दुई सय युवती बेच्ने वडाअध्यक्ष प्रहरी हिरासतमा, फरार अभियुक्त खोज्दा खुल्यो कर्तुत

१० पौष, २०७४
काठमाडौं : नुवाकोटको दुप्चेश्वर वडा नम्बर १ मा सुनबहादुर तामाङ नाम गरेका व्यक्ति चार जना छन्। त्यसमध्ये तीन जना गाउँमै खेती किसानी गर्छन्, उनीहरुको आर्थिक अवस्था निकै कमजोर छ। एक जना सुनबहादुरको रवाफ भने बेग्लै छ। गाउँमा कसैले उनको विरोधमा कुरा गर्नसमेत सक्दैनन्। उनका ‘गुन्डा’हरुले विरोध गर्नेहरुलाई गाउँमा बस्नै दिँदैनन्।

उनी त्यति गाउँमा बस्दैनन्। देखिने कुनै व्यवसाय पनि केही छैन। तर, पनि बेजोड पैसा कमाइरहेका छन्। त्यही पैसाको आडमा सिंगो गाउँ नै उनको कब्जामा छ। विगत २५ वर्षदेखि गाउँमा सुनबहादुरको ‘शासन’ छ।

तिनै सुनबहादुर यतिबेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को हिरासतमा छन्। उनको अपराध सुनेर अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरु अचम्मित भएका छन्। हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका उनले गाउँका २ सयभन्दा धेरै चेलीहरुलाई भारतका वेश्यालयमा लगेर बिक्री गरेको सिआइबीले जनाएको छ।

सिआइबीका डिआइजी पुष्कर कार्की भन्छन्, ‘उनी धेरै पहिलादेखि नै चेलीबेटी बेचबिखनमा संलग्न हुँदै आएको अनुसन्धानमा खुलेको छ।’ गाउँका किशोरीहरुलाई भारतका कोठीमा पुर्‍याएर कमाएको पैसाले सिंगो गाउँलाई नै नियन्त्रणमा लिएको प्रहरीको अनुसन्धानमा खुलेको छ।

फरार अभियुक्त खोज्दा खुल्यो कर्तुत
सिआइबीको पिलर नम्बर ५ ले अदालतबाट दोषी ठहर भई फरार भएका अपराधीहरुलाई पक्राउ गर्छ। ‘अपरेसन हन्ट’ नाम दिएर फरार अपराधी पक्राउ अभियान थालिएको सिआइबीले जनाएको छ ।

अपरेसन हन्टअन्तर्गत मानव बेचबिखन मुद्दामा अदालतले ६ वर्ष कैद सजाय तोकेका फरार रहेका सुनबहादुर तामाङको खोजी गर्न सिआइबी टोली गत हप्ता दुप्चेश्वरको घयाङफेदी पुग्यो। ‘गाउँमा पुग्दा सुनबहादुरको घर सोध्दा गाउँमा कसैले थाहा छैन भने,’ सिआइबीका एक अधिकारी भन्छन्,‘सबै जना उनीदेखि डराउँदा रहेछन्।’ गाउँमा उनका केही ‘केटा’हरु छन्, जसले उनकोविरुद्ध कसैलाई बोल्न दिँदैन थिए। यद्यपि सिआइबी उनलाई गाउँबाटै पक्राउ गर्न सफल भयो।

उनी फरार अभियुक्त मात्र नभएको र अहिले पनि गाउँका किशोरीहरुलाई भारतमा पुर्‍याएर बिक्री गर्दै आएको सूचना पाएपछि प्रहरीले थप अनुसन्धान गर्‍यो। भारतका वेश्यालयमा बेचिएर फर्किएपछि गाउँ बस्न नसकेर काठमाडौं बस्दै आएका केही युवतीहरु सिआइबीको सम्पर्कमा पुगे। हालसम्म तीन जनाले सुनबहादुरविरुद्ध उजुरी दिइएको सिआइबीका डिएसपी कमल थापाले बताए।

अनुसन्धानको क्रममा उनी आफैंले भारतका दिल्ली,मुम्बई र पुनेमा कोठी सञ्चालन गर्दै आएको सिआइबीले जनाएको छ। राधा तामाङ नामक महिलासँग मिलेर उनले गाउँका किशोरीहरुलाई ती कोठीमा पुर्‍याएर बिक्री गर्दै आएका छन्। बम्बईमा उनकै आफन्तहरुले कोठी चलाउँदै आएका छन्।

२०७१ सालमा नुवाकोटमा उनीविरुद्ध अर्को मानव बेचबिखन मुद्दा समेत दायर भएको थियो। सात वर्ष दिल्लीको कोठीमा बसेपछि भागेर एक युवतीले उनीविरुद्ध जाहेरी दिएकी थिइन्। जुन मुद्दामा उनी अदालतमा उपस्थित भएर धरौटीमा छुटेका थिए। मानव बेचबिखनजस्तो मुद्दामा उनी धरौटीमै छुटेका थिए। प्रहरी, अदालत तथा नेता सबैतिर उनको पहुँच देखिएको अनुसन्धानमा आवद्ध प्रहरी अधिकारीहरु बताउँछन्।

पीडितलाई गाउँमै बन्धक
केही पीडितहरु गाउँमै फर्किएका पनि छन्। तर, उजुरी गर्न जान सक्ने भएकाले उनीहरुलाई सुनबहादुरका ‘केटा’हरुले गाउँबाट बाहिर जान दिँदैनन्। नुवाकोट प्रहरीमा तीन वर्षअघि उजुरी गरेकी एक युवतीलाई उनीहरुले त्यसपछि बकपत्र गर्न जानै दिएनन्। ती युवतीलाई सिआइबीले आइतबार उद्धार गरेर काठमाडौं ल्याएको छ।

सिआइबीमा आइतबार भेटिएकी एक पीडितले कोठीबाट भागेपछि आफू गाउँ नै फर्कन नसकेको बताइन्। उनी सात महिना कोठीमा बसेपछि भागेर फर्किएकी थिइन्। ‘मैले त दिल्ली गएको भनेर अहिलेसम्म कसैलाई भन्न सकेको पनि छैन,’ उनले भनीन्, ‘जागिर लगाइदिन्छु भनेर कोठीमा पुर्‍याएर बिक्री गर्‍यो, म जस्ता एक सयभन्दा धेरै त्यहाँ बेचिएका छन्।’

२५ वर्षदेखिको धन्दा
सुनबहादुरले २५ वर्षदेखि गाउँका किशोरीहरुलाई दिल्लीका कोठीहरुमा लगेर बिक्री गर्दै आएको डिआइजी कार्की बताउँछन्। २०५१ सालमा झापाको काकँडभिट्टा हुँदै तीन युवतीलाई भारत लैजान लागिएको थियो। सीमा छेउमा पैसा साट्ने क्रममा प्रहरीले दुई युवती र एक दलाललाई पक्राउ गर्‍यो। त्यसबेला सुनबहादुर भाग्न सफल भएका थिए। उनीविरुद्ध पनि मुद्दा चलेकोमा अहिलेसम्म उनी फरार रहेरै धन्दा जारी राखेका थिए।

युवतीलाई गाउँमा बस्नै मुस्किल
दुप्चेश्वर पुगेर आएका सिआइबीका एक अधिकारीका अनुसार गाउँका धेरै युवती बेपत्ता छन्। ‘आमाको नजरमा उनीहरु हराएका छन्,’ ती अधिकारी भन्छन्,‘तर, हराएका होइनन्, उनीहरुलाई भारतमा पुर्‍याएर बेचिएको हो।’ कतिपय त बाउहरुको मिलेमतोमा समेत बेचिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

सुनबहादुरले जागिर लगाइदिएको भनेर तलबबापत भनेर वार्षिक रुपमा १०र१२ हजार रुपैयाँ ल्याएर दिने गरेका थिए। ‘गाउँमा ४० वर्षभन्दा कमका महिलाहरु थोरै मात्र छन्,’ हाल अनुसन्धानमा सिआइबीलाई सहयोग गरिरहेका एक स्थानीयले भने, ‘कोही युवती गाउँमा छन् भने उनीहरुलाई बोक्सीको आरोप लगाएर बस्नै दिइदैन।’ उक्त गाउँ चेलीबेटी बेचबिखनका कारण लामो समयदेखि बदनाम छ।

नाकामा समस्या हुने भएकाले तानेर बिहे गर्न लगाउने श्रीमानहरुले नै भारत पठाउने गरेका थिए। त्यसरी श्रीमतीलाई बिक्री गर्ने टीकाबहादुर तामाङ त हाल जेलमा छन्।

परिवारकै धन्दा
सुनबहादुर मात्र होइन उनका छोरा तथा केही आफन्तहरु समेत चेलीबेटी बेचबिखनमा संलग्न छन्। उनका छोरा गुनबहादुर गाउँकी चेली बिक्री गरेको मुद्दामा जेलमै छन्। सो घटनामा सुनबहादुर संलग्न भए पनि उनीविरुद्ध मुद्दा चलेन। उनका अन्य आफन्त भने भारतमा बसेर कोठी चलाउने गर्दछन्। ती कोठीहमा अहिले पनि दुप्चेश्वरका एक सयभन्दा धेरै युवतीहरु रहेको प्रहरीले आशंका गरेको छ।

सन् २००९ मा मुम्बईको कोठीबाट २४ जना किशोरीको उद्धारमा संलग्न एक महिलाका अनुसार त्यति बेला नै उनीहरुले सुनबहादुरले बिक्री गरेको बताएका थिए। तर, उनका सहयोगीहरुले पीडितहरुलाई मुद्दा हाल्न दिएनन्। पैसाको आडमा उनले सिंगो गाउँलाई नै प्रभावमा राखेका थिए। पैसाकै बलमा हालै वडाअध्यक्षमा समेत निर्वाचित भएको स्थानीयहरु बताउँछन्।

एक पीडितको बयान
२०६४ सालतिर हो जस्तो लाग्छ। १२ वर्ष हुँदा गाउँकै टीकाबहादुरसँग मेरो बिहे भएको थियो। तानेर उसले बिहे गरेको हो। बिहे गरेपछि उसले काठमाडौं जाऔं भन्यो। काठमाडौं आएपछि जागिरका लागि भारत जाने भन्दै सुनबहादुर लगायत मान्छेले दिल्ली लिएर गए।

त्यहाँ जागिर होला भनेको त कोठीमा बेचिएको रहेछ। सात वर्षसम्म त्यहीँ बसे। एक दिन बाहिर निस्केको बेला एक जना नेपालीसँग भेट भयो। उहाँसँगै लागेर नेपाल आएँ। सुनबहादुरले म जस्ता गाउँका धेरै जनालाई नरकमा पुर्‍याएर बेचेको छ।
(नेपाललाइभबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *