डाक्टरले ‘डेथ सर्टिफिकेट’ बनाउँदै गर्दा बिरामी ब्युँझिएपछि…

९ पौष, २०७४
इटहरी : इटहरीमा मृत्यु घोषणा गरिएको व्यक्ति ब्युँझिएको अपत्यारिलो घटना भएको छ । इटहरी उप–महानगरपालिका–१९ बस्ने ३२ बर्षीय इन्द्र गिरीको मृत्यु भएको भन्दै अस्पतालले ‘डेथ सर्टिफिकेट’ बनाउँदै गर्दा उनी चलमलाएका हुन् ।

३ पुसमा झुण्डिएर आत्महत्या गर्ने प्रयास गरेका उनलाई तत्काल परिवारले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि लगेका थिए । अस्पताल पुराउँदा उनी जीवनको अन्तिम अवस्थातिर पुगिसकेका थिए । तर, त्यहाँ आईसियुको अभावका कारण धरानबाट विराटनगरस्थित लाईफ गार्डमा रेफर गरियो । त्यहाँ लगेर उपचार सुरु भयो ।

तर, अस्पतालले एक रात उपचार गरेपछि उनलाई मृत घोषणा गर्यो । अस्पताल ‘डेथ सर्टिफिकेट’ बनाउन लाग्यो । तर, यही क्रममा एक डाक्टरले अचानक उनको ‘पल्स’ चलिरहेको महसुस गरे । त्यसपछि पुनः उनलाई चिकित्सकको सल्लाहअनुसार विराटनगरकै नोबेल मेडिकल कलेजमा रेफर गरियो । नोबेलका विशेषज्ञ चिकित्सकको परामर्शबाट गिरीको उपचार सुरु भयो । क्रमशः चमत्कारीक रुपमा उनको अवस्थामा सुधार देखियो । बुधबार अस्पतालले उनलाई घर फर्काइ दिएको छ ।

श्रीमानको मृत्युको खबरसँगै बेहोस भएकी श्रीमती चन्द्रा गिरी पनि अहिले सही अवस्थामा फर्किएकी छिन् । चन्द्राका अनुसार श्रीमान इन्द्रले अहिले खाना खान थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *