ससुरा बालाई बिन्ती गर्दै ज्वाइँले पत्र लेखेपछि

आदरणीय हुनेवाला ससुरा ज्यू सादर नमस्कार । यदि संस्कार भएको खण्डमा र गर्न सक्ने अवस्थामा हुनुहुन्छ भने ढोग त उतैबाट गर्नुपर्छ होला, होइन र ? यद्धपि ढोगको सट्टा नमस्कार नै प्रचलनमा छ आजभोलि ।

विशेष गरि नलेखी नहुने त केही पनि थिएन ससुरा बा, तथापि हजुरको घरमा हुर्किरहेकी छोरी र यता छिप्पिँदै गइरहेको मेरो परिपक्व अवस्थाको औपचारिक बोध गराउनका निमित्त नै केही लेख्ने कोशिस गरिरहेको छु । आशा छ यसलाई अन्यथा लिइदिनुहुने छैन ।

ससुरा बा कत्तिको जानकार हुनुहुन्छ कुन्नि २०६८ सालको राष्ट्रिय जनगणनानुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय रहेको बताइएको छ । जसअन्तर्गत पुरुषको संख्या ४८ दशमलव ५० र महिलाको जनसंख्या ५१ दशमलव ५० रहेको तथ्याङ्कमा छर्लङ्ग छ । तर अहिले २०७१ पनि उत्तरार्धमा परिक्रमित छ । यति भनिरहँदा अब पनि सप्रसङ्ग ब्याख्या गरिरहनु नपर्ला सायद ।

कहिलेकाँही साथीभाइहरुले भन्ने गरेको सम्झन्छु । उनीहरु भन्दथे– नेपालको वर्तमान परिप्रेक्ष्यमा केटाहरुलाई दुई–दुईवटा केटी बिहे गरेपनि पुग्नेछ । फालाफाल छन् केटीहरु । तर मैले न दुइवटी बिहे गर्ने सोच बनाएको छु न कसैका छोरी कसैलाइ घाँडा र सस्ता भएको अनुमान लगाउन सक्छु । बरु सबैप्रति उत्तिकै सम्मानजनक दृष्टि रहिरहनेछ मेरो ।

ससुरा बा, म एक गरिब खानदानमा गरिबीले पुल्पुलिएको जन्तु हुँ । माफ गर्नुहोला, यहाँनेर मैले आँफैलाई मान्छे सम्बोधन गर्न सक्दिन । यसर्थमा कि– मलाई मान्छे र गरिबी बिल्कुल भिन्न भिन्न कुरा हुन् भन्ने आभाष हुँदै गइरहेको छ आजभोलि । तर धनको गरिब भएपनि सबैभन्दा धनी म नै छु मनको । काश, मसँग पनि धन हुँदो हो त हजुरलाई स्वतः थाहा हुने थियो होला ।
उसो त अभावको थाङ्नोमा सुतेर दुःखको सिरक खाप्दै हुर्के बढेको हुँ म । मकैका ठेला चबाउँदा दुःखका ढुङ्गाहरुले धेरैपटक दाँत बिच्किएका छन् । आकाशलाई छानो र धर्तीलाई सिरानी बनाएर जीवनको चौरास्तामा मगन्ते भेषमा लडिरहेको भेटिएको छु कतिपटक । यस्तो हजुरले नै दया गर्नुपर्ने अवस्थासँग साझेदारी गरिरहेको म हजुरकै छोरीप्रति आकर्षित बन्नु ठूलै गल्ति त होला तर प्रकृतिको नियम विपरित भने अवश्य होइन ।

बा, नेपालमा गतिलो जागिर खान पढ्नुभन्दा धेरै नातावाद, कृपावाददेखि उपल्लो तहसम्मको उठबस आदि इत्यादी हुनुपर्छ भन्ने कुरा हजुरले पनि भोग्नुभएकै छ । जुनकुरा मेरो हकमा ‘जूनको रोटी’ खाने सपना सिवाय केही हुन सक्दैनन् । बरु सरकारी जागिर खाएर वाक्क हुँदा यदाकदा हजुर नै भन्नु हुँदो हो— जागिर गरेर मान्छे उँभो लाग्दैन । झन् सरकारी जागिर त खाने नै होइन । त्यसमाथि अलिअलि बाहिरबाट आउने बाटो नभए त काल मर्नु नै हुन्छ, यस्तै यस्तै ।

ससुरा बा, यी र यस्तै व्यवधानको विकल्पमा दैनिक म जस्ता हजारौँको संख्यामा युवाहरु राज्यको अनुदान स्वरुप प्राप्त गरेको हरियो पासपोर्ट च्पापी विदेशीने क्रम बाक्लिँदो छ । यसमा पनि खाडी देशहरु प्रमुखतः छन् । हजुर पनि एक सरकारी कर्मचारी भएको नाताले अरब पसेकाको कर्म र दुःख त देख्न सक्नुहुन्न । तर अरब पसेकालाई छोरी दिँदिन कदापी नभन्नुहोला । यसर्थमा कि— उनै विदेशीएका युवाहरुले पठाएको रेमिट्यान्सको वर्गिकरण हुँदा अपरोक्ष रुपमा प्रत्येक महिना हजुरसामु आइपुग्छ । जसलाई ‘तलब’ भन्नुहुन्छ क्यारे हजुर ।

बा, अरबमा पसिना बगाएर जीवनका शालिग्राम पलाख्नेहरु जस्ता सच्चा भक्त अरु कोही हुन सक्दैनन् । किनकी जहिल्यै संवेदनशील, लगनशील र इमान्दार बन्न जानेका हुन्छन् अरबमा घन घोटि बञ्चरो गर्नेहरु । उनीहरु दुःखसँग घाम जून झैँ छर्लङ्ग भइसकेका हुन्छन् । आफू बाँच्न कम र अरुलाई बचाउनुपर्ने ज्यादा अभिभारा उनीको काँधमा लिङ्गे पिङ् सरह मच्चिरहेको हुन्छ ।

सबै उस्तै सिर्जनशील हुन्छन् । घर–परिवार सम्झन्छन् । छाडा संस्कृतिको विकास हुन गाह्रो पर्छ । संयमीत, दीर्घचिन्तक र बुझकी हुन्छन् अझ । अपवादमा त नेपालमा पनि श्रीमतीहरु परपुरुषसँग लागेका, सम्बन्ध बिच्छेद गरेका उदाहरणहरु छन् । जस्तो पुरुषहरु पनि वर्षौसम्म घर नफर्किने, पैसा नपठाउने गरिरहकै हुँन्छन् । तर सबैका सबै भने होइनन् । एकाध चामलका बियाको अनुपातमा ।

मलाई थाहा छ बा, कसैगरीर म हजुरको ज्वाँइ बन्न योग्य छैन । जबकी आफ्नी छोरीलाई पढे लेखेको ठाउँमा दिन खोजिरहनु भएको होला । सायद ब्याङ्ककर, इन्जिनियर अथवा सरकारी क्षेत्रका अधिकृत हजुरको आँखामा बसेका पनि होलान् । वा कतै युरोप अमेरिकातिरको ग्रीन कार्ड होल्डर या अष्ट्रेलिया पोर्चुगल र हङकङतिरका पीआरवालासँग सम्बन्ध स्थापनाको निम्ति हातहरु अग्रसर बने होलान्, बनेनन् म पनि भन्दिन । तर मलाई यतिबेला सोध्न मन लागेको कुरा, हजुरको छोरी आत्मिक सम्बन्धले पाल्छ या जगरहित भौतिक पूर्वाधारहरुले ?

ससुरा बा, समयको गति घडीको सुइलाई निःशब्द र स्तब्ध पारेर रोकिनेवाला छैन । मान्छेहरुको मन हस्तलिखित चारित्रिक प्रमाणपत्र हेरेर यकिन गर्नसक्ने अवस्था पनि रहेन अब । यदि आजपर्यन्त पनि यी र यस्ता कुरामा विश्वस्त हुनसक्नुहुन्छ भने हजुर निकै ठूलो भ्रममा हुनुहुन्छ भन्ने कुरा अकाट्य सत्य सावित हुन जानेछ ।

ससुरा बा, आजको समयमा पनि जाँड, रक्सी, चुरोट वा कुनै अम्मल नगर्ने ठिटा मान्छे हुँदैन भन्दा हजुरलाई विश्वास नलाग्न सक्छ । किनकी पछिल्लो समयमा दोस्रो पुस्ता यसको शिकार बनिरहेका उदाहरण औँलामा गन्न नसकिने भइसकेका छन् । तर सयौँमा म एक नै हुँला, जो यी वस्तुको नशा त परै जाओस् स्वादको समेत जानकारी छैन ।

खासमा मसँग चल सम्पत्ति केही पनि छैन । छैन भनुँ भने धेरै कुरा छ । जस्तो मै हुनु पनि मेरो लागि चानचुने कुरा होइन । अनि खानपुग्ने खेतीयोग्य जमीन छ । अलिकति भुलभुले घाँस पलाउने खरबारी छ । गोठमा एक हल गोरु र एउटा दुहुनु भैँसी कहिल्यै टुट्दैन । एक–दुइ बाख्रा बाख्री पनि छन् । तर दुःख अवश्य गर्नुपर्छ । एकपटक छोरीलाई सोधिहेर्नु बा– गाउँमा जान मान्छिन् कि मान्दैनन् । र आधा निर्णयको भागीदार हजुर पनि हो छोरीको हात दिने वा नदिने भन्ने कुरामा ।

जीवनमा सबैभन्दा ठूलो धोको थियो पीएचडी गरेर नामको अगाडि डाक्टर लेख्ने । तर खै किन हो पढ्नै सकिन । अझ भनाँै पढिन । आजभोलि मैले पढेर एकत्रित गरेका प्रमाणपत्रहरुको पनि कुनै प्रयोजन छ जस्तो लाग्दैन । घरिघरी त लाग्छ एक लप्का बाँसका सुप्ता झैं बालेर आगो तापुँ यो चिसोमा ।

तर उतिखेरै के लाग्छ भनेनी ससुरा बा, यदि म अहिले एक कक्षामा भर्ना भएर पुनः पढ्न आरम्भ गरेँ भने एसएलसी सम्म फेल नहुने पक्का छ । अँ बा, यसपालिदेखि त सरकारले पनि शिक्षामा नयाँ नीति ल्याएको कुरासँग बेखबर पक्कै हुनुहुन्न होला । सरकारले त एसएलसीमा समेत कसैलाई फेल गराउँदैन रे । यसर्थ पनि फेल नहुने ग्यारेण्टी हो मेरो ।

अन्त्यमा ससुरा बा, अन्तिम निर्णायक भनेको हजुर नै हो । भन्नुपर्ने मोटामोटी कुराहरु माथि नै उल्लेख गरिसकेको छु मैले । अरुले झैँ झुटा आश्वासन दिन त म जान्दिन । तर यति जरुर भन्छु— हजुरकी छोरीलाई आधारभूत आवश्यकताका लागि दुःख यसै नहोला । घरायसी काममा म हुँदा तमासा हेरिबस्न पक्कै सक्दिन, बरु सघाइलाउनेछु ।

सन्तान उत्पादनको विषयमा अनावश्यक इच्छा विपरित केही कुकृत्य गर्नेछैन । सकभर ती कोमल परेलीका डिलबाट आँसुको समाहा चल्न दिनेछैन । यदाकदा चल्ने नै भएपनि आफ्नै हातले पुछिलाउनेछु । र हजुरकी छोरीलाई म स्वयं रित्तिएर पनि अगाध माया–प्रेम दिइरहनेछु । कहिलेकाँही एकान्तमा हराउन मन लाग्दा ‘माया’ कै एउटा छुट्टै संसार बनाइदिनेछु । बस्, अगाडि हजुरको जो इच्छा ।

उही अविवाहित ज्वाँइ

-मीनराज वसन्त- https://www.facebook.com/meenraj.basanta

Leave a Reply

Your email address will not be published. Required fields are marked *