हात्ती महोत्सव उद्घाटन गर्दै देउवाले भने : ‘सत्तामा नरहेपनि कांग्रेस सधैँ देश र जनताको पक्षमा रहन्छ'(फोटोसहित)

११ पौष, २०७४
चितवन : प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा संक्रमणकालको अन्त्य गर्नु नै कांग्रेस नेतृत्वको सरकारको सफलता भएको बताउनुभएको छ ।

आज चितवनको सौराहामा आयोजित १४औं चितवन हात्ती महोत्सवको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सत्तामा रहेपनि नरहेपनि देश र जनताको पक्षमा कांग्रेस सधैँ रहीरहने बताउनुभयो । उहाँले पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको अंगको रुपमा लिने बताउनुभयो ।

उहाँले हात्ती महोत्सवले समग्र देशलाई नै अन्तराष्ट्रिय स्तरमा चिनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । यस्तै प्रधानमन्त्री देउवाले नारायणगढ–मुग्लिन सडक खण्ड अहिलेसम्म पनि नबन्दा आफू दुखित भएको भन्दै छिट्टो निर्माण गर्न निर्माण कम्पनीहरुलाई निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा बोल्दै शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले सौराहालाई सुरक्षित बनाउन तटबन्धको जरुरी रहेको औंल्याए ।

यस्तै, क्षेत्रीय होटल संघ चितवन, सौराहाका अध्यक्ष सुमन घिमिरेले नारायणगढ–मुग्लिन सडक खण्ड छिट्टो निर्माण गर्न आग्रह गरे ।

समुद्घाटन समारोहमा हास्यकलाकार मदनकृष्ण श्रेष्ठलगायत विभिन्न संरक्षणकर्मीहरुलाई प्रधानमन्त्री देउवाले सम्मान समेत गर्नुभएको थियो ।
समुद्घाटन समारोह अघि विभिन्न जातजातिको संस्कृति झल्कने झाँकीसहितको र्‍यालीले सौराहा परिक्रमा गरेको थियो ।

समुद्घाटन समारोहमा चितवन क्षेत्र नम्बर १ ख का नवनिर्वाचित प्रदेश सभा सदस्य कृष्ण खनाल, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

क्षेत्रीय होटल संघ चितवन सौराहाले ‘समाज, संरक्षण र समृद्धि ’भन्ने नाराका आयोजना गरेको महोत्सव पुस १५ गतेसम्म चल्नेछ ।

केके हुँदैछ यस पटकको हात्ती महोत्सवमा ?
मूख्य रुपमा हात्ती सफारी र हात्तीका गतिविधि हेर्न मानिसहरु पर्यटकीय नगरी सौराहामा आउने गर्दछन् ।

विगतका वर्षहरुमा भन्दा महोत्सवमा कार्यक्रमहरु परिमार्जित गरिएका छन् । यसवर्ष हात्ती वनभोज कार्यक्रम, हात्ती फाष्टवाक प्रतियोगिता, हात्तीको छावाहरुको फुटबल प्रतियोगिता, हात्ती श्रृंगार प्रतियोगिता महोत्सवको आर्कषणको रुपमा रहेका छन् ।

त्यसैगरी हात्ती पोलो प्रतियोगिता, हात्ती पेन्टीङ प्रतियोगिता, हात्ती बार्थिङ कार्यक्रमका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विविध सांस्कृतिक कार्यक्रम रहेको छ ।

महोत्सवअन्तर्गत हात्ती वनभोज कार्यक्रमसंगै हात्ती फाष्टवाक प्रतियोगितामा २० वटा, छावाहरुको फुटबल प्रतियोगितामा १० वटा, हात्ती श्रृंगार प्रतियोगितामा ५ वटा, हात्ती पोलो प्रतियोगितामा ८ वटा, हात्ती पेन्टीङ प्रतियोगितामा ५ वटा, हात्ती बार्थिङ कार्यक्रममा ५ वटा हात्तीहरुलाई सहभागी गराईने महोत्सवका संयोजक दीपक भट्टराईले जानकारी दिनुभयो ।

हात्ती वनभोजमा १ सय हात्ती सहभागी गराइने महोत्सव संयोजक दीपक भट्टराईले जानकारी दिए । सौराहामा ५७ वटा निजी हात्ती छन्, जसमध्ये ७० प्रतिशत महोत्सवमा सहभागी हुनेछन् । साथै अन्य निकुञ्जका हात्तीहरु पनि सहभागी हुन्छन् ।

यसवर्ष हात्तीको वाथिङ (नुहाउने) कार्यक्रम थपिएको छ । ‘हामीले हात्तीमैत्री खेलहरु मात्रै राखेका छौं, हात्तीलाई कष्ट दिने कुनै उद्देश्य छैन’ संयोजक भट्टराईले भने, ‘छावाको फुटबल, वनभोज कार्यक्रममा हात्ती रमाएको पाउँछौं ।’

महोत्सवमा विभिन्न जातजातिका सांस्कृतीक पहिचान झल्कने स्टलसहित ४० वटा स्टल राखिएको छ । आदीवासी थारु जातिको संस्कृति झल्कने ड्रेस लगाएर फोटो खिच्न मिल्ने व्यवस्था पनि गरिएको क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष घिमिरले जानकारी दिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *