चैतसम्मका लागि भारतसँगको विद्युत खरिद सम्झौता नवीकरण, भारतबाट आउने बिजुली नघट्ने

१२ पौष, २०७४
काठमाडौं : भारतबाट ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइन हुँदै आउने बिजुलीको विद्युत खरिद सम्झौता नवीकरण भएको छ । अनेक आशंकालाई चिर्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले चैतसम्मका लागि अधिकतम् १ सय ६० मेगावाट परिमाणमै बिजुली ल्याइराख्ने गरी भारतसँग सम्झौता गरेको छ ।

यसअघिकै सम्झौतालार्इ निरन्तरता दिन भारत सहमत भएको हो । सम्झौतापत्रमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतीय नोडल एजेन्सी विद्युत् व्यापार निगम (एनभीभीएन)का प्रमुख कार्यकारी अधिकृत अरुणकुमार गर्गले हस्ताक्षर गरेका हुन् ।

प्राधिकरणले स्वदेशी उत्पादनले धान्ने अवस्था नभएसम्म भारतबाट आवश्यक परिमाणमा बिजुली ल्याउने योजना बनाएको छ । त्यसैअनुसार विद्युत् खरिद सम्झौता नवीकरणका विषयमा छलफल गर्न नेपाल प्राधिकरणको उच्चस्तरीय टोली बुधबार भारतको राजधानी नयाँ दिल्ली पुगेको थियो ।

पुरानो सम्झौताअनुसार यही पुस १६ गतेदेखि यो सम्झौताको म्याद सकिँदै थियो । अब आगामी चैत १६ गतेसम्मका लागि सम्झौता अवधि लम्ब्याएर नवीकरण भएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

ढल्केबर आइरहेको १ सय ६० मेगावाट बिजुलीको सम्झौता नवीकरण भएपछि प्राधिकरणलाई सुख्खायाममा पर्नसक्ने बिजुली व्यवस्थापनको समस्याबाट केही राहत भएको छ ।

अब चैतसम्म नेपालका नदीमा पानीको सतह निकै कम हुने भएकाले भारतबाट बिजुली आयातलाई निरन्तरता दिन अत्यावश्यक थियो । चैतबाट भने हिमनदीमा हिँउ पग्लिएर पानीको सहत बढ्नेछ ।

यसअघि एनभिभीएनबाट बिजुली आयातलाई निरन्तरता दिने विषयमा स्पष्ट जवाफ नआउँदा प्राधिकरण सशंकित थियो । सम्झौताको म्याद सकिन लाग्दा भारतीय अदालतले प्रदुषणको कारण देखाउँदै विभिन्न उद्योग प्लान्टबाट हुने बिजुली उत्पादन रोक्न आदेश दिएको थियो ।

त्यसैका कारण भारतले नेपाललाई बेच्दै आएको बिजुलीको परिमाण कटौति गर्ने डर प्राधिकरणलाई थियो । यसैका कारण भारतले बिजुलीको मूल्य पनि बढाउने आशंका गरिएको थियो ।

तर, घिसिङले भारतीय ऊर्जा अधिकारीसँग आफ्नो विषय गम्भिर रुपमा राखेपछि १ सय ६० मेगावाट बिजुली प्रतियुनिट ३.६० भारूको पुरानै दरमा दिइराख्न भारत सहमत भएको हो । भारतबाट नेपालले यो हिउँदमा ३ सय ७० मेगावाट विद्युत् खरिद किन्ने योजना बनाएको छ ।

अर्को वर्षबाट स्वदेशी उत्पादन बढाउँदै क्रमशः भारतसँगको बिजुली परनिर्भरता घटाउँदै लैजाने योजनामा प्राधिकरण छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *