पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा धमाधम सम्याइँदै
१० पौष, २०७४
पोखरा : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा सम्याउने काम तीव्र गतिमा अघि बढेको छ।
निर्माणको जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी चाइना सिएएमसी इञ्जिनियरिङ कम्पनीले विमानस्थलको जग्गा सम्याउने काम गरिरहेको छ। आयोजनाका प्रशासकीय अधिकृत प्रमोदकुमार यादवका अनुसार, जग्गा सम्याउन डोजर, एक्साभेटर, लोडर र टिप्परको प्रयोग भइरहेको छ।
कम्पनीका प्रमुख जेरी याङले यस वर्षको हिउँदसम्ममा विमानस्थलको जग्गा सम्याउने काम सम्पन्न गरिने बताए। जग्गा सम्याएपछि टर्मिनल भवन र धावनमार्ग निर्माणको काम अघि बढाइनेछ।
विमानस्थल निर्माणमा अहिले एक सय जनाभन्दा बढी चिनियाँ प्राविधिक र नेपाली कामदार खटिएका छन्। कम्पनीले कार्यालय भवन, प्राविधिक तथा मजदुर बस्ने अस्थायी भवनको निर्माण गरिसकेको छ। चिनियाँ एक्जिम बैंकको करिब २२ अर्ब रुपैयाँको ऋण सहयोगमा निर्माण सुरु गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सन् २०२० जुलाईसम्ममा सक्ने लक्ष्य छ।
२०३२ सालमा पोखरा–लेखनाथ महानगरपालिका–१४ छिनेडाँडामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न तीन हजार १ सय ६ रोपनी जमिन अधिग्रहण गरिएको थियो। अपुग भएपछि ६ सय २९ रोपनी जमिन थप अधिग्रहण गरिएको हो।
(रासस)