पशुपति मन्दिर परिसरमा आजबाट सवारी साधन लैजान निषेध

११ पौष, २०७४
काठमाडौं : विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति मन्दिर परिसरमा आजबाट सवारी साधन प्रवेशमा रोक लगाइएको छ । काठमाडौंको ठमेललाई सवारी मुक्त गरेको ट्राफिक प्रहरीले पशुपति मन्दिर परिसरमा पनि गाडी लैजान निषेध गरेको हो ।

पशुपतिको पश्चिम र दक्षिण ढोकासम्मै गाडीहरु आउने जाने गर्न दिने गरिएकामा अब रोकिएको हो । गाडीकै कारण भक्तजनलाई हिँडडुलमै अप्ठेरो भएको गुनासो आएपछि ट्राफिकले नयाँ व्यवस्था गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता डीएसपी मुकुन्द मरासिनीले विश्व सम्पदा सूचीमा रहेको र श्रद्धालुलाई सहजरुपमा दर्शनको व्यवस्था गर्न गाडी प्रवेश रोकिएको बताए ।

शव बाहन र एम्बुलेन्सलाई भने छुट दिइनेछ । यस्तै त्यहींभित्र घर भएकाहरुले भने सवारी पास पाउने छन् । शिवरात्री, तीज, बालाचतुर्दशीजस्ता ठूला चाडपर्वमा पशुपतिनाथ मन्दिर वरपर सवारी साधन लैजान नदिइने गरेपनि अरु समय रोकतोक थिएन ।

बनकाली र उमाकुण्डभन्दा भित्र गाडी लैजान दिइने छैन भने गाडी पार्किङको लागि बनकालीको चौर र उमाकुण्डमा ठूलो स्थान छुट्याइएको छ ।

गौशाला प्रहरी कार्यालय छेउबाट बनकालीतर्फ एकतर्फी रुपमा जान पाइने भएपनि फर्कन भने चारमूर्तितर्फको बाटो प्रयोग गर्नुपर्ने व्यवस्था पनि ट्राफिक प्रहरीले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *