ईपिएल क्रिकेट : ललितपुरलाई हराउँदै भैरहवा फाइनलमा, उपाधिका लागि शनिबार विराटनगरसँग खेल्ने

१३ पौष, २०७४
काठमाडौं : एभरेष्ट प्रिमियर लिगको उपाधिका लागि विराटनगर वारियर्स र भैरहवा ग्लाडियटर्स बिच प्रतिस्पर्धा हुने भएको छ । आज भएको दोस्रो क्वालिफायर्समा भैरहवाले ललितपुर प्याट्रियट्सलाई तीन विकेटले हराउँदै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।

किर्तीपुरस्थित त्रिवी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ३२ रन बनयो । उसका ओपनर शंकर राना र जयकिसन कोल्सावालाले पहिलो विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए। कोल्सावाला ४२ रनमा आउट हुँदा ललितपुरले पहिलो विकेट गुमायो । लगत्तै शंकर रानापनि आउट भएपछि ललितपुरले ६० रनमा दोस्रो विकेट गुमायो ।

त्यसपछि विदेशी खेलाडी सन्नी पटेल व्ययक्तिगत २४ रनमा बाहिरीएपछि ललितपुरले ९७ रनमा तेस्रो विकेट गुमायो । त्यसको लगत्तै कुशल भुर्तेलपनि खाता खोल्न नपाउँदै आउट भएपछि ९८ रनमा चौथो विकेट गुमायो । यस्तै कप्तान ज्ञानेन्द्र मल्लले २०, दिपेश भण्डारीले २२ तथा सोनु तामाङले १० रनको योगदान गरे ।

भैरहवाका लागि भारतकै पुनित मिश्राले २ तथा भुवन कार्की, हरिशंकर शाह र आरिफ शेखले १/१ विकेट लिए ।

जवाफमा भैरहवाले १९ ओभर ३ बलमा ७ विकेटको क्षतिमा विजयी लक्ष्य पूरा गर्‍यो । भैरहवाका लागि प्रथम सालुन्कीले ३२ रन, कप्तान शरद भेषवाकरले ९ तथा आरिफ शेखले मात्र ६ रन जोड्न सके । यस्तै भुपेन्द्र थापाले १९ रन जोड्दा पुनित मिश्राले १६ रनको योगदान गरे ।

एक समय हारको नजिक पुगेको भैरहवालाई रोहित पौडेलले उकासेका थिए । अन्तिम ओभरमा जितका लागि १३ रन चाहिएकोमा उत्कृष्ट ब्याटिङ गर्दै पौडेलले दुई छक्का प्रहार गर्दै टिमलाई उपाधिको नजिक पुर्याएका थिए । ‘म्यान अफ द म्याच’ घोषित रोहितकुमार पौडेलले १७ बलमा अविजित रहँदै २८ रन जोडे ।

ललितपुरका लागि ललित राजबंशी र पवन सर्राफले २/२ विकेट लिए ।

समूह चरणको खेलमा पनि भैरहवाले ललितपुरलाई पराजित गरेको थियो ।

यसअघि बुधबार भएको खेलका विराटनगरले भैरहवालाई हराउँदै फाइनलमा पुगिसकेको छ । शरद भेषावकरको भैरहवाले यसअघिको क्वालिफायर र समूह चरणको खेलमा पारस खड्का नेतृत्वको विराटनगरसँग हार बेहोरे पनि दोस्रो क्वालिफायर जित्दै फाइनलको यात्रा तय गरेको हो ।

भैरहवा बदलासहित उपाधि जित्न चाहन्छ भने विराटनगर विजयी भए एउटै प्रतियोगितामा एकै टिममाथि ‘ह्याट्रिक’ जितसहित उपाधि जितको कीर्तिमान बनाउनेछ । फाइनल खेल शनिबार हुनेछ ।

२१ लाख नगद पुरस्कार राशि रहेको प्रतियोगितामा ६ वटा टोलिलाई सहभागि बनाइएको थियो । नेपालका लागि यति ठूलो लगानीमा विदेशी खेलाडिहरुलाईसमेत सम्मिलित गरि आयोजना भएको ईपिएल पहिलो हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *