कोहलपुरमा कोरोना भाइरस सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न

कोहलपुर, चैत्र ४,

‘समानताको पुस्ताःअन्त्य गरौं हिंसा, विभेद र असमानता’ भन्ने मूल नारा सहित ११० औं अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा द्वन्द्वपीडित तथा एकल महिला संजाल बाँके र कुर्वेउष्ट्रोको आयोजनामा मंगलबार बाँकेको कोहलपुरमा कोरोना भाइरससम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

पछिल्लो समय कोरोना भाइरसको संक्रमण विश्वभर फैलिँदै गएको र त्यसबाट बच्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको द्वन्द्वपीडित तथा एकल महिला संजाल बाँकेका संस्थापक अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष शोभा बि.सी.ले बताइन् । उनले भनिन्–‘एकल महिलाहरुसँग दुःखको पहाड ठूलो छ । उनीहरुले जेनतेन गुजारामुखी जीवनयापन गर्दै आएका छन् । त्यसमा अहिले विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणको हल्लाले उनीहरुले संचालन गर्दै आएको व्यापार व्यवसायमा धक्का पुगेको छ ।’

कोरोना भाइरसबाट डराइहाल्नु नपर्ने तर सरसफाइमा एकदमै ध्यान पु¥याउन सक्ने हो भने हामी त्यसको संक्रमणबाट सजिलै जोगिने कार्यक्रमका प्रशिक्षक डा.देवेन्द्र आचार्यले बताए । उनले, कोरोना भाइरस अरुबेला हामीलाई सामान्य रुघाखोकी, ज्वरो आए जस्तै देखिए पनि यदि यस्तो अवस्था लगातार एक हप्ताभन्दा बढि समयसम्म देखियो भने लापरबाही नगरेर तुरुन्तै नजिकैको अस्पतालमा जानु पर्ने सल्लाह दिए । डा.आचार्यले यो सामान्य भाइरस भएपनि आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान दिने र बाहिर भिडभाडमा जाँदा मेडिकल तथा अन्य उपलब्ध भएका मास्क लगाउने, साबुन पानीले निरन्तर हातमुख धोइराख्नाले यसबाट बच्न सकिने बताए ।

कार्यक्रमका अर्का प्रशिक्षक तथा रिटर्नी माइग्रेट नेपालका केन्द्रिय संचालक सदस्य तथा बाँके जिल्ला संयोजक हिरादेवी खरालले एकल महिलाहरुले घरपरिवार, आफन्ती तथा समाजबाट हुँदै आएको हिंसासँग डटेर लड्नु पर्ने बताइन् । उनले महिलाअधिकारका लागि सबै महिलाहरु एकजटु भएर लाग्नु पर्ने बताउँदै मानव वेचबिखन मौलाउँदै गएकोमा महिलाहरु विशेष चनाखो हुनु पर्ने र कामदारका रुपमा विदेश जानुअघि सबै कुरा बुझेर जानु पर्ने बताइन् ।

कार्यक्रममा द्वन्द्वपीडित तथा एकल महिला संजाल बाँकेका अध्यक्ष जयन्ती के.सी.ले सबै पीडित एकल महिला दिदीबहिनीहरुलाई कोरोना भाइरसबाट बच्न सरसफाइमा विशेष ध्यान दिनु पर्ने बताइन् । उनले नेपालगंजमा संजालको भवन निर्माणको काम अगाडि बढिरहेकाले सबैलाई आफ्नो ठाउँबाट सक्दो सहयोग गरिदिनु हुन अनुरोध पनि गरिन् । कार्यक्रममा ५० भन्दा बढि द्वन्द्वपीडित तथा एकल महिलाहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *