‘कोरोना लाग्यो भन्दैमा आत्तिनु पर्दैन’-डा.देवेन्द्र आचार्य

कोहलपुर, चैत्र १०,

अहिले विश्वभरी महामारीको रुपमा देखा परेको कोरोना भनेको श्वासप्रश्वाससँग सम्बन्धित रोग हो । जुन भर्खरै मात्र पत्ता लागेको कोरोना भाइरसबाट मानिसमा यो रोग सर्दछ । कोरोना भाइरस एक किसिमको किटाणु भाइरस हो । जुन भाइरसले मुलत मानिसको श्वासप्रश्वास प्रणालीमा सजिलै आक्रमण गर्ने गर्दछ । विश्वमा फैलिएका (SERS) अर्थात सिभियर रेस्पीरेटरी सिन्डोम र (MERS) मिडल इस्ट रेस्पिरेटरी सिन्डोम र अहिलेको नोबेल कोरोना भाइरस (COVID-19) एउटै समुह कोरोना अन्तर्गत पर्ने भाइरसहरु हुन् ।

चीनको हुबेई प्रान्तको वुहान शहरमा पहिलो पल्ट सन् २०१९ डिसेम्बर १८ देखि २९ सम्ममा ५ जना बिरामीबाट देखा परेको यो रोगले पछिल्लो समय महामारीको रुपमा विश्वभर नै विकसित भएर लाखौँ जनामा संक्रमित भएको छ । यो रोगले नयाँ लक्ष्यणहरु लिएर नयाँ तरिकाले विश्वमा प्रवेश गरेकाले विश्व स्वास्थ संगठनले फेब्रुवरी ११,२०१९ मा (COVID-19) भनेर यो रोगको नामाकरण गरियो ।

मानिसमा यो रोग कसरी सर्दछ

यो रोग विशेष गरेर समुन्द्री परिकारहरुबाट मानिसमा सरेको भनेर अनुमान गरिएको छ । त्यसका साथै भिजेका जनावरहरुको मासुबाट र दुईवटा सर्पको मासु मिसाएर खाँदा यो रोग मानिसमा आएको भन्ने अनुमान पनि गरिएको छ । अध्ययनको क्रममा कोरोना भाइरस र चीनको वुहान शहरका दुईवटा चमेराको जीन एकआपसमा मिलेको पनि पाईएको छ । यो रोग एक मानिसबाट अर्को मानिसमा श्वासप्रश्वास र हावाका माध्यमद्धारा सहजै सर्ने गर्दछ । यो भाइरस हाम्रो शरीरको अन्य भागमा भन्दा फोक्सोमा सजिलै संक्रमण हुने गर्दछ ।

–संक्रमित मानिससँग व्यक्तिगत तबर, शारीरिक रुपमा नजिकिएमा ।
–संक्रमित व्यक्तिसँग कम्तिमा १५ मिनेटसम्म २ मिटरको दूरी बनाएर बसेमा ।
–संक्रमित व्यक्तिले खुल्ला वातावरणमा खोकेमा ।
–संक्रमित व्यक्तिले खुल्ला वातावरणमा हाच्छिउँ गरेमा ।
–संक्रमित वस्तु वा चीजलाई नाक, मुख र आँखासँग छोइएमा ।

कोरोना भाइरसका मुख्य लक्षणहरु

मुलतः यो रोग मानिसमा प्रवेश गरेको ५ दिनबाट लक्षणहरु देखा पर्ने गर्दछन् । यो रोग मानिसमा प्रवेश गरेको छैठौँ दिनदेखि ४१ औँ दिनसम्म विकसित हुँदै गएमा र सावधानी नअपनाएमा अन्त्यमा मानिसको मृत्यु समेत हुने गर्दछ । विशेष गरेर रोगसँग लड्ने क्षमताको कमि हुनाले यो रोग वृद्धवृद्धा र बालबालिकाहरुमा छिटो लाग्ने गर्दछ ।

डा. देवेन्द्र आचार्य
नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल
कोहलपुर, बाँके

–कम्तिमा १०३ डिग्रीसम्म ज्वँरो आउनु ।
–थकान महशुस हुनु ।
–शरीर दुख्नु, भारी हुनु ।
–सुख्खा खोकी लाग्नु ।
–खोक्दा खकार निस्कनु ।
–खकारमा रगत देखिनु ।
–नाक बुजिनु ।
–नाकबाट सिगान बगिरहनु ।
–घाँटी दुख्नु ।
–स्वास फेर्न गाह्रो हुनु ।
–टाउको दुख्नु ।
–कसैकसैलाई पखला पनि लाग्नु ।

यस्ता लक्षणहरु कम्तिमा पनि ५ देखि १० दिनसम्म लगातार देखियो भने बिरामीलाई कोरोना भाइरसको संक्रमण भएको आशंका गर्न सकिन्छ । यस्ता लक्षणहरु देखिएमा नजिकैको स्वास्थ संस्था अथवा आफूबाट अरुलाई नसरोस् भनि घरमै अलग्गै (होम कोरेन्टाइनमा) बसेर व्यक्तिगत सरसफाइमा तथा खानपानमा ध्यान दिनु पर्दछ ।

कोरोना भाइसरबाट आफू कसरी बच्ने र अरुलाई कसरी बचाउने

–आफ्नो हात नियमित रुपमा साबुन पानी तथा अल्कोहल मिसिएको सेनिटाइजरले धुने, जसले हातमा भएको भाइरसलाई मार्दछ ।
–आफू र लक्षणहरु देखिएको व्यक्तिको बीचमा कम्तिमा पनि १ मिटरको दूरि बनाउने ।
–आफ्नो हातले जथाभावी मुख, नाक र आँखालाई नचलाउने ।
–घरबाट बाहिर निस्कदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने ।
–खोक्दा वा हाच्छिउँ गर्दा अनिवार्य रुपमा मु्खलाई रुमाल अथवा हातले छोप्ने ।
–अनावश्यक रुपमा घरभन्दा बाहिर ननिस्कने ।
–आफू अथवा घरपरिवार कसैलाई यो रोगको लक्षणहरु देखिएमा घरमै सेल्फ कोरेन्टाइनमा बस्ने ।
आफू र आफ्नो समुदायका मानिसहरुलाई कोरोना भाइरसबारेमा सचेत गराउने ।
–समूह या भीडभाडमा नजाने ।
–जनावरहरुको प्रत्यक्ष सम्पर्कमा नरहने ।
–खाना वा माछामासु खाँदा एकदमै पखालेर वा उमालेर मात्रै खाने ।
–रोगबारे सावधानी अपनाउँ, आफू बचौँ र अरुलाई पनि बचाऔं ।

कोरोना भाइसरको उपचार बारेमा

कोरोना भाइरसको उपचार हालसम्म पत्ता लागेको छैन । हालसम्म यो रोग चिकित्सकहरुको अनुसन्धानकै क्रममा रहेको छ । तर, यसको लक्षण अनुसार बिरामीलाई उपचार गरेमा बिरामी निको हुने गर्दछन् । यदि कुनै पनि व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएमा आत्तिहाल्नु पर्ने केहि छैन । हाम्रो मुख्य उद्देश्य भनेको यो भाइरसलाई एक मानिसबाट अर्को मानिसमा संक्रमण हुन नदिनु हो । राम्रो स्याहार र कोरेन्टाइन पाएर उपचार गरेमा बिरामी निको हुनसक्छ । तसर्थ कोरोना विरुद्ध क्रासदीपूर्ण वातावरणमा होइन् डटेर उल्लेखित कुराहरुलाई ध्यानमा राखेर सावधानी अपनाउनु पर्दछ । बाहिर आएका कतिपय हल्लाका पछाडि नलागेर आफ्नो व्यक्तिगत सरसफाई र खानपानमा विशेष ध्यान दिनु नै सबैभन्दा उत्तम उपाय हो । त्यसैले हामी सबै एकजुट भएर यो रोगबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *