लघुकथा–विश्वास

लघुकथा–विश्वास

सेते भारतमा प्रवेश भएपछि दिल्लिको एउटा (टि ईस्टाल) चिया पसलमा काम पायो । त्यो पनि कोही आफन्तिले काम लगाई दिएर होईन फुटफाटमा बसेको देखेपछि मालिकले काम गर्छस् केटा ? भनेर सोध्यो । हजुर गर्छु भन्यो, अनि दोकान नजिकै रै’छ । त्यसपछि सेते नोकरीमा लाग्यो । बाह्र तेह्र बर्षको सेते दोकानमा नोकरी लागेको भोलीपल्ट बिहानै भोला पहलवानले उठाएर पत्थरको कोईला फोडेर अंगिठी सल्काउन भनेर ऊ आफ्नो अखडामा जान्छ । ऊ पहलवानको अखडामा कुस्ति गर्थ्यो । सेतेले पत्थरको कोईला तोडेर त्यो भट्टी बाल्छ । अरु पनि सेते जस्तै दशदेखि पन्ध्र बर्षसम्मका केटाहरुले त्यँहा काम गर्थे । त्यो बेला खुबै बाल मजदुरहरुको माग हुन्थ्यो । नेपालबाट आउँदा सानो बच्चा ल्याईदेस् भनेर पनि मालिकहरुले भन्थे । चालिस रुपैयाँ महिनाको तलब, बिहान बेलुका खाना, नास्ता अनि महिनामा एउटा छुट्टी पाईन्थ्यो । त्यो दिनका लागि पहिल्यै फिल्मको टिकट मालिकले बुक गराई दिन्थ्यो तर पैसा तलबमा काट्थ्यो ।

भोलाले पहलवानगिरी गरेर आयो दुईटा दुधका ड्रम एक–एक हातमा पानी भरेर सोझो हात न मोडिकन ल्याउँथ्यो र त्यहिँ बाहिरनुहाउँथ्यो । जनवरी महिनाको जाडोमा सेते लगायत अरु केटाले थर्थर काँप्दै भट्टी सेक्दै थिए । भोला नुहाउँदै थियो ।

ऊ चिया बनाउने उस्ताद भएर होला सबैले उसलाई उस्तादज्यू भन्थे । मालिक पनि ऊ सँग राम्रै बोल्थ्यो र उस्ताद जी भन्थ्यो । कहिलेकसो पहलवान पनि भन्थ्यो । सेतेहरु मालिकसँग भन्दा पनि त्यो सँग अलि डराउँथे । मालिक बरु हाँसो, ठट्टा गर्दथ्यो तर ऊ कामका कुरा बाहेक अरु कुरा गर्दैनथ्यो । सेतेलाई मालिकले भाँडा माज्न गिलास पखाल्न होदिमा उभ्याउथ्यो र दिनभरी त्यहीँ उभिनु पर्थ्यो । पानीले गलाएर हातका कापहरु छिया–छिया भएका थिए । यसरी राती सुत्ने बेला औँलामा नीलो झोल दबाई लगाएर सुत्थ्यो । दिन यस्तै बित्दै गएका थिए ।

एकदिन एउटा गिलास धुँदा खसेर होदिमा फुट्छ । त्यो फुटेपछि हातको औँलामा सिसा गड्छ । रगतको फल बग्छ । अनि मालिकले लगेर उसलाई औषधि ल्याई दिन्छ । हातमा पट्टि लगाइदिन्छ ।

ऊ अलिअलि नेपाली बोल्थ्यो तर सबै कुरा बुझ्थ्यो । सायद उसले सुरुदेखि नै नेपाली केटाहरु राखेर उनीहरुसँग कुरा सिकेको थियो होला । औषधि ल्याएपछि बाहिर बेञ्चमा बसालेर यहाँबाट मलाई नसोध्दै न उठेस् भन्यो । आज गिलास पखाल्न परेन किनकी हातमा पट्टी थियो ।

भाई काँ हो तिम्रो घर ? बेञ्चको नजिकै एउटा हृष्टपुष्ट युवक सुट बुटमा उभिएको थियो । के भयो ? तिम्रो हातमा भनेर फेरी सोध्यो । गिलास फुटेर हात काट्यो दाई मेरो ! भनेर सेतेले भन्छ । अलि राम्रै गरी होसियार भएर काम गर्नु पर्छ नि । काँ हो तिम्रो घर ? उसले सोध्यो । लेक हो दाई मेरो घर भनेर सेतेले भन्छ । उसले झोलाबाट एउटा पुस्तक निकाल्दै पढ्न जानेका छौ ? हजूर वर्णमाला पढेको मैले, सेतेले उत्तर दिन्छ । ए हो ! लौ एउटा किताब किन भाई, उस्ले भन्छ। साढे दुई रुपैयाँको तीज गीतको किताब थियो त्यो किताबमा ओमप्रकाश भनेर लेखेको र उसैको फोटा कभरमा छापेकोले उसैले छपाएको हो भन्ने पुष्टी हुन्छ ।
त्यो किताबमा छाडा प्रकारका तीज गीतहरु थिए । सेतेले पैसा दिएर त्यो किताब लिन्छ । त्यो बेला भारतमा नेपाली किताब कता कति भेट्टिन्थे ।

भाई कति जना छौ यहाँ ? उस्ले सोध्छ । हामी पाँच जना नेपाली एउटा स्थानीय पहलवान पनि छ भनेर सेतेले भन्छ । अरुलाई पनि बाहिर बोलाउन, उसले भन्छ । अरु दुई जना केटा बाहिर निस्किन्छन् ओमप्रकाशले ढिलो नगरी एउटा प्याड निकाल्छ । लौ भाई हो हाम्रो देशको सरकार गरिब छ । देशभित्र पुल बनाउनु पर्ने खाँचो छ । कयौं डुबेर दलदलमा धसिएर मर्छन् । त्यँहा पुल बनाउने हो त्यसैको सहयोगका हात बढाउनु पर्यो भन्छ । सेते लगायत सबैले दुईदेखि पाँच रुपैयाँसम्म दिन्छन् ।

यसरी उसका कुराबाट उनीहरु धेरै भाभुक हुन्छन् । साँच्चै भन्दा देश भित्रका नदि नालाहरुको माथि पुल बनाउन पाए हुन्थ्यो । कयौं भारतमा बसेका नेपालीहरुले नेपाली धर्मशाला मन्दिर आदि बनाउन प्रत्यके ठाउँहरुमा हाम्रो आव्हान छ भन्दै चन्दा काटेर ऊ जान्छ । पछि देशमा कसैले कतै पुल बनाएको खबर छैन् ।
भारतमा पुगेर मजदुरी गर्ने सेते जस्तालाई ठगेर, लुटेर कतै मन्दिर कतै धर्मशाला आदि बनाउने भन्दै आम सोझा सिधा नेपालीहरुलाई ठग्न थालेका थिए ।

होटेलमा बिहानदेखि बेलुकासम्म भाँडा माझे पनि अहिले उसै मालिकले दिएको तलबबाट ओमप्रकाश लाई पैसा दिन्छन् । त्यो पुलको नाममा र भारतमा धर्मशाला बनेपछि म जस्तालाई फाल्टु बसेको बेला कम्तिमा बास बस्न त पाइन्छ ! भन्दै त्यो व्यक्तिलाई आर्थिक सहयोग गर्छन् ।

आखिरमा यसरी होटेल, कोठीहरुमा हात खुट्टा गलाएर पनि उसलाई तलब समयमा मिल्दैन । सेते अब तँ यहाँ बस्ने होईन, सधैंका लागि मेरो घरमा जानु् पर्छ भनेर मालिकले भन्छ ।
आखिर देशका होनहार युवाहरुलाई ठगेको र उनको न्युनतम ज्यालाबाट पुल र मन्दिर अनि धर्मशालाको नाममा आम गरिब मजदुरलाई ठग्यो । सेतेको कयौं बर्षमा त्यो ओमप्रकाससँग बुट्वलामा भेट हुँदा उसले सेतेलाई नचिनेको जस्तै गर्छ ।

आखिर पछि क्रान्तिकारी भनाउँदाहरुले पनि ठिक यस्तै गरे जनतालाई माछो–माछो भ्यागुतो गराए । पटक–पटक जनता भारतमा जीवन निर्वाह गर्नेहरु प्रतिको यो व्यवहारले देशको विकास होईन विनास हुनेछ । सेतेको कम्तिमा चालिस बर्षको अवस्थामा उनीहरुले जनतालाई दिदैँ आएको भ्रम व्यक्तिहरुरु बदलिए । तर व्यवहार उस्तै छ । जस्तो आजभन्दा चालिस बर्षको झट्का ।अहिले पनि कसैले झेलीको विश्वास नगर्नु ।

सुरेशकुमार पाण्डे
घोराही उप–महानगरपालिका–१८, दाङ
हाल–भारतको एन.सि.आर. मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *