मंगलसैन–जंगलघाट–चिसापानी सडकमा गाडी गुड्ने बनाउँछु : सांसद बोगटी

टेकराज भण्डारी, अछाम,
कोहलपुर, फागुन ३०,

अछाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य यज्ञ बोगटीले अब सबैको कार्यभार विकास भएको बताएका छन् ।

नेपाली जनताको आर्थिक अवस्थालाई उठाउने अहिलेको प्रमुख कार्य भएको भन्दै यसका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताएका हुन् । मंगलसैन नगरपालिका ६ ठुलासैनको स्वास्थ्य चौकी भवनको उद्धघाटन कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै सांसद बोगटीले अछाम जिल्लाको विभिन्न क्षेत्रको समग्र विकासका लागि आफुले संसददेखि सरोकारवालासंग निरन्तर आवाज उठाईरहेको बताए ।

सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउन स्वास्थ्य चौकी भवनको योजना आएको र विभिन्न १२ स्वास्थ्यचौकी भवनका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट बजेट बिनियोजन गराएको सांसद बोगटीले बताए । हरेक भवनका लागि ४२ लाखका दरले बजेट विनियोजन गरिएको थियो । आएको रकमको सही सदुपयोग गरी दिगो रुपमा आयोजना निर्माण गर्न सबै तत्पर हुनुपर्ने उनको भनाई छ । सांसद बोगटीले अछाम जिल्लालाई तराईसंग जोड्न सबैभन्दा छोटो बाटोका रुपमा रहेको मंगलसैन–जंगलघाट–चिसापानी सडक निर्माणका लागि आफु बिशेष रुपमा लागिरहेको उल्लेख गरे । उनले भने,–‘आफ्नो कार्यकालभित्रै उक्त सडकमा गाडी चल्ने बनाउने छु । यो मेरो प्रतिबद्धता हो ।’

आफ्नो निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम अन्तर्गत निर्माण गरिएका विभिन्न आयोजनाको अनुगमन समेत गर्नुभएका सांसद बोगटीले कतिपय आयोजना निकै राम्रा बनेका उल्लेख गरे । दिगो विकासका लागि हरेक उपभोक्ता सचेत हुनुपर्ने र विकासमा बेईमानी गर्नेलाई कडा कारबाही हुने स्पष्ट पार्नुभयो । स्वास्थ्य चौकीको भवन संगै अब आवश्यक दरबन्दीका लागि समेत पहल गर्ने सांसद बोगटीको भनाई छ ।

मंगलसैन नगरपालिकाका प्रमुख पदम बोहराले आफुले नगरबासीको शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगायतका क्षेत्रमा सुधार गर्न प्रयास गरीरहेको भन्दै स्वास्थ्य चौकीबाट स्थानीयल सहज रुपमा सेवा पाउने बताए । आफु निर्वाचित भएर आएपछि विकासका प्रमुख कार्यहरुलाई प्राथमिकताका राखेको भन्दै नगरप्रमुख बोहराले नगरपालिकाले आफ्नै बजेटमा मालिकामा मन्दिर निर्माण, सडक मर्मत तथा सुधार, ठुलासैनमा स्मृति पार्क स्थापना लगायतका कार्य गरिरहेको भन्दै यसमा सबैले साथ दिन आग्रह गरे ।

मंगलसैन नगरपालिकाका उपप्रमुख सरिता उपाध्यायले स्वास्थ्य समस्या भएमा टाढा जानुपर्ने बाध्यताको अन्त्यका लागि नगरपालिकाले हरेक वडामा एउटा स्वास्थ्य चौकी भवन निर्माणको योजना लिएको र सोही अनुसार वडा नम्बर ६ मा पनि भवन बनेको बताईन् । यसबाट विशेष गरी महिलाहरुले सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरिन् । नागरिकलाई उपलब्ध साधनको र श्रोतको उचित प्रयोग गरी प्रभावकारी सेवा प्रदान गर्न उनले आग्रह गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *