मालपोत कार्यालय सिरहामा बम विष्फोट, ३ जना घाइते, एकको अवस्था गम्भीर

७ पौष, २०७४
सिरहा : जिल्ला मालपोत कार्यालय सिरहामा बम बिस्फोट भएको छ । अज्ञात समूहले गरेको विष्फोटमा परी तीन जना घाइते भएका छन् ।

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ ।

शुक्रबार दिउँसो साढे १ बजेतिर भएको विस्फोटमा परी मालपोत कार्यालय नजिकै लेखापढी व्यवसायी गर्दै आएका पवन पासवान गम्भीर घाइते भएका छन् ।

यस्तै, सेवाग्राहीद्वय सिरहा नगरपालिका–१२ सारसरका राजकुमार पासवान र सोही स्थानका रोशनकुमार पासवान पनि घाइते भएका छन् ।

सिरहा–१ का पवनको अवस्था चिन्ताजनक रहेकाले उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । राजकुमार र रोशनकुमारको भने जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ ।

सिरहा प्रहरीले विस्फोटको पुष्टि गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले प्रेसरकुकर बम विस्फोट भएको प्रारम्भिक अनुमान गरेको छ । बम विष्फोटनको घटनापछि सिरहावासी त्रसित भएका छन् ।

घटनापछि सदरमुकामको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले बताएको छ । विष्फोटनको जिम्मा अहिलेसम्म कसैले लिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *