र्इपिएल खेल्दा चोट बोकेका सुशिल ६ महिना मैदान बाहिर रहने

१३ पौष, २०७४
काठमाडौं : युवा स्पिनर सुशिल कँडेल कम्तीमा ६ महिना मैदान बाहिर हुने भएका छन् । राजधानीमा जारी एभरेस्ट प्रिमियर लिग ईपिएलका क्रममा घाइते भएका सुशिललाई चिकित्सकले ६ महिना आराम गर्न सुझाव दिएका छन् ।

र्इपिएलमा काठमाडौं किंग्स इलाभेनको प्रतिनिधित्व गरेका सुशिल चितवन टाइगर्सविरुद्धको खेलका क्रममा घाइते भएका थिए । अमर राउटेलाको बलमा दिलिप नाथले प्रहार गरेको सट रोक्ने क्रममा उनलाइ देव्रे हातमा चोट लागेको थियो ।

त्यसपछि अस्पताल भर्ना भएका सुशिलको हात भाचिएको चिकित्सकले बताएका छन् । हाल अस्पतालबाट डिस्चार्ज भएर घरमा आराम गरिरहेका सुशिलले ६ महिना क्रिकेट बाट टाढा रहनु परेपनि स्वास्थ्य ठुलो कुरा रहेको बताए ।

उनको अनुपस्थिती काठमाडौं किंग्सको हरेक खेलमा खड्किएको थियो । जसका कारण उसले लिग चरण पार गर्न सकेन ।

मैदान बाहिर बसेर क्रिकेट हेर्दा भने पिडा हुने उनको भनाइ थियो । उनले चोटपछि टिममा फर्कन सहज भने नहुने बताए ।

कँडेल नेपाली क्रिकेटका उदाउँदा स्टार खेलाडी हुन् । सन् २०१४ को एसीसी अन्डर नाइन्टिन इलाइट कपबाट सुशीलले क्रिकेट यात्रा सुरु गरेका थिए । सिनियर टिममा भने सुशिल विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हङकङविरुद्धको खेलमा अटाएका थिए । तर उनले खेल्ने मौका भने पाएनन् ।

सात वर्षको क्रिकेट करियरमा सुशिल तेस्रो पटक चोटग्रस्त बनेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *