अलैंचीको कारोवार घटेपछि कृषक मर्कामा, मुल्य बढ्ने आशमा ८० प्रतिशत भण्डारण

९ पौष, २०७४
ताप्लेजुङ : नेपाली अलैंचीको मूल्य लगातार घट्दै गएपछि पूर्वी पहाडि जिल्लामा यसको कारोवार ठप्प जस्तै छ । केही वर्ष अघिसम्म प्रतिमन एक लाख रुपैयाँभन्दा बढीमा कारोवार हुने गरेको अलैंचीको भाउ अहिले २५/२६ हजार रुपैयाँमा झरेको छ ।

अलैंचीको मूल्यमा लगातार गिरावट आउँदा धानखेती नै मासेर अलैंचीतर्फ आकर्षित भएका किसानको जिविकोपार्जन मै समस्या आएको छ । पूर्वी पहाडी जिल्लामा सबैभन्दा बढी उत्पादन हुने नगदेबाली अलैंचीको राम्रो कारोवार नभएको एक वर्ष भइसक्यो ।

अलैंचीको उत्पादन राम्रो हुने ताप्लेजुङ, पाँचथर, ईलाम, तेह्रथुम, धनकुटालगायतका जिल्लाका कृषकले भाउ बढ्दै जाँदा धान खेत नै मासेर लगाएको अलैंचीले फल दिन थालेपछि भने भाउ ह्वात्तै घटेको छ । हाल प्रतिमन २५/२६ हजारमा कारोवार हुन थालेपछि कृषकको आर्थिक स्रोत गुमेको छ भने यो महिना केही हजारले भाउ बढे पनि यसले कुनै राहत नमिल्ने उनीहरुको तर्क रहेको छ ।

ताप्लेजुङ, इलाम र धनकुटामा बढी उत्पादन हुने अलैंचीको मुख्य बजार भारत हो । तर पछिल्लो समय भारतमा अलैंची उत्पादन बढेपछि नेपाली उत्पादनले मूल्य नपाएको हो । नेपाली अलैंची निर्यातकर्ता भारत सिलगुडीका बाबुलाल जयनले भारतमा अलैंची उत्पादन बढेपछि यताको मूल्य घटेको बताउँछन् ।

बजारलाई पुग्दो अलैंची सिक्किम, दार्जिलिङ, असाम, मेघालयलगायत क्षेत्रमा उत्पादन भएपछि नेपाली अलैंचीलाई प्रतिस्पर्धात्मक मूल्य दिन नसकेको उनको भनाई छ । तर नेपालका व्यापारीको तर्क भने अलिक फरक छ । नेपाल अलैची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष बालमणि बरालले सरकारले अलैंचीको निकासीमा चासो नदिंदा कारोबारमा समस्या आएको बताउँछन् ।

उत्पादित अलैंची मूल्य बढ्ने आशामा कृषकले घरमै थन्क्याएर राखेका छन् । कतिपयले भने दैनिक घरखर्च चलाउन कम मूल्यमै बिक्री गरिरहेका छन् । मूल्य बढ्ने आशमा ताप्लृजुङलगायत अज्य जिल्लामा पनि ८० प्रतिशत अलैंची भण्डारण गरी राखेको झापा बिर्तामोडका व्यवसायी बताउँछन् ।

नेपालको आफ्नै ट्रेडमार्क नुहँदा सिन्डिकेट बजारले नेपालको अलैंची भारत र बंगलादेश बढी जाने गर्छ । कालो सुनको नामले चिनिएको अलैंचीको अन्तर्राष्ट्रिय बजार खोजी गर्न सके किसानका अवस्था सुधार गर्न ठूलो सहयोग पुग्ने विज्ञहरु भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *