बाँकेको सांगीतिक क्षेत्रमा उदाएका तीन तारा

बिधुत्मा रैका,
कोहलपुर, भदौ २४,

खजुरा गाउँपालिका वडा नम्बर ३ कि दीक्षा थापामगरको स्वरमा जादु छ । उनी भर्खरै बाँकेको नेपालगन्जमा सम्पन्न भएको बागेश्वरी सिङ्गिङ आईडलकी बिजेता हुन् । जब उनले बागेश्वरी सिङ्गिङ आईडलको स्टेजमा गीत गाउन थालिन् तब उनको स्वर र कलाले सबैलाई मन्त्रमुग्ध बनायो । सुमधुर स्वरकी धनी दीक्षाको स्वर सुनेर सबै जना दंग परे ।

उनी अहिले १४ वर्षकी भईन् । बागेश्वरी सिंङ्गिङ आईडल जितेर आईडल बनेकी दीक्षा बाँकेको सांगीतिक क्षेत्रमा चम्किलो ताराका रूपमा उदाएकी छिन् । आफ्नो सुमधुर आवाज, मिहिनेत र परिश्रमले नै उनले यो सफलता हासिल गरेकी हुन् । विभिन्न कलाकारका चर्चित गीतहरू गाउँदै चर्चाको शिखरमा पुगेकी छिन् । उनी सुमधुर आवाजकी धनी मात्रै नभई सुन्दर मनकी पनि धनी छिन् । सरल तथा लजालु तरिकाले बोल्ने उनी अति नै मिलनसार स्वभावकी छिन् । सानैदेखि गायनमा रुचि राख्ने दिक्षा विद्यालयका हरेक सांस्कृतिक कार्यक्रमहरुमा गीत गाउने गर्छिन् । मीठो आवाजको धनी दीक्षाले विद्यालयमा हुने धेरै सांगीतिक कार्यक्रमहरुमा प्रथम भैसकेकी छिन् ।

उनीमा हर प्रकारको गीत गाउन सक्ने क्षमता पनि छ । उनी भन्छिन्,–‘गीत संगीत मेरो प्राण हो, संगीत मेरो रगतमा छ र मेरो हरेक धड्कनमा छ । नेपाली संगीत भनेको हाम्रो सम्पति हो, संस्कृति हो, त्यसैले हामीले यसलाई संरक्षण र प्रवर्धन गर्नु हाम्रो कर्तव्य हो र नेपाली सांगीतिक क्षेत्र तथा गीत संगीतको स्तरलाई अन्तराष्ट्रिय क्षेत्रमा परिचित गराउनु पनि हाम्रो दायित्व हो ।’ १४ वर्षकी दीक्षाले गाएको गीत सुनेर जो कोही पनि मन्त्रमुग्ध बन्छन् । उनी अहिले ज्ञानोदय नमूना माद्यामिक विद्यालय खजुरामा कक्षा ९ मा अध्ययरत छिन् । वि.स. २०७६ जेठ ४ गते देखि आईडलको अडिशन सुरु भएको थियो । जिल्लाका सबै विद्यालयहरुमा अडिशन गरिएको थियो । सिङ्गिङ आईडलभरि उनले थुप्रै गीत गाईन् । सानैदेखि उनी घरमा एक्लै हुँदा गीत गाईराख्थिन् ।

घरपरिबार आमाबाबा सबैले उनलाई गाउनको लागि हौसला दिन्छन् । सिङ्गो बाँकेको आईडल बन्नको लागि उनलाई कम्ता चुनौती थिएन । उनले ति सबै चुनौती पार गर्नको लागि कडा मेहनत गरिन् र बगेश्वरी सिङगिङ आईडल हात पार्न सफल भईन् । विभिन्न राउण्डहरु पार गर्दै उनी टपटेनमा पुगिन् । टपटेनमा उनले १२ जनासंग कडा प्रतिष्पर्धा गर्नुपर्याे । यसका लागि उनलाई शिक्षकहरुले पनि गाउन सिकाए । हरेक समय घरमा प्रयास गरिन् । उनको बाआमाले गीत गाउनको लागि दिएको साथ र मायाले उनी निकै खुशी देखिन्छिन् । सिङ्गिङ आईडल बनेपछि उनले ट्रफि, प्रमाण पत्र सहित नगद ५० हजार हात पारिन् । उनको यो सफलतामा परिवार, साथीसंगी, शिक्षकहरु सबै सहभागी बने । उनका शुभेच्छुकहरु सबैले पढाईसंगै गायन क्षेत्रलाई अघी बढाउँन सुझाव दिए । उनका शिक्षकहरुले समते उनको सफलतामा खुशी व्यक्त गर्दै उनलाई यस क्षेत्रमा अघी बढाउँन सहयोग गर्ने बताएका छन् ।

आईडलको लागि सबै स्थानीय तहका सबै विद्यालयमा अडिशन भएको थियो । अडिशनबाट छनोटमा परेकाहरुलाई सिङ्गिङ आईडलमा सहभागी गराईएको थियो । दिक्षाको विद्यालयमा पनि अडिशन भएको थियो । उनको विद्यालयबाट उनी लगायत अन्य ६ जना छानिएका थिए । उनीसहित आईडलको टपटेनसम्म ३ जना पुगे । २ जना आउट भए उनी अघि बढिन् । दीक्षाको स्वरको निर्णायकहरुले समेत खुबै प्रशंशा गरे । उनले पढाई र गायनलाई मिलाएर लिने गरेकी छिन् । गायन क्षेत्रले पढाईलाई खासै असर नगरेको उनले बताईन् । उनी भन्छिन्,–‘म विद्यालयको समय बाहेक अन्य समयमा गीत गाउँछु । प्राय गीत फुर्सदको समयमा गाउँछु । यसले मेरो पढाईमा बाधा पुर्याएको छैन ।’ उनले, पढ्ने बेलामा किताब पढ्ने र अन्य बेलामा गीतलाई पनि निरन्तरता दिने गरेको बताईन् । गीत गाउनमा उनी आफ्नै घरबाट प्रेरित भईन् । सानै हुँदा जब उनी गीत गाउँथिईन् तब उनलाई परिवारले राम्रो छ भन्दै प्रेरणा, हौसला दिन्थे । अहिले उनी सब इन्जिनियर पढिरहेकी छिन् तर उनको लक्ष्य भनेको असल गायिका बन्ने हो ।

दीक्षालाई गायनका लागि घर परिवारबाट राम्रो साथ र सहयोग मिलेको छ । उनका बाबु शंकर बहादुर थापा मगर पहिलो प्राथमिकता पढाईलाई बनाएर त्यसपछि गायन क्षेत्र पनि संग–संगै लैजान उनलाई सल्लाह दिन्छन् । उनले, छोरीको प्रतिभाबाट आफूहरु उत्साहित भएको उल्लेख गर्दै उनको प्रतिभा निखार्न पुरै परिवारको सहयोग उनलाई रहने बताए । आफ्नो छोरीको यति ठुला सफलतामा थापा मगर निकै प्रफुल्लित देखिन्छन् । उनले भने,–‘पहिले त डर लागेको थियो । तर मेरो छोरीको प्रस्तुती झन खारिदैं गयो । यसको नतिजा राम्रो आएपछि आशा पलायो । मेरो छोरीले गायन क्षेत्रमा राम्रो सफलता प्राप्त गर्न सक्छिन् भन्नेमा ढुक्क छु ।’ उनले, छोरीलाई पढाईसंगै गायन क्षेत्रमा पनि अगाडी बढाउने बताए ।

यसैगरि बागेश्वरी सिङ्गिङ आईडलकी फस्ट रनर अप हुन् अनुशा घिमिरे । कोहलपुर न्युरोडकी अनुशा १५ वर्षकि हुन् । अहिले तक्षशिला एकेडेमिमा कक्षा १० मा अध्ययनरत छिन् । उमेरले उनी सानै छिन् । तर गीत गाउनमा उत्कृष्ट छिन् । उनको स्वर नेपाली गीत संगीतको क्षेत्रलाई आवश्यक पर्ने खालको छ ।

उनको स्वर सुनेर धेरैलाई संगीत प्रशिक्षण लिएर गाउन सिकेको हो की भन्ने भान हुन्छ । तर होईन सानैदेखि संगीतमा रुचि भए पनि उनले औपचारिक कक्षाबिना नै सिङ्गिङ आईडलमा भाग लिईन् । उनको प्रशिक्षक भनेको उनकी आमा नै हुन् । उनकी आमाले उनलाई गीत गाउने हौसला दिन्छिन् । आफ्नो गाउने मन नभएपनि आफ्नी आमाले गाउन लगाउने गरेको अनुशाले बताईन् उनले भनिन्,–‘मेरो आमा पनि गीत गाउनुहुन्छन । उहाँको गायिका बन्ने सोच थियो कारणबस हुनुभएन । अब मलाई गायिका बनाउने उहाँको लक्ष्य छ ।’

अनुशालाई पढाई भन्दा अरु ठुलो हो जस्तो लाग्दैन । त्यसैले उनी पढाईलाई बढी नै प्राथमिकता दिन्छिन् । सिङ्गिङ आईडलमा पनि उनको भाग लिने निश्चित थिएन । आईडल हुने थाहा पाएपछि उनकी आमा, शिक्षकहरुले उनलाई भाग लिन प्रेरित गरे । आईडलमा उनी जब मेघा राउण्डमा पुगिन् तब उनले नजाने सोच बनाईन् । उनी नजाने थाहा पाएपछि उनकी आमााले उनलाई फकाएर पठाईन् । अन्तत उनी आईडलको फस्ट रनरसम्म पुग्न सफल भईन् । उनी यहाँसम्म आई पुग्नको लागि धेरै मेहनत र अभ्यास गर्नुपर्यो ।

बागेश्वरी सिङ्गिङ आईडलका फस्ट रनर अप आशिष चन्द कोहलपुरको एनसिसिएनका प्रतियोगी हुन् । सिङ्गिङ आईडलको सेकेण्ड रनरसम्म पुग्नको लागि उनले कडा परिश्रम गरे । उनको कर्णप्रिय आवाज सुन्नेहरु लालयीत देखिन्छन् । उमेरले १६ बर्ष मात्र पुगेका आशिष मिठो गित गाउछन् । उनको स्वर निकै मिठो छ । सुनी रहुँ जस्तो । आशिषले स्कुलका शिक्षक र विद्यार्थीबाटसमेत निक्कै प्रसंशा पाएका छन् । बुवा आमासँग बस्ने आशिषले गाउँ तथा विद्यालयमा हुने बिभिन्न कार्यक्रमहरुमा आफ्नो कर्ण प्रिय स्वरले धरैलाई मन्त्रमुग्ध पारिसकेका छन् ।

सुरुमा गायन क्षेत्रमा नलाग्न भन्ने उनका बाबाआमा अहिले संगीत प्रतिको उनको रुचिलाई पुरै सपोर्ट गर्दै आएका छन् । उनी भन्छन्,–‘पहिले बाआमाले गाली गरेपनि मैले हार मानिन् । धेरै पटक सम्झाएपछि अहिले मेरो गाउने कलालाई सम्मान गर्छन् । पारिवारिक पेरणा कै कारण आईडलमा सेकेण्ड रनर बन्न सफल भए ।’ आफ्ना छोराछोरीले सफलता प्राप्त गरेपछि सबैको परिवारलाई रमाईलो लाग्छ नै, आशिषका परिवारलाई पनि त्यस्तै रमाइलो लागेको छ ।

आईडलका सबै प्रतियोगी उत्कृष्ट थिए । तर दीक्षा को प्रस्तुती अझै अरु भन्दा फरक तथा सर्वाेकृष्ट रहेको बागेश्वरी सिङ्गिङ आईडलका कार्यक्रम संयोजक तथा राष्ट्रिय संगीत कर्मी संघ बाँके महासचिब ओम शर्माले बताए । उनले भने,–‘छनोटमा प्रतिभा भन्दा उता उती कतै हरेनौ । सबै जनाको आवाज राम्रो थियो । तर दिक्षाको अझ जादुमय थियो ।’ आईडलमा उत्कृष्ट २५ जनालाई राजधानीबाट प्रशिक्षक बोलाएर १५ दिने विशेष सांगीतिक प्रशिक्षण दिएको थियो । यस्तो प्रशिक्षणले सेमिफाईनल चरणबाट फाईनल पुगेका प्रतियोगीलाई उनीहरुको गायन कलालाई अझै मजबुत बनाउन मद्दत पुगेको शर्माको भनाई छ । लाईभ संगीतमा प्रशिक्षण दिँदा उनीहरुले आफूलाई प्रस्तुत गर्न सक्ने क्षमताको विकास गरेका थिए ।

पश्चिम क्षेत्रको बाँकेमा संगीत प्रति प्रतिभा हुँदा हुदै पनि संगीतको मुलधारमा पहुँच छैन । सांगीतिक क्षेत्रमा बाँके जिल्लाका गायक तथा गायिकहरुको प्रतिनिधित्व गरोस भन्ने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गरिएको हो । बाँकेका सबै स्थानीय तहबाट करिब एक सय विद्यायलका साढे ३ सय विद्यार्थीबाट छनोट भएर बागेश्वरी सिङ्गिङ आईडल फाईनल चरणमा पुगेको हो । नेपाल नागरिक उद्यम सहकारी संस्था लि. कोहलपुर ११ बाँकेले बगेश्वरी सिङ्गिङ आईडललाई मुख्य प्रायोजन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *