शिक्षा आर्जन गर्ने थलो बन्दै कारागार

सुशीला ओली, दाङ,
कोहलपुर, फागुन ३,

कारागार भन्नेवित्तिकै प्रायको सोचाइ नकारात्मक बन्छ, किनभने अपराधिक क्रियाकलापमा लागेकाहरूलाई त्यहाँ राखिन्छ ।

दाङको घोराहीमा रहेको कारागार शिक्षा आर्जन गर्ने थलोको रुपमा विकास भएको छ । घोराही जिल्ला कारागारमा ज्ञान ज्योति विद्यालय सञ्चालनमा आएपछि कारागार शिक्षा आर्जन गर्ने थलो बनेको हो । विद्यालय टिनले बारेको सानो कोठामा छ । क ख रा अङ्कित नेपाली वर्णमाला कच्याककुचुक अवस्थामा भए पनि केही युवा बसेर लेखपढ गर्छन् ।

कैदी रेशमबहादुर बुढाथोकी पढ्न पाउँदा समय कटेको थाहा नहुने बताउँछन् । कैदी बन्दी मध्येकाले अरुलाई सिकाउँछन् । पढ्दै र पढाउँदै गरेका सबै सजाय काट्न आएका कैदी बन्दी हुन् । विभिन्न समस्याले पढ्न नपाएका र पढ्दापढ्दै विचमै छाडेकालाई कारागारमा पढ्ने व्यवस्था गरिएको हो । जेलर विष्णुप्रसाद पाण्डेका अनुसार अहिले कारागारमा ३ सय ६ जना कैदीबन्दी रहेका छन् । जसमध्ये करिब २५ जनाले अहिले साक्षरता कक्षा लिइरहेका छन् ।

पढाउने शिक्षकले तलब नपाए पनि वार्षिक दुई महिना कैद मिनाहा गरिदिने व्यवस्था मिलाइएको छ । अक्षर नचिन्नेका लागि अनौपचारिक शिक्षा र शिक्षितलाई अंग्रेजी भाषाको कक्षा समेत चलाइएको अर्का कैदी शिक्षक मनबहादुर नेपाली बताउनुहुन्छ । दाङको घोराही कारागारभित्र करिब पाँच प्रतिशत स्नातकतह सम्मको अध्धययन गरेका, ७० प्रतिशत कक्षा सात भन्दामाथि पढेका र बाँकी निरक्षर छन् । ३० जना कैदी बन्दीले विद्यार्थिका रुपमा नियमित अध्ययन गर्दै आएको कारगार शाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *