शान्ति अधिकारीका दश मुक्तक

मुक्तक–एक

ठाउँ पाएसी भन्छन् नि त ठाउँ दिनेले सोच्नु पर्थ्यो
पाउमै आफ्नो शिर राखी भाउ दिनेले सोच्नु पर्थ्यो
आफ्नै बिर्ता ठाँनी यो देश बाँडी खान पल्केका हो
पराई हुन ताक्छन् गर्धन दाउ दिनेले सोच्नु पर्थ्यो

मुक्तक–दुई

वारीपारी भयौं भन्छौ बनाउने तिमी नै हौ
माया गर्ने मुटुलाई जलाउने तिमी नै हौ
मनभित्रको मान्छेलाई तड्पाउन भँवराझैं
नयाँ नौला फूल चुमेर रमाउने तिमी नै हौ

मुक्तक–तीन

मनभित्रको मान्छे तिमी शहर एउटै भएन त
चाहनाको भेल उर्लेनी रहर एउटै भएन त
फरक नदी उस्तै लक्ष्य बोकि पुग्यौ सागरमा
त्यही सागरमा मिसिए‘नी लहर एउटै भएन त

मुक्तक–चार

हिरामोति दियौं तर सुनकै लागि तड्पिरहें
घाम लाग्दा पनि सधैं जूनकै लागि तड्पिरहें
मनभित्र बसालेको मान्छे भेट्न नसके नि
मुटुलाई ढुङ्गा पारी उनकै लागि तड्पिरहें

मुक्तक–पाँच

अरुलाई मिल भन्दै आफै हानाहान गर्छन्
मातृभुमि नङ्ग्याउन सधै तानातान गर्छन्
पुर्खाको इज्जत राख्ने कोहि त होला भन्यो
आशा गर्या मान्छेले नै गल्ती जानाजान गर्छन

मुक्तक–छ

गर्यौ दिलको ढोका बन्द फर्किएर गए
मन दुखेसी सिसा जस्तै चर्किएर गए
चौतारीको बरपिपलझैं हौँला भनेथेँ
लाग्दा बादल आशङ्काको दर्किएर गए

मुक्तक–सात

नपठाउ यादको भारी डुबेकी छु पीरमा
गयौं मलाई एक्लो पारी डुबेकी छु पीरमा
दुनियाँको गिद्दे नजर पर्दा जिन्दगीमा
दिन जितेर रात हारी डुबेकी छु पीरमा

मुक्तक–आठ

तिमी थियौ र पो जीवन यथार्थमा जीवन थियो
विश्वासिलो मनभित्र माया राख्ने आसन थियो
बाध्यताको सुनामीले उडाइ लग्यो सारा सपना
वियोगमा जल्दा मुना तड्पेर रुने मदन थियो

मुक्तक–नौ

सत्यतथ्य नबुझेर मानवता मर्ने हो कि
समस्याको समाधान गर्न लागि पर्ने हो कि
हेरौं आफ्नो वरिपरि बुझिदिउ यथार्थलाई
यो दुःखमा गरिबको भोको पेट भर्ने हो कि

मुक्तक–दश

सुनसान छ सडक पेटि उराठिला गाउँ शहर
गोलाबारी छैन र नि लागेको छ लाशको लहर
भाइरसरुपि मानव शत्रु सुनामीझैं फैलिएर
तहसनहस पार्दा विश्व त्रसित छन् हर प्रहर

शान्ति अधिकारी पोख्रेल
कोहलपुर, बाँके

Leave a Reply

Your email address will not be published. Required fields are marked *