उत्तर कोरियामाथि राष्ट्र संघको कडा प्रतिबन्ध, चीन र रुसले पनि गरे पक्षमा मतदान

८ पौष, २०७४
काठमाडौं, संयुक्त राष्ट्र संघले उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा बनाउने निर्णय गरेको छ ।अमेरिकाले प्रस्तुत गरेको प्रस्तावको पक्षमा सुरक्षा परिषद्का सबै सदस्य राष्ट्र सहमत भएका छन् ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मा उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा बनाउनेसम्बन्धी प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ । पछिल्लो समय गरेको ब्यालेस्टिक मिसाइल परीक्षणको प्रतिक्रिया स्वरुप संयुक्त राष्ट्रसंघले उत्तर कोरिया माथिको प्रतिबन्ध थप कडा बनाउने भएको हो ।

नयाँ प्रतिबन्ध अनुसार उत्तर कोरियामा हुँदै आएको तेल तथा पेट्रोलियम पदार्थको आयात कम गरिने छ । पेट्रोलको आयात ९० प्रतिशत भन्दा बढीले घटाउने पारित प्रस्तावमा उल्लेख छ । उत्तर कोरियाको प्रमुख व्यावसायिक साझेदारको रुपमा रहँदै आएका चीन तथा रुसले पनि प्रस्तावको पक्षमा मत दिएका छन् ।

ब्यालेस्टिक मिसाइल परीक्षण तथा परमाणु कार्यक्रमका कारण उत्तर कोरियामाथि यसअघि नै अमेरिका, संयुक्त राष्ट्रसंघ तथा युरोपेली युनियन (ईयु) ले प्रतिबन्ध लगाउँदै आएका थिए । राष्ट्रसंघले लगाउने नयाँ प्रतिबन्धले उत्तर कोरिया समस्यामा पर्ने र उसले परमाणु कार्यक्रम रोक्ने अपेक्षा गरिएको छ ।

नयाँ प्रतिबन्ध अनुसार तेल तथा पेट्रोलको आयात कम गर्नुका साथै विदेशमा कार्यरत उत्तर कोरियाका कामदारलाई आउँदो दुई वर्ष भित्र स्वदेश फिर्ता पठाउने तथा उत्तर कोरियाली सामानको निर्यात पनि रोक्ने उल्लेख छ ।(एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *