कोरोनाको जाँच विस्तार गर्ने तयारी

कोहलपुर, चैत्र १२,

नोबेल कोरोना भाइरस अर्थात् कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिरहेका बेला नेपालमा पनि यसको विषयमा धेरै खालको जिज्ञासा नागरिकमा छ ।

विशेषतः नेपालमा यसको जाँच र प्राप्त नतिजाका विषयमा धेरैले प्रश्न सोधिरहेका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का अनुसार, हाल नेपालमा कोभिड–१९ को जाँच हुने एक मात्रै प्रयोगशाला, केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले गरेको कोरोना भाइरसको परीक्षण विश्वसनीय छ । नेपालमा कोरोना भाइरसको परीक्षण निःशुल्क भइरहेको छ ।

यो जाँच गराएवापत् पैसा तिर्नुपर्दैन । ज्वरो आउने, खोकी लाग्ने र श्वास फेर्न गाह्रो हुने लक्षण देखिएर, कोरोनाको आशंकामा काठमाडौँ बाहिरका अस्पताल पुगेका बिरामीको नमूना सङ्कलन गरी काठमाडौँ पठाउने गरिएको छ । नमूना सङ्कलन गरी काठमाडौँ पठाउने काम सम्बन्धित अस्पतालहरूले नै गरिरहेका छन् ।

जाँचको करिब ८ घण्टापछि रिपोर्ट आउने भए पनि पुनःजाँचका विभिन्न प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले करिब २ दिनपछि मात्रै रिपोर्ट आउने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताउनुभयो । हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दैनिक सय नमूना जाँच भइरहेको छ । सबै मेशिन प्रयोगमा ल्याए सातामा ४ हजार नमूना परीक्षण गर्न सकिने प्रयोशालाको क्षमता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *