तातोपानी नाका खुल्ने संकेत, संयुक्त सुरक्षा कार्यालय राख्न चिनको प्रस्ताव

११ पौष, २०७४
सिन्धुपाल्चोक : राजधानी काठमाडौंबाट चीनतर्फको सबैभन्दा छोटो दुरीमा रहेको तातोपानी नाका खुलाउन चीनले ‘ग्रीन सिग्नल’ दिएको छ । नेपाल र चिनियाँ पक्षबीचको संयुक्त सुरक्षा बैठकमा चिनियाँ पक्षले यस्तो संकेत दिएको हो ।

बैठकमा चिनियाँ पक्षले संयुक्त सुरक्षा संयन्त्रको खाका नै प्रस्तुत गरेको छ । ‘ज्वाइन्ट कमाण्ड मेकानिज्म एग्रिमेन्ट’ मार्फत दुवै देशको सीमा सुरक्षामा समान उपस्थिति जनाउने मनसाय चीनले राखेको छ । यसअघि पनि यस्तो संयन्त्रको अभ्यास गरिसकिएको भए पनि यो पटक भने यसको कार्यालय नै सञ्चालन गर्ने योजनामा चिनियाँ पक्ष रहेको छ ।

चीन सरकारले नेलमदेखि खासा र खासादेखि मितेरी पुलसम्मको सडकखण्डलाई दुई चरणमा निर्माण पनि गरिरहेको छ । भूकम्प र बाढीका कारण क्षतिग्रस्त दुवै सडकखण्ड आगामी दुई महिनाभित्र सहज आवागमन हुन सक्नेगरी निर्माण गरिसक्ने योजना सो बैठकमा चिनियाँ पक्षले सुनाएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

‘सो सडकखण्डलाई सन् २०१९ सम्ममा स्तरीय बनाउने योजनाका साथ चीन अगाडी बढिरहेको हामीले जानकारी पायौं,’ तामाङले भने, ‘यो तातोपानी नाका खुल्ने संकेत हो ।’

चीनले सुरक्षाकै कमजोरी देखाएर नाका खुलाउन आनाकानी गरिरहेको भन्ने विभिन्न आशंकाका बीच चिनियाँ पक्षबाट बैठकमै यस्तो प्रस्ताव आएको हो । यदि सुरक्षाको प्रत्याभुति गराउन सकिएमा तातोपानी नाका खुल्नसक्ने प्रजिअ तामाङले बताए ।

चिनियाँ पक्षले नेपालको बाह्रबिसे लगायतका क्षेत्रलाई संकेत गर्दै ती स्थानबाट ‘फ्रि तिब्बत’ अभियानको गतिविधि भइरहेको आरोप लगाएको छ । बैठकमा सहभागी नेपाली टोलीले नेपाल ‘एक चीन’ नीतिमा स्पष्ट रहेको र नेपालमा चीन विरोधी गतीविधि हुन नदिने प्रष्ट पारिएको तामाङले बताए ।

बैठकमा चीन पक्षबाट पोलिटिकल कमिसार कर्णेल वाङ्ग जिन ट्यांग ग्वीको नेतृत्वमा ८ जनाको टोली र नेपाली पक्षबाट जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख अस्मान तामाङ र सुरक्षा निकायका प्रमूखसहित १३ जनाको टोली सहभागी थिए ।

के हो त ‘ज्वाइन्ट कमाण्ड मेकानिज्म एग्रिमेन्ट’ ?

यो सीमा क्षेत्रमा प्रभावकारी सुरक्षा योजना हो । यसमा दुवै मुलुकका सशस्त्र प्रहरीस्तरका सुरक्षाकर्मी परिचालित हुनेछन् । दुवै मुलुकका प्रहरी उपरीक्षक, प्रहरी नायव उपरीक्षक तथा प्रहरी निरीक्षक स्तरको छुट्टाछुट्टै संयन्त्र हुनेछन् । ती संयन्त्रहरुको पनि सुरक्षा संवेदनशीलताको आधारमा अलग अलग कार्यहरु निर्धारण गरिएका हुन्छन् ।

यससँगै चिनियाँ पक्षले प्रस्ताव गरेअनुसार यस संयन्त्रको कार्यालय नै स्थापना भएमा तह तहमा दुवै देशका सुरक्षाकर्मीहरुले सीमा क्षेत्रको निगरानी गर्नेछन् । सो कार्यालय दुवै देशको सुरक्षा चुनौती र सूचना आदानप्रदानमा सहजता आउनेछ । चिनियाँ पक्षले आफ्नो देशको केन्द्रीय नीतिअनुसार नै यो प्रस्ताव गरेको र रसुवागढी नाकामा पनि यो संयन्त्र स्थापना गर्न प्रस्ताव गरेको बताइएको छ ।

नेपाल पक्षले भने यसबारेमा मन्त्रालयमा छलफल गरेरमात्रै आगामी बैठकमा निर्णय गरिने बताएको छ । नेपालले यस्तो संयन्त्रको अभ्यास भारतसँगको दशगजा नाकामा गरिसकेको प्रजिअ तामाङले बताए ।

तातोपानी नाका खुलाउन भएका प्रयासहरु

नेपाली पक्षले तातोपानी नाका खुलाउन पटक पटक प्रयास गरिरहेको छ । सिन्धुपाल्चोकबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरु अग्निप्रसाद सापकोटा र मोहनबहादुर बस्नेतले पनि नाका खुलाउन प्रयास भइरहेको बताइरहेका छन् ।

नाका खुलाउनकै लागि नेपाल–चीन सरकारका उच्च अधिकारीबिच पटक–पटक राजधानीमा छलफल गरिएको थियो । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग चिनियाँ उपविदेशमन्त्री लु छिपाओले तातोपानी नाका चाँडै खुल्ने बताएका थिए । नेपालका लागि चिनियाँ राजदुत यू हङले पनि तातोपानी नाका चाँडै खुल्ने बताउँदै आएकी छिन् ।

भूकम्प र भोटेकोसी बाढीले क्षतिग्रस्त सडक पुनर्निर्माण सकेको चिनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी लिमिटेडले सरकारलाई सडक ‘ह्याण्डओभर’ गर्दा पनि नाका छिट्टै सूचारु हुने चिनियाँ अधिकारीले संकेत दिएका थिए ।

नाका सञ्चालनका लागि सिन्धुपाल्चोक जिल्ला प्रशासन र सुरक्षा निकायको संयुक्त टोलीले भूकम्पपछि ६ पटक औपचारिक बैठक गरेको छ । सीमासुरक्षा बैठक हालसम्म ७ पटक बसेको प्रजिअ तामाङले बताए ।
(ईमेजखबरबाट साभार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *