कोहलपुरमा तरकारीको चर्काे मूल्य, १५ दिन पछि घट्ने

बिधुत्मा रैका,
कोहलपुर, भदौ २९,

बाँकेको कोहलपुरमा लकडाउन खुलेसँगै चहलपहल बढेको छ । कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनले घरभित्रै बसिरहेका मानिसहरु घर बाहिर निस्किने क्रम पनि बढेको छ । बिहान मोर्निङ वाक जानेदेखि साँझ तरकारी किन्न जानेहरुको लर्काे देखिन्छ । जसका कारण दैनिक उपभोग्यवस्तुहरुको मूल्य पनि ह्वातै बढेको छ ।

कोहलपुरको बजार अहिले महँगिएको छ । दैनिक उपभोग्य तर्फ तरकारी, दाल, चामल, चिनी लगायतका वस्तुको मूल्य वृद्धि भएको हो । बोराको १ हजार पर्ने चामललाई अहिले १२ सय देखि १३ सय सम्म पर्ने गरेको छ । यि सबै उपभोग्य वस्तु भन्दा सबैभन्दा बढी तरकारीको मूल्य वृद्धि भएको छ । लकडाउन अघि तरकारीको मूल्य सरल थियो । तर लकडाउन खुल्ला भएपछि अत्यावश्यक वस्तु तरकारीको मागसँगै मूल्य पनि वृद्धि भएको छ ।

हरेक तरकारी एक किलोमा १० रुपैयाँदेखि ३० रुपैयाँसम्म मूल्य बढेको छ । बर्खाको समयमा तरकारीको मूल्यमा वृद्धि हुने तर अहिलेको सन्दर्भमा माग अनुसारको आपूर्ति हुन नसकेकाले मूल्य बढेको कोहलपुर सब्जीमण्डीका व्यापारीहरु बताउँछन् । खुद्रा व्यापारीले भने यस्ता तरकारीमा थप प्रतिकिलो २० देखि २५ रुपैयाँ जोडेर व्यापार गर्दै आएका छन् । अहिले बजारमा सबैभन्दा बढी टमाटोरको मूल्य बढी रहेको छ । यसैगरी प्याजमा पनि सोही अनुसार वृद्धि भएको छ । प्रति बोरा ६ सयसम्म पर्ने प्याजलाई अहिले करिब १२ देखि १३ सयसम्म बिक्रि भैरहेको छ । जसले गर्दा प्याजलाई प्रतिकिलो ६० देखि ८० रुपैँयामा बिक्रि भैरहेको छ ।

अन्य तरकारीमा काउली प्रतिकिलो १२० देखि १४०, बोडी प्रतिकिलो १२० देखि १४०, सिमि प्रतिकिलो १४० देखि १६०, आलु प्रतिकिलो ६० देखि ८०, बन्दा प्रतिकिलो ६० देखि ९०, करेला प्रतिकिलो ५० देखि ८०, लौका प्रतिकिलो ५० देखि ८०, चिचिण्डा प्रतिकिलो ६० देखि ८०, हरियो खुर्सानी प्रतिकिलो ६० देखि ८०, भिन्डी प्रतिकिलो ८० देखि १००, भेडेखुर्सानी प्रतिकिलो १४० देखि १६० मा बिक्रि भैरहेको छ । तरकारीको माग बढी भएको तर तरकारी कम आएकाले मूल्य वृद्धि भएको तरकारी व्यवासायीले बताए ।

कोहलपुरमा मानिसहरुको चहलपहलसँगै तरकारीको मूल्यमा दैनिक प्रतिकेजी २० देखि ३० रुपैयाँ कोहलपुरको दशविगाहमा बस्दै आएकी माया कुँवरले बताईन् । उनले भनिन्,–‘मान्छेको चहलपहल छ । तरकारीको मूल्य पनि दिनदिनै प्रतिकेजी करिब २० रुपैयाँले बढिरहेको छ र माग पनि बढिरहेको छ । एकातिर तरकारी कम आउँछ अर्कोतिर भएको तरकारी बिक्दैन । आज भोली तरकारीको कारोबार पनि भएको छैन ।’ उनले विगत ६ वर्षदेखि तरकारीको व्यापार गरिसकेकी छिन् ।

यस्तै सब्जीमण्डीमा समय अनुसार फरक मूल्य हुने गरेको उपभोक्तहरुले बताएका छन् । जसका कारण तरकारीको मूल्यमा अलमल पर्ने गरेको कोहलपुरकी गरिमा रावलले बताईन् । उनले भनिन्,–‘बिहान, दिउँसो र बेलुका फरक–फरक मूल्य हुन्छ । बिहानको दरभाउ र साँझको दरभाउ फरक हुनाले पछिल्लो बिहान तरकारी किन्दा अलमलमा परिन्छ ।’ अहिले धेरै किसानहरुले तरकारी रोपेको ठाउँमा पनि धान रोप्ने भएकाले तरकारी कम आउने र मूल्य वृद्धि हुने गरेको कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले बताए ।

अबको १५/२० दिन पछि तरकारीको मूल्य घट्न सक्ने अध्यक्ष अधिकारीले बताए । अध्यक्ष अधिकारीले बर्खाको सुरुवातसँगै तरकारीको मूल्य वृद्धि हुने नियति नै बनिसके पनि कोभिड–१९ का कारणले तरकारीको आयात र उत्पादनमा कमि आएकाले मूल्यमा वृद्धि भएको बताए । उनले भने,–‘बर्सातको समयमा तरकारीको मूल्य स्वतःरुपमा बढ्छ । तर अहिले कोरोना भाइरसले पनि प्रभाव पारेको छ ।’

तरकारीको मूल्य वृद्धि यसवर्षको समस्या मात्र नभई हरेक वर्षको समस्या हो । मूल्य वृद्धिमा कोरोना भाइरसले केही प्रभाव पारे पनि यो पूरानै समस्या भएको र यो समस्या समाधान नगरे हरेक वर्ष मूल्य वृद्धिको समस्या सबैले दीर्घकालीन रुपमा भोग्नु पर्ने उपभोक्ताहरु बताउँछन् । तरकारी फलाउने उर्बर जमिनमा ‘घर’ फलाइरहेकाले बर्सेनी तरकारीमो मूल्य वृद्धिको समस्या यहाँका वासिन्दाको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *