कोहलपुर ८ मा विकासका योजना केही सम्पन्न, केही अन्तिम चरणमा

बिधुत्मा रैका,
कोहलपुर, असार २३,

कोहलपुर नगरपालिका वडा नम्बर ८ मा आर्थिक वर्ष २०७६/७७ मा वडामा सञ्चालन भएका सबै योजना सम्पन्न भएका छैनन् । वडामा सञ्चालन भएका सबै योजना पुरा गर्नको लागि वडाध्यक्ष रेशम बहादुर खत्री सहित जनप्रतिनिधि र वडाका सम्पूर्ण कर्मचारीहरु द्रुत गतिमा लागि परेका छन् । वडामा अहिले धेरै जसो योजना टेन्डर प्रक्रियाबाट अगाडी बढिरहेका छन् । कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका कारण समयमै काम गर्न नपाउँदा सबै योजना सम्पन्न गर्न नसकिएको वडाध्यक्ष खत्रीले बताए ।

वडामा साना योजना भन्दा ठुलो योजनालाई नीति तथा कार्यक्रममा समेटिएको थियो । सबैभन्दा ठुलो योजना मध्ये वडा कार्यालयको जग्गा खरिद रहेको छ । वडाले करिब ८४ लाख रकममा वडाको जग्गा खरिद गरेको छ । भौतिक विकास निर्माणका केही ठुला योजना सम्पन्न भैसकेका छन् भने केही योजनाको कामहरु अन्तिम चरणमा पुगेको छ । वडामा रहेको सरस्वती माद्यामिक विद्यालयको ८ कोठे भवन निर्माणका लागि टेण्डर प्रक्रियामा गई सम्झौता भैसकेको अध्यक्ष खत्रीले बताए । जसको काम ५३ लाख ६७ हजारको योजना रहेको छ । वडामा भु तथा जलाधार तुल्सिपुर दाङबाट उपभोक्ता समिति मार्फत डडुवा खोलामा ५३ लाख रकमले तटबन्धन कार्य सम्पन्न भई भुक्तानी भैसकेको अध्यक्ष खत्रीले जानकारी दिए ।

वडा कार्यालय भवन निर्माणको लागि ७८ लाखको योजना परेको छ । जसको लागि टेण्डर भैसकेको छ । वडाको भवन निर्माण केही समयमै सुरु गर्ने तयारी भएको खत्रीको भनाई छ । वडामा आधारभुत स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । ३८ लाखमा स्वास्थ्य केन्द्रको भवन निर्माण भैरहेको छ । वडामा अन्य भौतिक पूर्वाधारहरु बाटो, घाटो, पुल पुलेसा निर्माण कार्य तिव्र रुपमा भैरहेको छ । सरस्वती चोक मन्नापुर सडक खण्ड ४५ लाखमा टेण्डर भएर काम सुरु भएको छ । मन्नापुर सडक खण्ड, झरकट्टी खडक खण्ड ग्राभेल भईसकेको छ । नयाँ वस्ती सडक खण्ड कालोपत्रे गर्न टेण्डर भैसकेको छ । शितलननगरदेखि बाबानगर मन्दिर जाने बाटो कालोपत्रे गर्न दुई टेण्डर परेर काम सुरु भएको छ ।

वडामा साना योजनाहरु पनि भैरहेका छन् । विद्यालयको शौचालय निर्माण भएको छ भने विभिन्न स्थानमा सडकखण्डका बाटाहरु ग्राभेल हुने कार्य धमाधम भैरहेको छ । यता लक्षित वर्गका कार्यक्रमहरु पनि तिव्रताका साथ भैरहेको छ । वडामा बाख्रा पालनको लागि ८ घर धुरीलाई खोर व्यवस्थापन गरिएको छ । वडामा रहेका आर्थिक अवस्थाले कमजोर भएका विपन्न १६ परिवारलाई १/१ वटा बाख्रा वितरण गरिने भएको छ । कोरोना भाईरसका कारण लक्षित वर्गको कार्यक्रमहरु जति हुनु पर्ने हो त्यति भएको छैन । लक्षित वर्गका लागि विनियोजन भएको बजेट कोरोना नियन्त्रणमा नै खर्च भएको अध्यक्ष खत्रीले बताए । वडा मार्फत विद्यालयमा ल्याब, कम्प्युटर तथा पुस्तकालयको व्यवस्था गरिएको छ ।

वडामा खानेपानीको लागि पहल भैरहेको छ । वडामा खानेपानी विस्तारका लागि करिब ४ किलोमिटर पाईप विस्तार भैसकेको छ । कोहलपुर नगरपालिकाको रिङ रोड पनि यसै वडाबाट सुरुवात हुँदैछ । वडाको विकासमा जनतालाई प्रत्यक्ष सहभागी गराई अघि बढ्ने वडा कार्यालयले जनाएको छ । आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारको अवस्था सुधारमा पनि वडाले ध्यान दिने गरेको छ । यो वर्षको लक्ष्य अनुसार ५ किलोमिटर विद्युतिकरणको लाईन विस्तार गरिएको छ । वडामा अब ३ किलोमिटर बाँकी रहेको छ ।

वडामा कतै सामान्य बाटो मात्र पुगेको थियो भने कतिपय ठाउँमा ग्राभेल हालेर छोडेको थियो । त्यस वडाका नागरिकहरुले नाली नहुँदा विभिन्न समस्या भोग्दै आएका थिए । तर वडा नम्बर ८ को सडक निर्माण भएको वर्षौ भईसक्यो नाली निर्माणको भने कुनै अत्तोपत्तो थिएन । सडक निमार्ण गरेर सुचारु भईसक्दा पनि ढल निकासको लागि उचित व्यवस्था हुन सकेको थिएन । घर–घरबाट निस्केको फोहर तथा पानीको उचित निकास नहुँदा टोल भरी नै दुर्गन्ध फैलिएको स्थानीयले बताए । पानी बाटोमा आउने गरेकाले आवतजावतमा पनि समस्या हुने गरेको थियो । नाली निर्माण नहुँदा टोलबाट निस्केको फोहोर पानीको उचित निकास नहुँदा पानी सडकमै बग्ने गरेको थियो । तर अहिले भने वडाका ग्रामिण सडकहरुमा नाली तथा माटो कटान, नाली निर्माणका कार्यहरु धमाधम भैरहेका छन् । वडाले उपभोक्ता समिति मार्फत नाली निर्माण गरिरहेको छ । सानु डुडुवा कर्मागत नाली निर्माण समिति मार्फत सडकको नाली निर्माण काम भैरहेको समितिका कोषध्यक्ष रत्ना बुढाले बताईन् । उक्त नाली १० लाख बराबरको बजेटबाट निर्माण भैरहेको बुढाको भनाई छ । नाली निर्माण कार्यमा १५ जना महिला तथा पुरुषले काम गरिरहेका छन् । उनीहरुको ज्यालामा समेत फरक गरिएको छैन । समान कामको समान ज्याला पाउनु पर्ने भन्दै उनीहरुलाई समान पैसा दिएको कोषाध्यक्ष बुढाले बताईन् ।

छाना छाउनको लागि वडाले २ लाख रुपैँया बजेट विनियोजन गरेको छ । जसमध्ये ४ वटा घरलाई टिन सहयोग गरेको छ । वडाले छाना छाउनको लागि एउटा घर बराबर ५० हजार छुट्याईएको छ भने १ घरलाई वैकल्पिकमा राखिएको छ ।

५० हजार रकमबाट ४०/४० हजारमा टिन लगाएर प्रत्येक घरबाट १० हजार बचत गरि अर्काे घर पनि छाउने वडाले लक्ष्य लिएको वडा सदस्य जसो चँदाराले बताए । खरको छानो हटाएर टिन लगाउने कार्यक्रम वडा मार्फत गरिने उनले बताए । खर तथा टायलका छाना विस्थापित गरेर टिनको छानो लगाउने वडाले नीति तथा कार्यक्रम बनाएको छ ।

वडामा अव्यवस्थित बसोवास रहेको छ । यसको व्यवस्थापनका लागि वडाले पहल गरिरहेको छ । दलित, तथा दलित महिला, जनजाती, आदीवासी, बालबालिका, अपागंता भएका व्यक्तिहरुको आर्थिक, सामाजिक, तथा सांस्कृतिक विकासको लागि पनि विभिन्न कार्यक्रमहरु भैरहेका छन् । दलित महिला सदस्य ईन्दिरा बुढाथोकी सुनारले वडाका दलित महिलाहरुसँग भेटघाट गर्दै उनीहरुको सवाललाई वडासम्म पुर्याउने गरेकी छिन् । वडाले दलित समुदायको मुख्य समस्याका रूपमा रहेको गरिबी अन्त्यका लागि समावेशी योजना ल्याउने गरेको सुनारले बताईन् । दलित समुदायको सामाजिक, शैक्षिक, स्वास्थ्यको विकासका लागि वडाले पहल गरिरहेको उनको दावी छ । दलित समुदायको मुख्य समस्याका रूपमा रहेको गरिबी अन्त्यका लागि समावेशी आर्थिक विकास जरुरी रहेको भन्दै वडामा विभिन्न सीपमूलक तालिम दिने गरेको सुनारले जानकारी दिईन ।

जनप्रतिनिधि आएपछि वडा नम्बर ८ मा विकासका कामले तिव्रता पाएको छ । स्थानीय निकायमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि छोटो समयमै विकास निर्माणका कामहरु धमाधम भैरहेका छन् । स्थानीय नागरिकले पनि विकासको अनुभूती गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *