मात्र नौ महिनामै क्षयरोगको उपचार, जनवरी १ बाट मुख्य ४ शहरमा सेवा सुरु गरिने

विमर्श कँडेल

१३ पौष, २०७४
काठमाडौं : क्षयरोगको उपचारका लागि लामो समय औषधी खानुपर्ने झन्झटबाट अव मुक्ति मिल्ने भएको छ । क्षयरोगको प्रभावकारी उपचारका लागि नेपालमा नौ महिने छोटो उपचार विधि सुरु हुने भएपछि बिरामीहरुका लागि सहज हुने भएको हो ।

दामियन फाउन्डेशन बेल्जियमको सहयोगमा आगामि जनवरी एक तारिखदेखि काठमाडौं, विराटनगर, बुटवल तथा नेपालगञ्ज गरी चार ठाँउबाट यो विधिको सुरुवात गर्ने राष्ट्रिय क्षेयरोग केन्द्र, भक्तपुरले जानकारी दिएको छ ।

यो उपचार विधि सञ्चालनमा ल्याउने नेपाल विश्वकै ३८औँ देश हो ।

केन्द्रका अनुसार यो विधिबाट उपचार गर्दा बिरामीले नौ महिनासम्म आवश्यक औषधि सेवन गर्नुका साथै ४ देखि ६ महिनासम्म सुई लिनु पर्नेछ । दामियन फाउन्डेशन बेल्जियमका नेपाल प्रमुख डा.सुशिल कोइरालाले साविकको उपचार विधीमा ८ देखि १२ महिनासम्म सुई तथा २० देखि २४ महिनासम्म निरन्तर गर्नुपर्ने उपचार र रेखदेखको सट्टा अब ९ देखि ११ महिनाको औषधी सेवनले क्षयरोग निको हुने दावी गरे ।

उनका अनुसार यस्तो उपचारसेवा गर्भवती महिला तथा फोक्सो बाहेकका अन्य अंगमा क्षयरोग भएका बिरामीलाई भने दिइने छैन । नेपालमै पहिलोपटक सुरु हुन लागेको यस किसिमको उपचारका लागि आवश्यक पर्ने सम्पूर्ण पूर्वाधार दामियन फाउन्डेशन बेल्जियमले उपलब्ध गराएको छ ।

केन्द्रका निर्देशक डा.केदार नरसिंह केसीले भने,’ कार्यक्रमको पहिलो चरणमा चार ठाउँबाट सुरु गनि लागेको यस कार्यक्रमलाई क्रमश देशैभर सञ्चालन गर्ने तयारीमा छौं ।’ यसको लागि केन्द्रले हाल देशैभरी क्षयरोगका बिरामीको प्रारम्भिक सर्भेक्षण गर्ने तयारी गरिरहेको समेत डा.केसीले बताए ।

डा.केसीले क्षयरोगको वर्तमान अवस्था, थपिने नयाँ क्षयरागीहरुको संख्या र यसले समाजमा पारेको प्रभाव तथा यसबाट जनस्वास्थ्यमा देखा पर्ने चुनौती आदिका विषयमा वास्तविक तथ्यहरुको गहिराईसम्म पुग्ने उद्देश्यका साथ नेशनल टिबी प्रिभ्यालेन्स सर्भे सुरु गर्न लागिएको जानकारी दिए ।

डा.केसीका अनुसार देशभरका ५५ जिल्लामा ५७ हजार ६ सय १० जनामा गरिने यस सर्भेक्षणमा अत्याधुनिक प्रविधिद्धारा रोग निदान र परिक्षणका माध्यमद्धारा क्षयरोगको वास्तविक अवस्था आकंलन गरिने छ । यसको लागि केन्द्रले प्रि टेष्टिङ्ग, ओरियन्टेसनलगायतका कार्य सम्पन्न गरिसकेको बताइएको छ ।

केन्द्रका अनुसार विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त यस उपचार विधिको अभावमा हाल केन्द्रले क्षयरोगका बिरामीहरुलाई २० महिनादेखि २४ महिनासम्म क्षयरोगका औषधि सेवन गराउँदै आएको थियो ।

विभिन्न देशमा सञ्चालनमा रहेको यस उपचार विधिको विस्तृत अध्ययन गरी सकारात्मक सूचकलाई स्वीकार गरी सन् २०१६ मा विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त भएपछि केन्द्रले यो सेवा नेपालमा पनि सुचारु गर्न लागेको हो । विश्वभर यस उपचार विधिको सफलता दर झण्डै ८५ प्रतिशत रहेको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार छोटो समयमा गरिने यस्ता उपचार विधिको अभावमा नेपालमा क्षयरोगका बिरामीको बहुऔषधि प्रतिरोधी (एमडीआर) उपचार विधिद्धारा उपचार हुँदै आएको थियो । न्युनतम २० देखि २४ महिनासम्म गरिने यस्ता उपचार विधिमा बिरामीलाई ६ थरीका औषधि ख्वाइनुका साथै ६ पटकसम्म सुई लगाइने गरिएको थियो ।

औषधीको नकरात्मक प्रभावलगायत औषधीबाट उत्पन्न हुने विषाक्तता तथा बिरामीलाई उपचारकेन्द्रसम्म आईपुग्न पर्ने विविध कठिनाईका कारण यो विधिको सफलता दर करिव ७० प्रतिशत मात्र रहेको केन्द्रले जनाएको छ । सोहि कमी कमजारीको न्युनिकरण तथा व्यवस्थित, भरपर्दो तथा सर्वसुलभ मात्रामा बिरामीलाई सेवा पुर्याउनका लागि पनि छोटो उपचार विधि सुरु गरिएको डा.केसीले जानकारी दिए ।

त्यसलाई सहजीकरण गर्न सोसम्बन्धी निर्देशिका, प्रोटोकल एवम् स्वास्थ्यकर्मीहरुको तालिमको काम समेत सम्पन्न भइसकेको छ । केन्द्रका अनुसार औषधी सेवनबाट उत्पन्न हुनसक्ने नकारात्मक प्रभाव उपर अनुगमन गर्न फाउण्डेशनले आवश्यक उपकरण, इलेक्ट्रो कार्डियोग्राम र श्रवणयन्त्र उपलब्ध गराएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा बर्सेनी ४४ हजार क्षयरोगका बिरामी भेटिने भएपनि करिव ३२ हजार मात्र उपचारको दायरामा आउने गरेका छन् । जसमध्ये करिव ५ देखि ७ हजार बिरामीको मृत्यु हुने गरेको छ ।

नेपालमै यो सेवा सुरु भएसँगै क्षयरोगका बिरामीको छिटो उपचार हुनुका साथै स्वास्थ्यमा पार्ने प्रतिकुल असर कम गर्दै लैजाने विश्वास लिइएको छ । यसका साथै सन् २०५० सम्ममा नेपाललाई क्षयरोगमुक्त बनाउने राष्ट्रिय क्षयरोग कार्यक्रमको योजनामासमेत यो कार्यक्रमले सहयोग पुग्ने राष्ट्रिय क्षेयरोग केन्द्रले विश्वास लिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *