समीरलाई छामेर हेर्दा-टक गुरुङ

पुस्तकको नाम : समीर
बिधास् काव्य : गजल संग्रह)
आवरण : दिपेन्द्र जोशी ‘निक’
प्रकाशन : पल्लव सहित्य प्रतिष्ठान, नारायणगढ
भूमिका : केशवराज आमोदी
शुभकामना सन्देश : डा.घनश्याम परिश्रमी, प्रा.डा. कृष्णहरि बराल, ज्ञानुवाकर पौडेल, प्राज्ञ बूँद राना, पोष्टराज चापागाई, डा. नवराज लम्शाल, कृष्णशरण उपाध्याय, आवाज शर्मा ।

समीरलाई छामेर हेर्दा
गजलकार प्रकृति प्रेमीको समीर संग्रह हात पर्यो । थोरैमा धेरै सन्देश प्रवाह गर्ने चित्ताकर्षक आवारणले सुसज्जित गजल संग्रह पढ्ने हुटहुटी थियो पूरा भयो । समीर अथवा हावा(वायु) नामरकरण गरिएकोले पनि सामाजिक सञ्जालमा आवारण प्रकाशित गर्दा नै मलाई खास लागेको थियो । गजलको लामो परम्परासँग गहिरो नाता भएजस्तो लाग्यो । किनकी यसमा मीर शब्द समाहित छ । मीर तकी मीरलाई अनौपचारिक रूपमा आदरपूर्बक उर्दू गजलमा खुदा–ए–सुखन अर्थात् शायरीको ईश्वरको दर्जा दिईएको छ । बहरबद्द गजल संग्रह भएकोले संग्रहको नाम गजलको लामो गौरवशाली परम्परासँग जोडिएर अर्थपूर्ण र न्यायपूर्ण भएको महसुस भयो ।

भनिन्छ एउटा किताब लेख्न लेखकले एउटा पुस्तकालय पढ्नुपर्छ । प्रसिद्द अमेरिकी लेखक स्टीफन किङले भनेका छन्,–‘ब्यक्तिगत रूपमा भन्नुपर्दा तपाई मेरो बन्दुक लिन सक्नु हुन्छ । तर मेरो किताब  मेरो चिसो र म्रित औँलालाई सङ सोधेर मात्र लैजान सक्नु हुनेछ ।’

भूतपूर्व अमेरिकी राष्ट्रपति थोमस जेफरसनले भनेका थिए,–‘म मेरो किताबविना बाँच्न सक्दिँन ।’ किताबको महिमाबारे यी आदरणीय ब्यक्तित्वहरूको भनाई पढेपछि थप शब्दहरू खर्चिनु युक्तिसंगत देखिन्न । मेरो आशय किताब फगत कागज र मसीको प्रसोधित रूप मात्रै हैन, समाज परिवर्तनको लागि जिम्मेवार दस्तावेजसमेत हो ।

यही आलोकमा रहेर मैले समीरको चिरफार गर्ने कोशिश गरेको छु । समकालीन गजलका दुई पाटाहरू छन् । एउटालाई परम्परा नाम दिइएको छ भने अर्कोलाई प्रवृत्ति, परम्पराले वास्तविक गजलको जराको प्रतिनिधित्व गर्छ भने प्रवृत्तिले परिवर्तनको प्रतिनिधित्व गर्छ । नेपालमा मोतिराम भट्टले गजल भित्र्याउँदा परम्परा मै रहेर साधना गरेका थिए । वि.सं. ४० को दशकमा केही भारतीय लेखकहरूलाई पछ्याउँदै नेपाली गजलमा प्रयोग गरिए । त्यो  प्रयोगले अहिले परम्परागत गजललाई ओझेल पारिदिएको छ र यही पृष्ठभूमिमा समीर जस्ता कृति निकाल्नु पक्कै पनि सह्राहनीय र उदाहरणीय कार्य हो । 
     प्रस्तुत संग्रहमा ७६ वटा बहरबद्द गजल समाविष्ट छन् । ३ शेर अतिरिक्त पनि छन् । बहर प्रयोगको हिसाबले निकै बिबिधता पाइन्छ । २० भन्दा बढी गजल बहर–ए–मुतकारिब मुसम्मन सालिममा लेखिएको भएपनि अन्य मुफरद(शुद्द) बहर लगायत मुरक्कब (मिश्रित) र मुजाहिफ बहरहरूको प्रयोगद्वारा सरल र संवेदनशील भाषा शैलीमा प्रभावशाली गजल कोर्न गजलकार प्रकृति प्रेमीको कलम सफल भएको देखिन्छ । केही अपवादलाई छोडेर यति र गतिको अनुशासनपुर्वक अनुशरण भएको देखिन्छ । भावुक र वर्णनात्मक शैलीमा लेखिएका शेरहरू आम भन्दा आम पाठकले पनि सजिलै ग्रहण गर्न सक्ने खालका छन् । शेर बुझ्न शब्दकोशको बैशाखी प्रयोग गर्नुपर्ने खालका शेरहरू छैनन् । एकातिर प्रेमिल अनुरोध, स्वैरकल्पनाका कुराहरू भेटिन्छन् भने अर्कोतिर सामाजिक विकृति र खराब मानवीय प्रवृत्तिमाथि तिव्र ब्यंग्य प्रहार गर्न प्रकृति प्रेमीका शेरहरू चुकेका छैनन् ।

हजारौं बहाना बनाएर आऊ
मलाई दिवाना बनाएर आऊ

गजल नं. २५

खुट्टा तान्ने धेरै भेटेँ आफ्नो मान्छे खोज्दै जाँदा
ढुङ्गा हान्ने धेरै भेटेँ आफ्नो मान्छे खोज्दै जाँदा

गजल नं. १

स्वदेशमा जताततै अशान्ति यो चुले पछि
पुगे दुवै कतारमा अचेलका युवाहरू

गजल नं. ५९

 ७६ मध्य ७१ गजलमा शब्दीय वा वाक्यात्मक रदिफ मध्य कुनै न कुनै रदिफ प्रयोग गरिएका छन् । काफियासँग रदिफको रब्त वा तालमेल वा आपसी सम्बन्ध प्राकृतिक लाग्छन् । जवर्जस्ती भर्ति गरिएको जस्तो कतै पनि लाग्दैन वा प्रयोगको लागि प्रयोग जस्तो महसुस हुँदैन । 

म किनिदिउँला उपहार ( नयाँ )
मनमा भरिऊन् सुविचार ( नयाँ )– एकल शब्द काफिया

गजल नं. ६४

नयाँ साथी भेट्न पाएँ (यो दिल मेरो रम्न थाल्यो)
यता चोखो प्रीत लाएँ (यो दिल मेरो रम्न थाल्यो)–( वाक्यात्मक रदिफ

गजल नं. ५०

त्यस्तै ६० गजलमा तखल्लुसको प्रयोग गरिएका छन् । तखल्लुस द्विअर्थी रूपमा आएका कारणले शेरगोयीमा गजलकार सचेत छन् भन्ने प्रसस्त ठाउँ छन् ।

चोखो माया लत्याएर गोजीको त्यो पैसा हेर्दै
प्रेमी छान्ने धेरै भेटेँ आफ्नो मान्छे खोज्दै जाँदा

गजल नं. १

काफिया प्रयोग सन्तोषजनक लाग्छन् । समीर संग्रहका शेरहरूले समाजमा भएका उत्पीडन, शोषण, अन्याय एवम् अत्याचारमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुका साथै परम्परागत प्रेमीलाई पनि जिवन्त बनाएका छन् । अथवा विचार र मनको बराबर प्रतिनिधित्व पाइन्छ ।

छोटकरीमा भन्नुपर्दा मेहनत, साधना, कोशिश, प्रयास, स्पष्ट देख्न सकिन्छ । यति हुँदाहुँदै पनि अन्य किताब जस्तै त्रुटीरहित भने छैन गजल संग्रह समीर । भाषिक, हिज्जे, व्याकरणीय त्रुटी नगन्य छन् । अपितु गजलका शास्त्रीय विधानकै कसीमा केही पक्षहरू खरो उत्रिदैनन् । पछिल्ला संस्करणामा सच्चिएर आउने छन् भन्नेमा कुनै शंका गर्ने ठाउँ छैन । उहाँ प्रकृति प्रेमी क्षमतावान् गजलकार हुनुहुन्छ ।

काफिया चयन सन्दर्भमा :

साँझ पर्दा चाँदनीको रात पाएँ आज मैले
प्रीति चोखो लाउँदा पो आँत पाएँ आज मैले

गजल नं. ७

   प्रस्तुत उदाहरणमा (गजल नं. ७) गजलकारले रात र आँतसँगै हात, बात, मात, जात हमकाफिया बनाएका छन् । अनुस्वर लागेका र नलागेका काफियालाई हमकाफिया बनाउनु सही मानिन्न । 

अन्य यस्तै त्रुटीपूर्ण उदाहरणहरूमा गजल नं ७३ मा हँसाउनेसँग फसाउने,
गजल नं ४८ मा प्यासी, दासीसँग टाँसी ।

शास्त्रीय हिसाबले ‘अ’ स्वर काफिया नहुने भए पनि एउटा गजलमा यस्तो प्रयोग भेटिन्छ ।
गजल नं ७० मा बेहोस, बोझ, खोज, सोँच, बोट, आमोद ।

यदि ‘ओ’ लाई काफियाको उदगम् स्थल मान्ने हो हर्फ–ए–रवी परिवर्तन हुन जान्छ । जुन गजलको मान्यत बिपरित हुन्छ । आजाद गजलमा जायज मानिए पनि परम्परागत गजलमा यस्ता त्रुटीहरू  गम्भीर त्रुटी मानिन्छन् । 

केही गजलका काफियामा इता दोषको संभावनालाई पनि नकार्न सकिन्न । ढोग्दै, खोज्दै, बोक्दै जस्ता काफियाबाट बच्नु वान्छनीय हुन्छ ।

शेरहरूमा चमत्कारितामाथि भावुकता, कवितात्मकतामाथि गीतितत्व हावी भएको छ । शब्दको अभिधा शक्तिको अलवा लक्षणा र व्यञ्जना शक्तिको प्रयोगतर्फ कम ध्यान गएको देखिन्छ । अथवा इबारत सन्तोषजनक भए पनि इशारत र अदाको क्षेत्रमा सुधार गर्ने प्रसस्त ठाउँ बाँकी रहेको महसुस हुन्छ । तखयुलको दायरालाई फराकिलो पार्नुपर्ने देखिन्छ । बहरको अर्थ फारसी छन्द र सागर दुबै हुन्छ । त्यसैले पनि होला गजललाई लोटामा सागर अटाउने कसरत भनिन्छ ।

धन्यवाद ।
टक गुरुङ
तनहुँ, हाल युएई

Leave a Reply

Your email address will not be published. Required fields are marked *