एमसीसीको विरोध गर्दै कोहलपुरका युवाहरु

कोहलपुर, १३ असार,

मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोध गर्दै कोहलपुरका युवाहरु सडकमा उत्रिएका छन् । शनिबार साँझ कोहलपुरको न्यूरोडमा एमसीसी सम्झौता संसदबाट पास गर्न नहुने भन्दै विरोध प्रदर्शन गरिएको छ ।

एमसीसी सम्झौता नेपालीको हितमा नरहेको तथा यसले राष्ट्रिय स्वाधिनता र स्वाभिमानमा आँच पुराउने भन्दै युवाहरु विरोध प्रर्दशनमा उत्रिएका हुन् । एमसीसीले नेपालको पानीमाथि साम्राज्यवादी हस्तक्षेप निम्त्याउने भएकाले आफूहरुले यसको विरोध स्वरुप प्रर्दशन गरिएको युवा नेता राजेन्द« विष्टले इआवाजलाई बताए । उनले भने,–‘लक्ष्मणपुर बाँध, महाकाली, गण्डक, कोशी, टनकपुर लगायतका सम्झौता हामी नेपालीका लागि घात हो । यस्ता राष्ट्रघाती सम्झौताहरु फेरी हुन नदिन हामीहरु जस्तो सुकै दमन पनि तोड्न तयार छौं । साम्राज्यवादको गुलामी सहनभन्दा राज्यको दमन सहन हामीहरु तयार छौं ।’ उनले आफूहरु सत्तारुढ दलकै भए पनि नेपालीको हितमा नभएको एमसीसीको विरोध स्वरुप यस्ता कार्यक्रमहरु जारी राख्ने बताएका छन् ।

एमसीसी सम्झौताले बनाउने अन्तरदेशीय प्रसारण लाइनको गुरुयोजना सन् २०११–२०१७ मा बनेको र जतिबेला दैनिक १८ घण्टा लोडसेडिङ हुने गरेको थियो । त्यस्तो अवस्थामा नेपालको बिजुली भारतलाई बेच्ने योजना नै गतल रहेको भन्दै आफूहरु विरोधमा उत्रिएको विष्टले बताए ।

विरोध कार्यक्रममा शैक्षिक अभियन्ता एस बी बुढा, विद्यार्थी नेता लक्ष्मण मानव, सरोज शाही लगायतले एमसीसी सम्झौताले भविष्यमा नेपालीहरुलाई अन्धकारको बाटोमा डोराउने बताए । कार्यक्रममा युवा नेता गीता शाही, विपिन शाही, विद्यार्थी नेता महेश बस्नेत, संजय के.सी. लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *