रोमा लम्सालका दुई गजल

गजल–एक

आफूले आफैलाई अवसरमा राख्यो
आफू नदी बन्यो मलाई बगरमा राख्यो

आँशुको बदला आँशु खोजेको रहेछ
हाँसो लुटेर चोट हरेक प्रहरमा राख्यो

सज्जनको नजर पनि परेको थियो
एक फकिरले मलाई नजरमा राख्यो

पिरतीको खेलमा सारङ्गीझैं रेटिएँ
राख्नेले मेरो खुसी खञ्जरमा राख्यो

नगरमा पुगेपछि लुटिएको हो ईज्जत्
फेरी प्रेमीले प्रेमीका नगरमा राख्यो

गजल–दुई

कहिले हुरी चल्छ कहिले बतास सम्बन्धहरुमा
सधैंभरि कहाँ भैरहन्छ मधुमास सम्बन्धहरुमा

फूल, फूल बन्न पनि निश्चित समय पर्खनु पर्छ
समय सदाबहार हुँदैन एकनास सम्बन्धहरुमा

वाचा त गरेकै‘थ्यो उसले सँगै जिउने सँगै मर्ने
आज गन्तव्य नपुग्दै भो उपहास सम्बन्धहरुमा

आमाले नखाई छोरोले कहिल्यै खाएको थिएन
फाटो भो बुहारी आएदेखि खास सम्बन्धहरूमा

खोज्न जान्नु पर्छ जून यहीँ छन् तारा यहीँ छन्
खोजे फराकिलो पाइन्छ आकास सम्बन्धहरुमा

रोमा लम्साल
झापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *