कोहलपुर १ मा सुकुम्वासी समस्या प्रमुख चुनौती-घरघडेरी छ,लालपुर्जा छैन

बिधुत्मा रैका,
कोहलपुर, असार २१,

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ मा ठुलो बस्ती छ । वडामा ठूलाठूला घर, भवन धमाधम बन्ने क्रम जारी छ । तर उनीहरुको हातमा लालपुर्जा भने छैन । लालपुर्जा पाउने आशैआशमा घरघडेरी जोड्न पुगेका यहाँका स्थानीयवासीको हातमा अहिलेसम्म पनि लालपुर्जा उपलब्ध हुन नसक्दा निराशा छाएको छ । वर्षाै देखि भोग चलन गर्दै आएका स्थानीयले जग्गाको लालपुर्जा अहिलेसम्म प्राप्त गर्न सकेका छैनन् । त्यहाँका घरधुरी लालपुर्जाविहीन बनेका छन् ।

घरघडेरीलाई व्यक्तिको नाममा उपलब्ध गराउन विभिन्न दलका राजनीतिक नेतृत्वले आशा देखाएको पनि धेरै भैसक्यो तर यहाँका स्थानीयवासीले अहिलेसम्म लालपुर्जा पाउन नसकेको गुनासो गरिरहेका छन् । लालपुर्जा नहुँदा घररघडेरी किनबेचमा समस्या परेको छ । सुकुम्वासी समस्या, अव्यवस्थित बसोबासका लागि राज्यले अधिकार दिए पनि विधि, विधान र ऐनहरु नबन्दा लालपुर्जा उपलब्ध गराउन ढिलाइ भएको वडाध्यक्ष गोपीलाल खनालले बताए । उनी भन्छन्,–‘स्थानीयवासीबाट यस विषयमा धेरै गुनासा आएका छन् तर राज्यबाट पूर्णरूपमा अधिकार नपाउँदा काम गर्न अप्ठ्यारो परेको छ ।’ उनले वडा नम्बर १ मा सुकुम्वासी समस्या प्रमुख समास्याका रुपमा देखा परेको बताए ।

सुकुम्वासी समस्याका कारण कृषी क्षेत्रमा ठुलो असर पुगेको छ । वडामा ऐलानी जग्गा मात्रै रहेको छ । त्यहाँका नागरिकले लामो समयदेखि जग्गा जमिन भोगचलन गर्दै आएपनि लालपुर्जा पाएका छैनन् । लालपुर्जा नहुँदा उनीहरु विभिन्न सेवा सुविधाबाट बञ्चित हुनु परेको छ । ३७ साल देखि बस्ती बसेको वडा नम्बर १ मा सुकुम्वासी समस्या समाधान हुन सकेको छैन । वडामा ९५ प्रतिशत सुकुम्वासी समस्या रहेको छ । सुकुम्वासी समस्या समाधान गर्न आफुने निरन्तर पहल गरिरहेको वडाध्यक्ष खनालले दावी गरे । वडाको अव्यवस्थित समस्या व्यवस्थित पार्न प्रत्येक टोलमा ३ वटा सेक्टर विभाजन गरि ढाटा संकलन भैरहेको छ ।

वडालाई क, ख, र परिवर्तन टोल गरि ३ वटा सेक्टरमा विभाजन गरिएको हो । प्रत्येक मान्छेले कसरी बस्ने, कति क्षेत्रफलमा बस्ने, उनीहरुको कस्तो स्थिती छ, व्यवस्थित अव्यवस्थित बसाई वा सुकुम्वासी हो की होईन भन्ने बारेमा अनुगमन गरिने छ । उनीहरुलाई बोलाई बैठक बसेर उनीहरुका समस्या, चुनौती तथा माग बारे छलफल गरि समाधान गर्न पहल गर्ने, काम, कार्वाही, अनुगमन, निरिक्षण र समन्वय गर्ने वडा कार्यालयले जनाएको छ । वडामा अन्य भौतिक पूर्वाधार विकासले भने तिव्रता पाएको छ । वडाभित्र रहेको ग्रामिण सडकहरु कालोपत्रे गर्ने कार्य सुरु भएको छ ।

लक्षित वर्गका कार्यक्रम अन्तरगत जेष्ठ नागरिकको कार्यक्रम समपन्न भएको छ । गत वर्ष भन्दा यस वर्ष वडामा बजेट कम परेको वडाध्यक्ष खनालले बताए । यस वर्ष ५० प्रतिशत रकम कम परेको उनले बताए । आफनो वडाको विकासका लागि लागिपरेको खनालको दावी छ । वडामा जति सोचेको हो त्यति विकास नभएको उनको तर्क छ । तर विकासलाई दु्रत गतिमा अघि बढाउन आफु लागिपरेको उनले बताए । वडाले शिक्षा, स्वास्थ्यको विकासका लागि विभिन्न योजना मार्फत काम गरिरहेको छ । खेलकुद क्षेत्रको विकासका लागि युवालाई प्रोत्सान गर्ने कार्यक्रम ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *