कविता-‘आँखाहरु’-दिलिप कुवँर

आँखाहरु

कसैलाई कोमल लाग्ने यी आँखाहरु
जसले देखिसकेको छ
एउटा रात अलप हुनु पूर्व समुद्रमा नुहाउँदै गरेको जून,
जसले देखिसकेको छ
वरको लहरामा झुन्डिएर चरा जस्तै उड्ने प्रयत्न गरिरहेका बच्चाहरु,
जसले देखिसकेको छ
आफ्नै जीवनको किनारामा डुङ्गा बाँधिरहेको माझी,
जसले देखिसकेको छ
वेदनाको मोटो पुस्तक बोकेर भट्टि छिर्ने आकस्मिक पाहुनाहरु

कसैलाई कठोर लाग्ने यी आँखाहरु
जसले देखिसकेको छ
खतरनाक रोगले ग्रसित बन्दै गएको यो देशको शाषक,
जसले देखिसकेको छ
सभ्यताको पुरानो विज्ञान बोकेर हिडेका आदिवासीहरु,
जसले देखिसकेको छ
अस्तित्वको निम्ति द्वन्द्व गरिरहेका दुर्लभ पुतलीहरु,
जसले देखिसकेको छ
भोकले पेट मिचिरहेका बुद्दका मुर्तिहरु,
जसले देखिसकेको छ
चक्कु बोकेर स्वागतार्थ उभिएका फुलहरु,

कसैलाई प्रेमिल लाग्ने यी आँखाहरु
जसले देखिसकेको छ
मध्यरातमा सेतो फ्रक लगाएर नाँचि हिड्ने सुन्दर युवतीको प्रेतात्मा,
जसले देखिसकेको छ
बाथ ट्युबको तातोपानीमा उत्तानो पल्टिरहेकि कुनै स्त्रीको नाङ्गो शरीर,
जसले देखिसकेको छ
कुनै काल्पनिक टापुको मोनास्ट्रीमा निदाईरहेको फकिर,
जसले देखिसकेको छ
घाईते ईतिहास बोकेर बिक्रीमा बसेको पुरानो थाङ्का

कसैलाई कुरुप लाग्ने यी आँखाहरु
जसले देखिसकेको छ
घाटको छेउमा आगो बेचिरहेका पुजारीहरु,
जसले देखिसकेको छ
अल्लाहले आत्महत्या गरेको मस्जिदमा उठेको मिनार,
जसले देखिसकेको छ
अगरबत्ति जलिरहेको मन्दिरमा गुम्बज,
र जसले देखिसकेको छ
बतासलाई कुल्चिएर आकाश छुँदै गरेका कलश

यी सबै–सबै दृश्यहरु देखिसकेका यी आँखाहरुलाई
कहिल्यै नझिम्किने गरि एकदिन लामो विश्राम त दिनु छ नै

तर विश्राम दिनु पूर्व अन्त्यमा
म यी नै आँखाहरुले हेर्न चाहन्छु
संसारलाई दासी बनाएर बसेको
ईश्वरको आँखाबाट खसेको एक थोपा आँशु ।

दिलिप कुवँर, रोल्पा

Leave a Reply

Your email address will not be published. Required fields are marked *