मौसमजी भण्डारीका चार गजल

गजल–एक

निठुर रहेछ यो मन अवला रहेछ
मुस्कुराउनु पनि त साथी कला रहेछ

फूलले हिर्कायो र पत्थरको चोट दियो
सम्झिए मित्रको ठूलो हमला रहेछ

घरबार त्यागेपछि सबथोक बुझियो
कसैको महल कसैको भुईतला रहेछ

कोहि जन्मिन्छन् कोहि मरेर जान्छन्
जिन्दगी भन्नू अनौठो शृङ्खला रहेछ

गजल–दुई

अतृप्त चाहा हुन्छ कि निराशा हुन्छ
तिम्रो प्रेमको यस्तै परिभाषा हुन्छ

तय गर्नुहोस् कसरी के गर्ने हो
नत्र त्यहाँ पुगेर तमासा हुन्छ

नतमस्तक छ यो सरकार अझै
एयरपोर्टबाटै सुनको निकासा हुन्छ

छक्का पन्जामै चित्त बुझाउनु पर्छ
जिन्दगी सधै कहाँ एक्का बास्सा हुन्छ

भोकै मर्ने शहर हो भोकाहरुलाई
एक छाकभन्दा बढी के आशा हुन्छ

गजल–तीन

तिमी मेरो नै भन्ने छाप हुँदैन
मायामा आकार र नाप हुँदैन

सोचेर योजना पूरा गर्न लागे
एक्कै चोटि खेप्ने तनाब हुँदैन

जो अनेक प्रश्न गर्छन् शास्त्रको
उहीसँग दिने जवाफ हुँदैन

मन्दिरमा भगवान बस्न छाडिसके
अब हेर्नुस् मान्छेलाई पाप हुँदैन

बहिनीको पहुँच छैन अदालतमा
अब उनको पक्षमा निसाफ हुँदैन

गजल–चार

यो समय स्थिर नहुने रहेछ
दुखिको तक्दिर नहुने रहेछ

धुर्तहरु सम्मान थापेर जान्छन्
साधुलाई अबिर नहुने रहेछ

कहि कतै पुग्ने योजना थियो
सोचे जस्तो घुमफिर नहुने रहेछ

हिजो कत्ती सहियो त्यही मुटुले
चोट सहँदा पनि पिर नहुने रहेछ

हद हुन्छ मायाको अत्ति भो भन्थे
मौसमको आखिर नहुने रहेछ

मौसमजी भण्डारी
वीरेन्द्रनगर–१०,सुर्खेत

Leave a Reply

Your email address will not be published. Required fields are marked *