कोरोना नियन्त्रणका लागि बाँके र बर्दियामा सर्तकता

कोहलपुर, चैत्र ३,

नेपाल–भारत सीमावर्ती क्षेत्रका सुरक्षा अधिकारीहरुको आइतबार बर्दियाको ठाकुरद्वारामा बैठक सम्पन्न भएको छ ।

दुई देश विच भएको समन्वय बैठकमा कोरोना भाइरस नियन्त्रणलाई नै प्रमुख एजेण्डा बनाइ छलफल भएको हो । बैठकमा बढ्दो सीमा अपराध र कोरोनाको सन्त्रास विरुद्ध साझा पहलको प्रतिबद्धता व्यक्त गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले जानकारी दिए ।

प्रजिअ खड्काले नेपाल–भारत सीमावर्ती क्षेत्रका सुरक्षा अधिकारीहरुसँग सीमा अपराध नियन्त्रण र कोरोना संक्रमण विरुद्धको जोखिमलाई आपसी समन्वयमा प्रभावकारी बनाउँदै लैजाने निर्णय भएको बताए । बैठकमा सहभागी सुरक्षा अधिकारीहरुले पछिल्ला चुनौतिहरु विरुद्ध संयुक्त प्रतिरोधको प्रतिबद्धता व्यक्त गरेका हुन् । प्रजिअ खड्काले भने,–द्ुवै देशको समन्वयमा पछिल्ला जोखिमहरु विरुद्ध अझ प्रभावकारी पहल लिने साझा प्रतिबद्धता छ ।’ सीमामा आवतजावत गर्ने व्यक्तिहरुको चेकजाँचका क्रममा शंकास्पद विरामी भेटिए क्वारेन्टाइन वा आइसोलेशन उपचार कक्षमा पठाउने बैठकमा सहमती भएको छ ।

बैठकमा बाँके प्रहरी प्रमुख वीर बहादुर ओलीले नेपालमा अपराध गरेर भारत जाने र त्यहाँ अपराध गरेर नेपालमा आउने जस्ता अपराध कर्म न्यूनीकरणमा दुवै देशका सुरक्षा संयन्त्रहरुको लागि परेको बताए । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस नियन्त्रण गर्न सीमावर्ती क्षेत्रहरुमा यात्रुहरुको चेकजाँच र अनुगमनमा कडाई गरिने बैठकमा छलफल भएको थियो । बैठकमा दुबै देशका अधिकारीहरु बिच सीमावर्ती क्षेत्रहरुमा चेकजाँचमा कडाइ गर्ने सहमती भएको हो । बैठकमा कोरोना भाईरस संक्रमण नियन्त्रण गर्न दुवै देशका अधिकारीहरु सीमाबाट हुने अनावस्यक आवतजावत रोक्ने, सीमामा आवतजावत गर्ने व्यक्तिहरुको प्रभावकारी अनुगमनमा गर्ने सहमत भएका छन् ।

खुला सीमाका कारण हुन सक्ने जोखिमलाई न्यूनिकरण गर्न सीमानामा चेकजाँच, निगरानी र अनुगमनलाई तिव्रता दिँदै ब्यापक प्रचारप्रसार गर्ने सहमती भएको बताइएको छ । बैठकमा प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका जिल्ला प्रमुख, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान, स्वास्थ्य सम्बद्ध अधिकारी लगायतका नेपाली अधिकारीहरुको सहभागिता रहेको थियो । बैठकमा भारत तर्फ सुरक्षा अधिकारीहरुसँगै वन तथा स्वास्थ्यका अधिकारीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *