हट्यो कालिकोटको कर्फ्यु

कालिकोट, पुस १० । कालिकोटमा लगाइएको कर्फ्यु  आज हटेको छ ।  पुस ७ गते रातिबाट लगाइएको अनिश्चितकालीन कर्फ्यु आजबाट हटाइएको हो ।

७ गते प्रहरीको गोली लागेर म्यादी प्रहरी विवेक ऐरीको मृत्यु भएपछि माहोल तनाबग्रस्त भएको कालिकोटमा  अनिश्चितकालीन कर्फ्यु लगाइएको थियो ।

पीडित पक्षले मृतकलाई शहीद घोषणा, उचित क्षतिपूर्ति व्यवस्था र म्यादी प्रहरीको तलबका विषयमा भएको विवादबारे छानबिन हुनुपर्ने माग राखेर आन्दोलन चर्काएपछि कर्फ्यु लगाइएको थियो । घटनाबारे छानबिन गर्न गृह मन्त्रालयका सहसचिव डा।मानबहादुर विकको संयोजकत्वमा सरकारले गठन गरेको समिति कालीकोट पुगेपछि कर्फ्यु हटाइएको हो । समितले आज नै दुवै पक्षवीच छलफल गर्ने जनाएको छ ।

कर्फ्यु हटाइएको भए पनि जिल्ला प्रशासन कार्यालय आसपासमा भने निषेधित क्षेत्र कायमै राखिएको जिल्ला प्रशासन कार्यालय कालिकोटले जानकारी दिएको छ ।

मृतक परिवारलाई सरकारले १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय यस अघि नै गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *