सोलुखुम्बुमा विद्यालय भवन पुनर्निर्माणले पायो तिव्रता

१३ पौष, २०७४
सोलुखुम्बु : करिब तीन वर्षअघि गएको विनाशकारी भूकम्पबाट क्षति भएका सोलुखुम्बुका विद्यालय भवन पुनर्निर्माणले तिव्रता पाएको छ । हालसम्म जिल्लाका १५ वटा विद्यालयमा भूकम्प प्रतिरोधी भवन निर्माण भइसकेका छन् ।

सोलुखुम्बुका विद्यालय भवन निर्माणमा शिक्षा क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाले ठूलो सहयोग गरिरहेका छन् । पाँच वर्षमा पुनःनिर्माण गरिसक्ने सरकारी लक्ष्यलाई सहयोग पुग्नेगरी गैरसरकारी संस्था हिमालयन ट्रष्टले दुई वर्षमा १५ वटा विद्यालयमा भूकम्प प्रतिरोधी ७० कोठा निर्माण गरेको छ ।

भूकम्पपछि तत्कालै २७ वटा विद्यालयमा अस्थायी सिकाई केन्द्र निर्माण गरी पठनपाठन सुचारु गर्न सहयोग गरेको हिमालयन ट्रष्टले दुई वर्षभित्र विद्यालयको पुनर्निर्माण सम्पन्न गरेको हिमालयन ट्रष्ट नेपालका अध्यक्ष पासाङदावा शेर्पाले बताए ।

ट्रष्टले भूकम्प प्रतिरोधी नमूना भवन बनाएर नेपाल सरकारको लक्ष्य पूरा गर्न ठूलो सहयोग गरेको बताउँछन् सोलुखुम्बुका जिल्ला शिक्षा अधिकारी डिकबहादुुर राई ।

नेपाल सरकार तथा जिल्ला शिक्षा कार्यालयसँग समन्वय गरी शहरी विकास तथा भवन निर्माण विभागबाट स्विकृत नक्साका आधारमा शतप्रतिशत भूकम्प प्रतिरोधी भवन पुनर्निर्माण गरिएको हिमालय ट्रष्टका जिल्ला प्राविधिक संयोजक आङ रिन्जी शेर्पाले दावि गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *