एउटा गरिब फुच्चे यसरी बने क्रिकेटका ‘हिटम्यान’

१० पौष, २०७४
काठमाडौं : सन् २००७ को टी–२० विश्वकपमा भारतीय क्रिकेट टिम समूह चरणमा संकटमा परेको थियो। पहिलो खेलमा न्युजिल्यान्डसँग पराजित भएको भारतले दोस्रो खेलमा इंग्ल्यान्डलाई हराउँदै सेमिफाइनल सम्भावना जीवित राखेको थियो। अन्तिम चारमा पुग्न भारतले दक्षिण अफ्रिकालाई पराजित गर्नैपर्ने थियो।

दक्षिण अफ्रिका विरुद्ध पहिले ब्याटिङ गरेको भारतले ६१ रन बनाउँदा महत्वपूर्ण ४ विकेट गुमाइसकेको थियो। यस्तोमा युवा ब्याट्सम्यान रोहित शर्मा पहिलो पल्ट पिचमा आए। एकदिवसीय खेलमा भारतीय टिममा तीन महिनाअघि डेब्यु गरेका उनी टी–२० खेलमा भारतीय टिमबाट पहिलो पटक ब्याटिङ गर्दै थिए।

रोहितले सुरुवाती २ खेलमा मौका पाएका थिएनन्। न्युजिल्यान्ड विरुद्धको पहिलो खेलमा पहिलो रोजाइमा नपरेका उनले इंग्ल्यान्ड विरुद्धको दोस्रो खेलमा ब्याटिङ गर्ने पालो पाएका थिएनन्।

कठिन अवस्थामा भारतको भरोसा बनेका २० वर्षे खेलाडी रोहितले कप्तान महेन्द्रसिंह धोनीसँग ८५ रनको साझेदारी गरेपछि भारतको आसा बढ्यो। दुर्भाग्यवश धोनी ४५ रनमा रनआउटको सिकार बने। तर, रोहितले अन्तिमसम्म ब्याटिङ गरेर भारतलाई बलियो स्थितिमा पुर्या एका थिए। उनले नटआउट ५० रन जोडेपछि भारतले १ सय ५३ रन जोडेको थियो। रोहितकै इनिङमा भारतले खेल जित्दै सेमिफाइनल यात्रा तय गरेको थियो। पछि भारतले टी–२० विश्वकप नै कब्जा गर्‍यो।

खेलपछि अस्ट्रेलियन क्रिकेट टिमका पूर्व कप्तान इयान चापेलले रोहितको प्रशंसामा शब्दहरु खर्चिएका थिए। चापेलले रोहित विश्वकै उत्कृष्ट ब्याट्सम्यान बन्ने प्रतिक्रिया दिएका थिए। करिअरको सुरुवाती समयमै कभर ड्राइभमा लगातार रन हान्न सक्ने र ब्याक फुटबाट स्क्वायर ड्राइभमा ब्याट घुमाउने रोहितको शैलीबाट इयान प्रभावित थिए। उनको पोजिसनका साथै बललाई आफ्नै तरिकाले प्रहार गर्न सक्ने शैली गजबको थियो। क्याच लिन र फिल्डमा रन रोक्न माहिर रोहितको डाइरेक्ट हिटमार्फत रन आउट गराउन सक्ने क्षमता रहेकाले अस्ट्रेलियन पूर्व कप्तान चापेल रोहितप्रति मोहित बनेका थिए।

चापेलले १० वर्षअघि गरेको विश्लेषणअनुरुप रोहितले अहिले विश्व क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। पछिल्लो चार वर्षमा लामो रेकर्डको सूची बनाइसकेका रोहितले गत शुक्रबार त्यस्तै लोभलाग्दो ब्याटिङ गरे। इन्दोरमा भएको श्रीलंका विरुद्धको दोस्रो टी–२० खेलमा रोहितको ब्याटिङ अद्वितीय थियो। नियमित कप्तान विराट कोहली विदामा रहेका कारण कप्तानीको भूमिकामा रहेका रोहितले ३५ बलमा शतक प्रहार गर्दै रेकर्ड बनाए।

रोहितले डेभिड मिल्लरको नाममा रहेको टी–२० मा छिटो शतक बनाउने रेकर्डसँग बराबरी गरे। १ सय १८ रनमा आउट हुनुअघि रोहितले ४३ बलमा १२ चौका र १० छक्का प्रहार गरे।

भारतको मुम्बई नजिकैको विरोभी गाउँमा हुर्किएका रोहित सामान्य परिवारका हुन्। उनका बुबा गुरुनाथ शर्मा ट्रान्सपोर्ट कम्पनीमा काम गर्थे। तर, कम्पनीको स्थिति राम्रो नभएकाले त्यसको कमाइबाट परिवार धान्न गाह्रो थियो। परिवारको आर्थिक अवस्था कमजोर भएकाले आफ्ना आवश्यकताहरु हजुरबुबा र काकाहरुले पूरा गरिदिने गरेको रोहितले एक अन्तर्वार्तामा बताएका थिए।

क्रिकेटमा बाल्यकालदेखि नै चाख राख्ने उनी यो खेल सिक्न चाहन्थे। पारिवारिक स्थिति नाजुक भएकाले उनले बुबासँग पैसा माग्न सक्दैन थिए। एकदिन उनले क्रिकेटको समर क्याम्पमा सहभागी हुन काकासँग ८ सय भारु मागे। तर, काकाले उनलाई २ सय मात्र दिए। क्याम्पमा २ सय लिएर पुगेपछि तत्कालीन प्रशिक्षकले उनलाई विद्यालय परिवर्तन गर्दै विवेकानन्द स्कुलमा भर्ना हुन सुझाव दिए। किनकि त्यहाँ प्रतिभाशाली क्रिकेटरलाई छात्रवृत्ति दिइन्थ्यो।

ुप्रशिक्षकको सिफारिसमा मैले स्कुलमा भर्ना पाएँ। स्कुलमा छात्रवृति पाएपछि चार वर्ष लगातार क्रिकेट सिकेपछि क्रिकेटर भएर बाहिर निस्केँु, रोहितले क्रिकइन्फोलाई दिएको अन्तर्वार्तामा भनेका थिए।

सुरुवातमा उनी अफ स्पिनर थिए। थोरबहुत ब्याटिङ गर्थे। स्थानीय प्रतियोगितामा राम्रो खेल्न थालेपछि उनी मुम्बईको टिममा परे। त्यसपछि उनी ब्याटिङमा बढी केन्द्रित हुन थाले। उमेरसमूहको राष्ट्रिय टिममा स्थान बनाएका उनले सन् २००६ को यू–१९ विश्वकपमा भारतीय टिमको जर्सी लगाए। यू–१९ विश्वकपमा फिनिसरको भूमिकामा रहेका उनी बढी रन प्रहार गर्ने उत्कृष्ट १० खेलाडीको सूचीमा थिए। त्यही वर्ष रणजी ट्रफीमा डेब्यु गरेका उनले सिजनमा ६ सय रन प्रहार गरेका थिए। रणजी ट्रफीमा प्रभावशाली प्रदर्शनपछि उनी सन् २००७ मा राष्ट्रिय टिममा परेका थिए।

त्यसयता उनले क्रिकेटमा धेरै रेकर्ड बनाइसकेका छन्। उनी सन् २०१५ मा टी–२० खेलमा शतक प्रहार गर्ने दोस्रो भारतीय खेलाडी बनेका थिए। सन् २०१४ मा रोहितले एकदिवसीय खेलको एकै इनिङमा बढी रन प्रहार गर्ने रेकर्ड बनाएका थिए। श्रीलंका विरुद्ध २ सय ६४ रन प्रहार गर्दै उनले रेकर्ड बनाएका थिए। खेलमा उनले १ सय ७३ बलमा ३३ चौका र ९ छक्का प्रहार गरेका थिए। उनी एकदिवसीय खेलमा एकै इनिङमा बढी चौका प्रहार गर्ने खेलाडी पनि हुन्। रोहितले एकदिवसीय खेलमा एकै इनिङमा १६ छक्का प्रहार गरेर पनि रेकर्ड बनाएका छन्।

उनले सन् २०१३ मा अस्ट्रेलिया विरुद्ध एकै इनिङमा १६ छक्का प्रहार गरेका थिए। उनी एकदिवसीय खेलमा तीन पटक दोहोरो शतक बनाउने खेलाडी पनि हुन्। पछिल्लो पटक उनले दुई साताअघि श्रीलंका विरुद्ध दोहोरो शतक प्रहार गरेका थिए।

उनले अहिलेसम्म १ सय ७४ एकदिवसीय खेल खेलिसकेका छन्। एकदिवसीय खेलमा ६ हजार ४ सय रन बनाइसकेका उनले १६ एकदिवसीय शतक प्रहार गरेका छन्।

सन् २०१३ मा टेस्टमा डेब्यु गरेका रोहितले २३ टेस्ट खेलेका छन्। टेस्टमा उनले तीन शतक प्रहार गरेका छन्। उनले टी–२० मा ७० खेलमा १६ सय रन पूरा गरेका छन् भने २ शतक प्रहार गरेका छन्। समग्रमा उनले २१ अन्तर्राष्ट्रिय शतक प्रहार गरिसकेका छन्।

निरन्तर उत्कृष्ट प्रदर्शन र त्यसमाथि पनि बाउन्ड्रीको वर्षा गर्ने गरेकाले उनी क्रिकेट जगतमा ुहिटम्यानु उपनामले चिनिन्छन्।

करिअरको उत्कृष्ट लयमा देखिएका रोहित अझै राम्रो खेल्ने बताइरहेका छन्। श्रीलंका विरुद्ध छिटो शतक बनाएपछि उनले भनेका थिए, ुमैले राम्रो रन हान्ने कोसिस गरिरहेको थिएँ। कोसिस सफल हुँदा निकै राम्रो ब्याटिङ गर्न सकेँ। अझै राम्रो खेल्ने कोसिस गर्नेछु।ु

(नेपाललाइभबाट साभार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *