९७ वर्षीय वडाध्यक्षको पहिलो प्राथमिकतामा कृषि, भन्छन् : ‘किसानको आय वृद्धि गर्नुछ’

१० पौष, २०७४
राजविराज : उमेरले सय वर्ष टेक्नै लाग्दा वडाध्यक्षमा विजयी बनेका राजविराज नगरपालिका–१३ स्थित विषहरियाका राजेन्द्रप्रसाद यादव उमेरअनुसारका ‘बूढा’ होइनन्। अहिले पनि युवा जोस र जाँगरयुक्त छन् उनी।

सदरमुकामवाट १० किलोमिटर टाढा बसोबास रहे पनि समयमै बैठकमा पुग्ने गरेका उनी वडाको विकास कसरी गर्न सकिन्छ भन्नेमै चिन्तित देखिन्छन्।

एक छोरा, तीन छोरीसहित २५ नाति–नातिना, पनाति–पनातिनी रहेका यादवले चुनाव जितेको भने यस पटक मात्र होइन। पञ्चायती व्यवस्था लागू हुनासाथ तत्कालीन विषहरिया गाउँ पञ्चायत वडा नं ६ को वडा अध्यक्षमा निर्वाचित उनी त्यसपछि पटक–पटक जनप्रतिनिधि बन्दै आएका छन्। ‘वडा अध्यक्षपछि गाउँ पञ्चायतको उपाध्यक्ष भएँ,’ ९७ वर्षीय उनले भने, ‘त्यसपछि चार पटक प्रधानपञ्च।’

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा विषहरिया गाविसलाई राजविराज नगरपालिकामा गाभेर वडा नं. १३ कायम गरिएपछि पनि जनताले उनैलाई वडा अध्यक्ष चुने। गाउँमा यथावत् रहेको सिँचाइ समस्या, बाटोघाटोको अभाव, सार्वजनिक शौचालय र स्वास्थ्य सेवाका बारेमा आफूले काम गर्ने योजना बनाएको यादव बताउँछन्। ‘नगरपालिका कायम गरिए पनि मेरो वडामा विकास निर्माणका काम खासै भएका छैनन्। त्यसैले अझै धेरै गर्नुपर्ने जिम्मेवारी छ,’ उनी योजनाबारे सुनाउँछन्।

जनताले आफूमाथि गरेको विश्वास बचाइराख्न पनि उनीहरुको समस्या बुझिदिनुपर्ने बताउँछन् उनी। वडा अध्यक्षमा निर्वाचित भएलगत्तै उनले आफ्नै घर नजिकको एउटा पक्कीघर भाडामा लिए र कार्यालय स्थापना गरे। आगामी दिनमा वडा कार्यालय निर्माणमा जुट्ने उनको योजना छ।

‘म पनि सामान्य किसान हुँ। गाउँका सबै मानिसको कृषि पेसालाई कसरी माथि उकास्ने र आय वृद्धि गर्ने भन्ने कुरालाई पहिलो प्राथमिकतामा राखेको छु,’ उनले भने।

विगतमा गाविस हुँदा वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता लिन पनि गाविस सचिव खोज्दैमा सास्ती हुने गरेको स्मरण गर्दै उनले थपे, ‘मँ पनि वृद्ध भइसकेँ, अब यस्तो समस्या नहोस् भन्नका लागि वडा कार्यालयबाटै भत्ता वितरणको व्यवस्था मिलाउँदैछु।’

(नेपाललाइभबाट साभार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *