सार्क राष्ट्रहरुमा चिनको प्रभाव बढ्दो, भारत चिन्तामा

१२ पौष, २०७४
नयाँ दिल्ली : सार्क राष्ट्रमा शक्तिशाली मानिएको भारत अन्ततः सार्कका सबै सदस्य राष्ट्रमा बढ्दो चिनियाँ प्रभावले चिन्तित हुन थालेको छ । पछिल्लो समय भारतको एकमात्र विश्वासिलो मित्र राष्ट्र मानिएको अफगानिस्तानमा समेत पछिल्लो समय चिनियाँ प्रभाव बढेको छ ।

यसअघि नेपाल, माल्दिभ्स, श्रीलंका, बंगलादेशमा चीनले आफ्नो प्रभाव बढाइसकेको छ । सार्क सदस्य राष्ट्रमध्ये भुटानबाहेक कुनै पनि राष्ट्रमा अहिले भारतको खास प्रभाव देखिदैंन ।

मधेस आन्दोलन र नाकाबन्दीका कारण नेपालसँग चिसिएको सम्बन्ध सुधार्नका लागि पछिल्लो समय भारतले केही प्रयास गरे पनि हालै सम्पन्न निर्वाचनमा वामपन्थी गठबन्धनले जित हासिल गरेपछि सशंकित भएको भारतले निकै ढिलो गरी नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई बधाइ दिएको थियो ।

पाकिस्तानसँग भारतको सामरिक प्रतिश्पर्धा चलिरहँदा पाकिस्तानलाई प्रत्यक्ष रुपमा चीनले सघाउँदै आएको छ भने चीन–पाकिस्तान आर्थिक करिडोर (सीपीइसी)लाई अफगानिस्तानसम्म विस्तार गर्ने चिनियाँ योजनाले भारतमा चिन्ता थपिएको छ । अफगानिस्तानमा भारत र अमेरिकाले ठूलो लगानी गर्दै आएका छन् ।

चीन र अफगानिस्तानबीच सम्बन्ध सुधारका लागि समेत चीनले पहल गरेको छ । हालै चीन, पाकिस्तान र अफगानिस्तानका विदेशमन्त्रीहरुबीच बेइजिङमा भेटवार्ता भएको छ । भेटवार्ता निकै सौहर्दपूर्ण रहेको बताइएको छ ।

अफगानिस्तानबाट अमेरिकी सेना पूर्ण रुपमा फिर्ता भइसकेपछि त्यहाँको आर्थिक विकासमा चीनले सघाउने योजना बनाएको छ । सोही योजनाअनुसार चीन–पाकिस्तान आर्थिक करिडोरलाई अफगानिस्तानसम्म विस्तार गर्ने प्रस्ताव अघि सारिएको हो । तर यसमा अफगानिस्तानले स्वीकृति जनाउन बाँकी छ । अफगानिस्तानले यो प्रस्ताव स्वीकार गरेमा भारतलाई ठूलो धक्का लाग्ने भारतीय विश्लेषक बताउँछन् ।

यसअघि सार्क सदस्य राष्ट्र माल्दिभ्सले चीनसँग मुक्त व्यापार सम्झौता गरेर भारतलाई धक्का दिइसकेको छ । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *