्ट्रिय झण्डासहित इम्बोस्ड नम्बर प्लेट जारी, अञ्चलको सट्टामा प्रदेशको नाम

१४ पौष, २०७४
काठमाडौं : यातायात व्यवस्था विभागले अन्ततः देवनागरी लिपीबिना नै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जारी गर्ने प्रक्रिया अघि बढाएको छ । नम्बर प्लेटमा प्रदेशको नाम नम्बर भने खुलाउने भएको छ ।

विभागले गत भदौ ५ गतेबाट सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न शुरु गरेको हो । विभागले इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपी प्रयोग नगरेको र संघीयता कार्यान्वयन हुँदा पनि पुरानै अञ्चलको आधारमा जारी गरेको भन्दै विरोध भएको थियो ।

तर, विभागले सार्क सदस्य राष्ट्र र भिबिआईएन अर्थात् भूटान, बंगलादेश, भारत र नेपाल समूहको सदस्य रहेको तथा चिनियाँ विकास अवधारणा ‘वान बेल्ट वान रोड’ अर्थात् ओभिओआर अनुमोदन गरिसकेको कारण ती देशमा पनि नेपाली सवारी साधन जान सक्ने भएकाले पहिचानका लागि अंग्रेजी भाषा नै प्रयोग गरिएको जनाएको छ ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नै अंग्रेजी भाषामा नम्बर प्लेट लेखिएको भए पनि नेपालको पहिचान दिन नम्बर प्लेटमा राष्ट्रिय झण्डा भने राखिएको विभागका प्रवक्ता टोकराज पाण्डेको भनाइ छ ।

तत्कालिन संसदको विकास समितिले मुलुक संघीयतामा गइसकेको भन्दै अञ्चलको सट्टा प्रदेश नम्बर राख्न निर्देशन दिएपछि विभागले प्रदेश नम्बर राखेको हो । साविकको बाग्मती भएकाको सट्टा प्रदेश ३ लाई अंग्रेजीमा ‘कतबतभ घ’ राखिएको छ । अन्य प्रदेशमा पनि यसरी नै राखिनेछ । इम्बोस्ड नम्बरको प्रयोगपछि हालको सवारीको नम्बरसमेत परिवर्तन गरी बिलबुकको आधारमा नयाँ नम्बर प्राप्त हुने विभागले जनाएको छ ।

लट प्रणालीका आधारमा नम्बर दिइने विभागको भनाइ छ । विभागले २०७४ साल चैत मसान्तभित्र प्रदेश नम्बर ३ का सरकारी, संस्थान तथा कुटनैतिक नियोगका सवारी साधनले अनिवार्य रुपमा इम्बोष्ड नम्बर प्लेट लिनुपर्ने जनाएको छ । सोहि समयभित्रै प्रदेश नम्बर ३ का बा १२ च सम्मका ४ पांग्रे निजी सवारीले समेत नम्बर प्लेट लिइसक्नुपर्नेछ ।

२ पांग्रे र अन्य निजी सवारीका लागि भने विभागले छिट्टै नयाँ सुचना निकालेर प्रकृया सुरु गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *