अहमद साहिलका दुई कविता

कविता–आकृति

तिमी आकृति हौ,
मेरो कल्पनामा विचरण गर्ने

मेरो आंशिक अस्तित्वमा सदा जीवित !

तिम्रा प्रेमपूर्ण लाजहरू
मेरो मानसपटलमा निवस्त्र हिडिरहेका छन्
खुलेआम !

तिम्रो आवाजले
मेरो अन्तर्मनको अभावलाई प्रत्याभूत गरिरहन्छ

आजभोलि,
म हर्षित हुन
कुनै पनि कारण खोज्दिन
पहिला झैं !

वर्तमान समय,
मभित्र आत्मासन्तुष्टिहरू चरमसीमामा छन्

म तिमीलाई
मेरो सामुन्ने राखेर
तिम्रो हृदयको रहस्यमय बनावटमा
सहजै प्रवेश गर्न सक्दछु
तिम्रै अनुमति विना !

तिम्रा अठोटहरू,
प्रसव पीडासँग युद्ध लडिरहेकी
कुनै सशक्त युवती झैँ लाग्छन् मलाई

तिम्रो भित्री स्वरूप,
तिम्रा यी बाहिरी आवरणहरू भन्दा श्रेष्ठ छन्
प्रत्येक संरचनामा तिमी पृथक छ्यौ

तिम्रा अनुरोधहरू,
कुनै अमरत्व प्राप्त
शिलालेखमा जडित पंक्तिहरू हुन्
जुन म पश्चात् पनि, कहिल्यै मृत देखिने छैनन्

यो संसार भौतिक
तिमी स्पष्ट अलौकिक !

म तिम्रो नाम जस्तो बेईमान होईन
जो, अन्धकारको प्रतिबिम्बमा विलीन भई दिनेछ

म त !
तिम्रो जीवनमा समाहित मृत्यु सरह हुँ
जो निश्चित छ एकदिन !
र उत्तिकै सत्य पनि

कविता–मृतकको अनुभूति

मलाई जुरूक्क उठ्नुछ !
मेरो चिहानबाट

र एकटक हेरिराख्न मन छ,
यो मृत संसारलाई एकपटक
पुनः

म पछि,
को–को ठहरै मरे ?
कति प्राणहरू शेष ?
अन्तिम स्वास फेरिरहेका छन्

कस्का लागी ?
बन्दोबस्त मिलाईदैँछ समसानघाट परिसरमा,
म समाप्त भए पश्चात् नै !

यी सब,
तथाकथित भाग्यमानीका अनुहार
म एकपटक अवलोकन गर्न चाहन्छु

खरानी बनि,
अन्तरिक्ष तिर स्पष्ट भागिरहेको
यो धुलो !
कस्को समाप्तिको दस्तावेज हो ?
पख, मलाई एकाग्र भई,
यसो तत्त्व–चिन्तन गर्न देऊ !

मलाई पहिचान गर्नुछ–
ती सबै मलामीहरूको,
ज–जसलाई मेरो अन्त्येष्टिसँगै
सुखद क्षणको अनुभूति भयो होला !

मृतक भएको नाताले,
मलाई जीवित व्यक्तिहरूको प्रकृति बुझ्नुछ ।

अहमद साहिल
ढल्केवर, धनुषा
हाल–टेक्सस, अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *