काठमाडौंको मैतिदेवीमा बस पल्टिदा १७ जना घाइते, ४ को अवस्था गम्भिर (फोटोसहित)

११ पौष, २०७४
काठमाडौं : राजधानीको मैतीदेवीमा विद्युतको पोलमा ठोक्किएर बस पल्टिदाँ १७ जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते १७ मध्ये चार जनाको अवस्था गम्भीर छ । वीर अस्पतालमा एक गम्भीर र ८ सामान्य घाइतेलाई उपचारका लागि पठाइएको छ भने नर्भिक अस्पतालमा तीन गम्भीर र पाँच सामान्य घाइतेको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

मंगलबार बिहान करिब सवा ३ बजेको समयमा पुरानो बानेश्वरदेखि मैतीदेवीतर्फ आउँदै गरेको बा२ख ८७३३ नम्बरको बस पेट्रोल पम्पनजिकै विद्युतको ट्रान्सफ्रर्मर राखिएको जोडी पोलमा ठोक्किएर पल्टिएको हो ।

विद्युतको पोलसमेत ढलेका कारण बस उठाउन समस्या भएको प्रहरीले जनाएको छ । विद्युत प्राधिकरणका कर्मचारी आएर विद्युत ट्रान्सफर्मरसहितको पोल पन्छाएपछिमात्र बस उठाउन सकिने प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार तीव्र गतिमा आएको सिटी यातायातको बस अनियन्त्रित भई पोलमा ठोक्किएको थियो ।

विद्युत ट्रान्सफर्मर पल्टिएपछि अहिले सो क्षेत्रको विद्युत प्रवाह रोकिएको छ । घटनाको अवस्था हेर्दा आज दिनभर सो क्षेत्रको विद्युत आवागमन सुचारु नहुने अवस्था रहेको विद्युत प्राधिकरणले जनाएको छ ।

यस बाहेक विगत २४ घण्टामा उपत्यकामा २० वटा दुर्घटना भएका छन् । ती दुर्घटनामा ६ जना गम्भीर र २० जना सामान्य घाइते भएको उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । विगत २० घण्टामा उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ६४ चालक कारवाहीमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *