डाक्टरहरुलाई कार्वाही गर

कोहलपुर, चैत्र २७,

कविता
शीर्षक–डाक्टरहरुलाई कार्वाही गर

डा. देवेन्द्र आचार्य

ओ सरकार !
कार्वाही गर मलाई
तिम्रो नजरमा म पनि एक अपराधी हुँ ।

मैले गरेका अपराधहरुका शृङ्खला हेर्छौ भने
-अस्ती भर्खरै जन्मिएको बच्चाको कोषमा
मैले चढाएको रगत बगिरहेको छ ।
र यस्ता धेरै बच्चाहरु हुर्किदैँ, खेल्दै होलान् ।

-कुनै घटनाबाट बिक्षिप्त आलो रगतको घोलमा
मेरै हातले लगाएको हो टाँका ।
यस्ता धेरैका टाँकाहरु पुरिसकेका होलान् ।

-अब मर्छु, मर्छु भन्दै मर्न नसकेर छटपटाएको एक वृद्ध,
मैले नै हो उसको मुटुको चाल हेरेर
‘बा तपाई त अझै बाँच्नु हुन्छ’ भन्दै घर फर्काएको
यस्ता धेरै वृद्धहरु अझै बाँच्ने आशमा अस्पतालबाट घर फर्किएका छन् ।

यी र यस्ता
कैंयन उदाहरणहरु छन् मेरा अपराधका

तिम्रो नजरमा एक अपराधी भए पनि
मेरो समयको म एक सिपाही हुँ
मेरा पनि छन्
-ईच्छा
-चाहना
र सपनाहरू ।

मेरा पनि छन् आफन्तहरु
र छ एउटा घर जस्तो घर
जो, म जन्मिएदेखी रोगले ग्रस्त छ

सरकार,
तिमीले जस्तै निर्णयहरु गर्ने रहर मलाई पनि छ
पैसा कमाउँ
आलिसान महल रोजुँ
पैतालामा धुलो नलाग्ने गरि मोटर चढुँ
र मन नलागे खारेजी गरिदिउँ कसैको प्रमाणपत्र

तर के गर्नु
मैले यी सब रहरहरुलाई तिलान्जली दिएको छु

सम्झिन्छु, पैलोपल्ट
सेतो ऎप्रोन र आलामा उभिदाँ
मलाई बाले भनेथें
बाबू यो देशमा म जस्तै रोगीहरु छन्
तँ तिनीहरूको भगवान बन्नु ।

मैले त्यसदिन देखी खाएको हुँ बिरामी बचाउने र दुर्गम जाने कसम

पैलोपल्ट,
मैले आमालाई ओखती दिएर
प्रयोग गरेको हुँ आफ्नो शिक्षा
त्यसपछि उनको ब्रमाण्ड जत्रो आशिषले
मलाई धेरै मान्छेहरुको सेवा गर्न उक्साइरहन्छ

संसार लकडाउन हुँदा
संसार देख्ने आँखा खोल्दै गरेको छोरोसँग
न त मैले धित मरुन्जेल आँखा जुधाउन पाएको छु
न त मलाई सम्हाल्न सकेको छु ।

रोगीहरुको उपचारपछि कोठा त पुगेको छु
तर आफै सुरक्षित महशुस गर्न सकिरहेको छैन

कैयौंपल्ट लाग्छ,
अरुको उपचार गर्दागर्दै आफै सकिन्छु कि !

सरकार,
सबैभन्दा दु:खको कुरा
म एक डाक्टर
मर्दा, पर्दा रातदिन
घरबेटी र उसका आफन्तहरुलाई
पालैपालो अस्पतालसम्म ओसारे
आज उसैले एउटा भाइरसको आतंकले भन्यो-“भाइ कोठा खाली गरिदिनु पर्‍यो”

त्यो बेला दुख्ने रहेछ
दुख्न बाँकी रहेको मन

सरकार याद गर,
तिमीले बनाएको फितलो स्वास्थ्य नीति
र अभावग्रस्त स्वास्थ्य सामाग्रीले उपचार गर्दैछौं हामी

के तिमीलाई थाहा छ ?
कुनै एउटा सानो संक्रमणको पहिलो शिकार
ज्यान बचाउने स्वास्थ्यकर्मी नै हुन्छ भन्ने

तर तिमी आज हाम्रै सर्टिफिकेट र लाइसेन्स खारेजीको तयारी गर्दैछौं ।

अरु जस्तै
ज्यानको माया हामीलाई पनि छ
तैपनि हामी बचाउने कर्ममा लागिरहेका छौं

ज्यान मार्नेभन्दा ज्यान बचाउने अपराधी हुने तिम्रो राज्यमा,
म पनि स्वीकार गरिदिउँला तिमीले लगाएको अपराध
ठिकै छ म पनि हाँसी-हाँसी बलिमा चढिदिउँला

तर सरकार
मेरा सन्तानले
मैले गरेको अपराधबारे कुनै दिन प्रश्न गरे भने
-के तिमीसँग जवाफ छ ?

डा.देवेन्द्र आचार्य
इमर्जेन्सी विभाग, नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुर, बाँके

Leave a Reply

Your email address will not be published. Required fields are marked *