‘रेशम चौधरीले विजेताको प्रमाणपत्र नपाए आन्दोलन हुन्छ’ : राजपा

७ पौष, २०७४
काठमाडौं  : राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले कैलालीको टिकापुर क्षेत्र नम्बर १ बाट निर्वाचन सांसद रेशमलाल चौधरीलाई तत्काल विजेताको प्रमाणपत्र प्रदान नगरे आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन् ।

शुक्रबार रिपोर्टस् क्लब नेपालमा प्रचार(प्रसार समिति टिकापुर क्षेत्र नम्बर १ कैलालीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष लालले भने, ‘रेशम चौधरीलाई निर्वाचन आयोगले अन्याय गर्दैछ, विभेदकारी व्यवहार गर्दैछ, हामी निर्वाचन आयोगलाई सचेत गराउन चाहन्छौँ, तत्काल रेशमको प्रमाणपत्र वारेसमार्फत प्रदान गरोस्, होइन भने निर्वाचन आयोगको निश्पक्षतामाथि प्रश्न उठ्नेछ, र आन्दोलन हुनेछ ।’

उनले थपे, ‘रेशम चौधरीलाई फरार अभियूक्त आदि इत्यादीले सम्बोधन गर्ने गरिएको छ, यसका बारेमा छानविन आयोगले मधेसमा घटेका घटनाको बारेमा छानविन गरेर प्रतिवेदन सरकारलाई बुझाइसकेको छ, त्यो प्रतिवेदन सरकारलाई सार्वजनिक गर्न समेत माग गर्दछु ।’

त्यस्तै नव निर्वाचित सांसद चौधरीकी धर्मपत्नी रञ्जिता चौधरीले मतगणना स्थलमा समेत आफूहरुलाई प्रवेश निशेध गरिएको बताउँदै भनिन्, ‘२०७२ भाद्र ७ गतेको घटना नहुनुपर्ने थियो, भयो, त्यसमा हाम्रो समुदायले समेत दुःख प्रकट गरेको छ, त्यो घटना सरकारले नै गराएको हो, सत्य तथ्य छानविनको लागि अझैपनि आग्रह गर्दछु ।’

‘२ वर्ष ७ महिना बितिसक्दा पनि त्यो ७ गते बाहेक ८ गते कर्फ्यूका बीचमा थारु समुदायका घरहरु छानिछानि जलाउन दिइएको छ, त्यो हाम्रो समुदायमाथिको आक्रमण हो की होइन ?’

उनले थपिन्, ‘म धेरै टाढा जान चाहान्न गत मंसिर २१ गतेपछि हाम्रो विजयी घोषणा भएपछि मतगणना स्थल धनगढीमा हामीलाई प्रवेश गर्न दिइएन, जनमतको कदर गर्नुको साटो प्रशासनसमेत हामीमाथि अन्याय गर्छ, हाम्रा घरहरु खानतलासी गर्छ, यो अन्याय होइन ?’

सुरक्षकर्मीबाट निर्वाचनको प्रचारप्रसारमा व्यापक दमन र पक्षपात भएको भन्दै रञ्जिताले थारु भएकै कारण विजयी जुलुससमेत निकाल्न नपाएकोमा दुःख व्यक्त गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *