शुक्रबार श्रीकृष्णजन्माष्टमी

कोहलपुर, भदौ ६,

‘श्रीकृष्णजन्माष्टमी’ पर्व शुक्रबार देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।

वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजा–आराधना गरी ‘श्रीकृष्णजन्माष्टमी’ मनाउँन लागेका हुन् । बाँके जिल्लामा पनि भव्य रुपमा ‘श्रीकृष्णजन्माष्टमी’ मनाईदैछ । जिल्लाका विभिन्न कृष्ण मन्दिरहरुमा दर्शनार्थीको भिड लागेको छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको विश्वास गरिन्छ । कृष्णजन्माष्टमीको अवसरमा जिल्लाका प्रसिद्ध कृष्णमन्दिरमा मेला लाग्ने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *