ईपीएल क्रिकेट : भैरहवालाई ८ विकेट हराउँदै विराटनगर फाइनलमा

१२ पौष, २०७४
काठमाडौं : विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग ईपिएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो क्वालिफायरमा भैरहवा ग्लार्डियटर्समाथि ८ विकेटको जित हात पार्दै विराटनगर उपाधि नजिक पुगेको हो ।

फाइनल प्रवेशका लागि भैरहवाले दिएको १ सय २८ रनको लक्ष्य विराटनगरले १७ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो । उसले पहिलो विकेट भने सुरुमै गुमाएको थियो । टोलिले एक रन जोड्दा ओपनर आसिफ शेख शुन्यमै आउट भए ।

तर, बाबर हायात र अंशुमान राठले पारी सम्हाले । अंशुमानसँग दोस्रो विकेटका लागि ७१ रनको साझेदारी गरेर म्यान अफ दि म्याच बाबर व्यक्तिगत ६२ रन बनाएर आउट भए ।

त्यसपछि कप्तान पारस र अंशुमानले टिमलाई जिताए । पारस ४२ रनमा र अंशुमान २६ रनमा अविजित रहे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो । उसका सुरुवात निकै खराब थियो । २७ रन जोड्दा चार विकेट गुमाएको भैरहवाको पारी आरिफ शेख र पुनित मिश्रले सम्हाले ।

दुबैले पाँचौं विकेटका लागि ८२ रनको साझेदारी गरे । आरिफ ४६ रनमा आउट भए । सातौं विकेटका रुपमा आउट हुनु अघि पुनितले ४९ रन बनाए । भैरहवाका अन्य ब्याट्सम्यान चल्न सकेनन् । कप्तान शरद भेषावाकर समेत ७ रनमा आउट भए ।

यो जितसँगै पारस खड्काको कप्तानीमा रहेको विराटनगरले फाईनलमा स्थान सुरक्षित गर्दा पराजित टोली शरद भेषावकरको भैरहवाले दोस्रो क्वालीफायर खेल्नुपर्ने भएको छ ।

 

भैरहवाले अब ललितपूर प्याट्रिएट्स र पोखरा राईनोजबिचको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्नेछ । आजै ललितपूर र पोखराबिच इलिमिनेटर खेल हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *